कुमुदका कविता
शुभकामना
यसरी अगाडि बढोस् कि नयाँ वर्ष करामत देखाओस्
सुख र शान्ति संवृद्धि अनि सबैलाई दिलाओस्
चिन्ताको घडी कसैको घरमा कहिल्यै नआओस्
कहिल्यै पनि हाम्रो यो मनमा भुईंचालो नजाओस्
जो कोही पनि मजाले आफ्नै खुट्टामै खडा होस्
जोक्वैले पनि ल्याकत अन्सार मज्जाले कमाओस्
जे जति भाको आफ्ले कमाको त्यसैमा रमाओस्
नराम्रा कुरा जति जे थिए कुचोले बढारोस्
रोग र व्याधि आदि इत्यादि बेस्सरी लघारोस्
रहर इच्छा जो जस्का जे छन् ती सबै पूरा होस्
सबैका घरमा सधैँ नै भरी ज्ञानवर्धक कुरा होस्
अल्पज्ञहर्लाई मानसिक खुराक मज्जैले खुवाओस्
कसैले पनि गालामा आँसु एक थोपा नच्वाओस्
नङ मासु जस्तो मिलेरबस्ने दाजु भाइ गराओस्
बन्द र हड्ताल शत्रु हो भन्ने बिचार बढाओस्
मर्ने र मार्ने विकृतिहरूलाई गर्लम्मै लडाओस्
सबैको मनको निराशा बादल चाँडै नै फटाओस्
राम्रा र असल कुरा ती सबै दिलमा अटाओस्
भाँड र भैला ती फोहोर मैला सिमाना कटाओस्
रीस र रागको बदला भावको दोहोलो गराओस्
मुखै र बाट उट्पट्याङ कुरा कहिल्यै नआओस्
खानमा भन्दा काममा लाग्ने नियत दिलाओस्
नराम्रो कसर त्यसको असर आफैले लिईजाओस्
लुटाई लाने फुटाई खाने काम धन्दा बन्द होस्
पहिरो बाढी रोग अनि व्याधि देखा नै नपरोस्
जे जति आयो भुईँचालो अव कहिल्यै नआओस्
यो वर्ष एकदम उत्कृष्ठ भनी प्रमाणित गराओस् ।
प्रतिबन्ध
उप्रान्त अब सरकारी मान्छे
बिचार पुर्याओस् ।
स्कूलजो निजी वरी र परी
फर्केर नआओस् ।
मिल्छर कहाँ पढाउन त्यहाँ
तिन्का ती सन्तति ।
सरकारी स्कूल काइदा हुन्छ
नपढाउ अन्त ती ।
चाहियो के र अरूथोक केही
सरकारी भएसी ।
रोकिन्छ तलब पढाई अन्त
बलमिचाईँ गरेसी ।
त्यहाँका शिक्षक तालीम प्राप्त
हामीले बनाको
हातमा झण्डा झोलामा पर्चा
पार्टीले थमाको ।
दशभाइ
जेठो भाइ एक्लै बसिराखेकोथ्यो चोकमा
आइपुग्यो माहिलोनि भोकाएको झोकमा
पेटभित्र दौडिईराख्या मुसालार्इ भगाउन
साहिंलोलाई पठाइहाले भाइहरू बोलाउन
सल्लाह भो खाजा आज खाने सँगैभई
मकै भटाँस बदाम अनि गुन्द्रुक र मही
काहिँलोले आफूलेनै मकै भटाँस भुट्यो
ठाइलोको माध्यमबाट बदाम पनि जुट्यो
तुरून्त गै राइँलोले गुन्द्रूक साँधी ल्यायो
लोटाभरी मोही लिन अन्तरे गैहाल्यो
सबै कुरा जम्मा भयो अब चाहियो केत
जन्तरेलार्इ भने भाइ गिलास पिलेट ले त
खन्तरेले भाग लायो दाजुभाइलाई खाजा
मन्तरेले भन्यो अनि सुरू गरौं लौ त ।
मिलिजुली दश भाइ बसे खाजा खान
रोलक्रम अन्सार थियो तिनीहर्को मान
जेठो माइलो कान्छोसम्म सुनिएको नै हो
समयले अरूचाहिँ शव्दकोश मै रह्यो ।
लचकता
वार्ता निर्णायक हुनु पर्ने शर्त थियो
अधिकतम लचकता साथ बस्नै पर्ने भयो
गृहकार्य सघन रुपमा हुने नै भयो
छलफल घनिभूत रूपमा अघि बढ्दै गयो
कुर्सीमा फोमको बाक्ला चकटी थियो
यथार्थमा लचकता तिनैले पो दियो।
सत्ता
आदर्शका कुरा हुने कुर्सी नपाएसम्म
कुर्सी पाए एकै चोटी बढिहाल्ने दम्भ
राम्रो योहो भन्दा पनि म हाम्रो मै दङ्ग
पदको मातले पक्कै होला चढ्दैजाने रङ्ग
लगनगाँठो कस्दैजाने त्यस्तै उस्तैसँग
डिस्को बार लोक दोहोरी अधारातसम्म
पदोन्मत्त मदोन्मत्त व्हिस्की ब्राण्डी रम
हेर्दा हेर्दै बदलिने जीवन जिउने ढङ्ग
प्रवृत्ति यो देख्नु पर्दा चल्ने अति जङ्ग ।
चाकरी
जस्ले जस्को सिता खायो
उस्ले तेस्कै गीता गायो
मनकारी धर्म पिता पायो
बेला बेलामा दर्शन पायो
श्रद्धा भक्ति उस्कै देखायो
जोसक्या नैबेद्य चढायो
सबैलाई पाठ सिकायो
आखिर उस्ले के विरायो
सम्पत्ति
पैसाको तकिया पैसाकै सिरक पैसाकै डसना
सक्छौ के तिमी पल्टेर त्यसमा मस्तले निदाउन
पैसाकै भात पैसाकै तिहुन खै के यो सम्भव छ
खै केका लागि गर्नु त्यो लोभ एकदिन् त मर्नुछ
हुँदैमा धन सक्छौ के भन ल्याउनलाई बालापन
त्यो बालापनमा हराउनलाई हुन्नथ्यो कस्को मन
सक्छ कोही भने बुढेसकाललाई रोकेर देखाओस्
निधार गला गालामा चाउरी नआउने गराओस्
छ कोही भने पैसाकै भरमा स्वर्गलाई भेट्टाओस्
धनकै भरमा र्इश्वरलाई वसमा पारेर देखाओस्
को भन्न सक्छ पैसाकै भरमा किन्दछु शान्तिलाई
कोही सक्छ भने पैसाको रोग लागेछ उसलाई
पैसा कै भरमा अमर बनी कसैले देखाओस्
अचम्म लाग्ने नविन एउटा इतिहास लेखाओस्
कोही भन्न सक्छ देखार्इ लोभ काललाई डगाको
भनसुनको बाटो गएर कैल्यै काललाई भगाको
भन्न क्वै सक्छ मरेर जाँदा लग्या छ यस्ले यै
लगेको काँ छ छोडेरै गा छ जतिथ्यो त्यो सवै
को भन्न सक्छ चिन्ताको सागर सुकाको धनले
पुग्छन् र सधैँ कल्पेको सबै त्यो तिम्रो मनले ।
वानरी उपकार
कथा वानरराजको
अनि यौटा माछाको ।
माछालाई सङ्कटमा
उसैले उद्दार गरेको ।
पात्रहरु काल्पनिक
त्यसैले छ सान्दर्भिक ।
बाढी कुनै जमानामा
आएछ एक खोलामा ।
वानर थियो उद्दारक
परोपकारी भयानक ।
माछा फस्यो छालमा
नथ्यो मायाजाल त्याँ ।
तत्काल आयो बानर
ज्यान जोखिम पारेर ।
उद्दार गर्न कठिनथ्यो
वानर बुद्धि तीष्णथ्यो ।
दिमाग अलि पगाल्यो
जुक्ति उस्ले निकाल्यो ।
आयो वानर खोलामा
सङ्कटबाट जोगाउन ।
माछा उता उत्तिकै
छटपटिएर बसेको ।
वानर यता उत्तिकै
उद्धार गर्न कस्सेको ।
जसै गरी माछालाई
खोला बाहिर ल्याएछ ।
काम ठूलो गरें नि
भन्न पनि भ्याएछ ।
माछा उता जमिनमा
बस्न सक्थ्यो कसरी ।
अरु जीव जमिनमा
बस्न सक्छन् जसरी ।
छटपट छटपट गरेछ
निश्चल भई लडेछ ।
माछा छटपट गरेको
मृत्युसँग लडेको ।
थाहा छैन हुस्सुलाई
त्यस्तै अरु कसैलाई ।
सोच्दो रहेछ मनमा
खुसी भई नाचेको ।
हर्ष लिई मनमा
कति होला हाँसेको ।
माछा छटपट गर्दोछ
फुर्ति उस्को बढ्दोछ ।
बानर बुद्धि यस्तैथ्यो
राजनीति त्यस्तै भो ।
फेसबुक मोह
स्वनामधन्य शीर्षस्थ
घुम्ने कुर्सीमा ढसमस्स
बाहिर नेमप्लेटमा व्यस्त
भित्र फेसबुकमा मस्त
काम चाहिँ अस्तव्यस्त
गफ हाँक्न चाहिँ दुरूस्त
यस्तै व्यस्तमा अभ्यस्त
यसैले देश चाहिँ खस्त ।
सन्तोष
जिङ्ग्रिङ्ग परेको कपाल
पट्पट् फुटेको गाला
अनुहार अनि घाँटीमा
कालो तीनपत्र मयल
नाकबाट निस्किएका
सिँगानका पहेँला मुठा
मयलले गायब पारेको
अनुहारको यथार्थता
फोहोरले लुकाएको
कमिज र ज्याकेटको रङ्ग
लाज छोप्न असफल पाइण्ट
मोजाको कामगर्ने अनि
आची सोहोर्ने पाइण्टको मोता
पिठिउँमा बोराको भार
लरखराएका दुई खुट्टा
चर्चर्ती चिरिएका कुर्कुच्चा
दुईजातका कथित पाउपोस
प्लास्टिक बटुल्ने डण्डी
गन्तब्य कवाडखाना
सय पचासको तिर्सना
पापी पेटलाई मनाउन
मेट्न दिनभरको थकान
बिस्तरा पेटी सडकको
सिरक केवल बोराको
तैपनि निदाउँछ मस्तसँग
बिहान अबेरसम्म
जिउँछ जीवन यसैगरी
न शोक न सुर्ता
न भोक न भकारी ।