कवि कुमुद शर्माका कविताहरु

 

कवि कुमुद शर्मा

फिफ्टी फिफ्टी

मिलिजुली आधा आधा खानलाग्दा हजुर

यौटा पाकेट जिनिसछ कामलाग्ला हजुर

हजुरलाई मनपर्छ अरे चिनि ल्याएँ हजुर

फिफ्टीफिफ्टी विस्कुटनै किनिल्याएँ हजुर

 

अङ्क खेल

कतिविघ्न मिली बस्छन् छ र तीन अङ्क

फेरि तिनै छत्तीस भए बज्नथाल्छ शङ्ख

छत्तीसले मिल्यौंभनी पीट्न थाल्दा डङंका

थोरैमात्र विश्वास अलि बढिनै भो शङ्का

 

एकता

छरपष्ट छन् सतहमा अनगिन्ती गुट

तरपनि मिल्यौं भन्ने हो सफेद झूट

अघिपछि त देखिन्छन्नै सबै एकैजुट

भागलाउँदा तिहून चैं नहोस् कुटाकुट

 

 

नेपाल

हुँदैन कवै देशको नक्शा मुहार फेर्नलाई

सिमाना रेखा यही नै रहोस् हुँदैन केर्नलाई

पुरानै नेपाल राम्रोछ नयाँ पर्दैन जनाउन

सुन्दर शान्त समुन्नत पोत पर्दछ बनाउन

 

लिफ्ट

तीनतले भवनलाई लिफ्ट सात तले

कसरी हो चार तला गज्जबैले फले

मुसालेपो काट्योकित नापलिने फित्ता

कि त पर्यो कसैलाई भाग्योदय चिठ्ठा

 

महापुरुष

अवकाशपछि गाडि थुत्छन् घर लान

यहाँ भुरा शरणार्थीभै पर्छ स्कूल जान

महापुरुष भन्न् मात्रै जानेकाछन् खान

तर कोही छैनन् यिन्को समाउन कान

 

स्कूल भर्ना

भर्ना र पोसाक किताव मात्र होइनन् चाहना

यी बाहेक अन्य खर्चको गर्नु पर्दछ सामना ।।

नछुटोस् स्कूल नटुटोस् पढाई गर्नेले कामना

दिनेनै होला यो भ्रमणभत्ता उसैका नाममा ।।

कठीन छैन बालक मन जित्नलाई दाममा

अक्षय कोषको प्रमाणपत्र राखेर खाममा ।।

सधैंनै भरि राजनीति नहोस् निर्धाको नाममा

खिचाको फोटो बजाई ताली नसुकोस् घाममा ।।

स्कूल जाने कामलाई पर्छ दिनलाई स्थायित्व

संरक्षक बनेपछि त यत्ति भइहाल्छ दायित्व ।।

 

रात्री बसको यात्रा

अलिकति रक्सीको गन्ध

अलिकति पसिनाको गन्ध

अलिकति चुरोटको गन्ध

अलिकति खैनीको गन्ध

अलिकति मोजाको गन्ध

अलिकति अत्तरको गन्ध

अलिकति उल्टीको गन्ध

अलिकति टायरको गन्ध

अलिकति फायरको गन्ध

केही प्रतिवन्धित बस्तुको गन्ध

यी सबै गन्ध मिसिएको

सहिनसक्नु दुर्गन्ध

अनि यस्तै माहौलमा स्वासलिन

यात्रु आफूले आफैंलाई गरेको

सशुल्क अनुवन्ध ।