हिमालकी छोरी

 

सोलुखुम्बुको खुम्जुङमा जन्मेकी फुर्बा शेर्पाको जीवनमा सन् २००६ मा ठूलो बज्रपात प¥यो । जीवन बियोगान्त बन्यो, र शून्यतामा ओर्लियो । सरल र रमाइलो जीन्दगीलाई एका एक सन्नाटा र विपत आइलाग्दा निकै पिडा भयो । शब्दमा भन्न निकै कठिन हुन्छ, उनले भोगेको कहाली लाग्दो १२ बर्ष अघिको बियोगान्त । त्यो बियोगान्त के थियो भने, ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटना । त्यस दुर्घटनामा तत्कालिन वनमन्त्री गोपाल राईसहित प्रख्यात स्वदेशी र विदेशी संरक्षणविद्, वाताबरणविद् भूर्गभविद्को दुखद निधन् । हेलिकप्टर दुर्घटनामा परी २४ जनाको मृत्यु भयो । ती मध्ये संरक्षणविद् र शेर्पा समुदायको पहिलो वार्डेन मिङमा नुर्बु शेर्पा पनि एक थिए । जो फुर्बा शेर्पाका जीवन साथी हुन ।

 

एडमण्ड हिलारीले छात्रवृत्ति दिएर न्यूजिल्याण्डमा प्रकृति संरक्षण बिषयमा डिग्री गरेर फर्केका मिङमा सरकारी सेवामा संलग्न थिए ।

 

 

फुर्बाले बियोगलाई शक्तिमा बदल्ने ऑट गरिन् । एक बर्षपछि उनले दि ग्रेटर हिमालयज् फाउण्डेसन खोलेर हिमाली भेगमा गरीब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति दिन थालिन् । अमेरिकाको वाशिंङटनमा दर्ता गरी नेपालको खुम्बुभेगका एक दर्जन बालबालिकालाई महिनाको ५ हजारका दरले छात्रवृत्ति दिन थालेको उनले बताइन् । वातावरण, संरक्षण, संस्कृति र पर्यटन विषयमा मास्टर डिग्री गर्ने जाने १२ जना बिद्यार्थीलाई न्यूजिल्याण्डको लिंकन विश्वविद्यालयमा मिङमा नुर्बु शेर्पा छात्रवृत्ति दिएर २ बर्षे कोर्षका लागि पठाउँने गरिएको छ । १० जनाले कोर्ष सकेर फर्कि सकेका र २ जना अध्ययनरत्त रहेका छन् ।

 

 

उनीहरु इसिमोड, आयुसिएन र राष्ट्रिय निकुञ्जमा सेवा गर्न थालि सकेका छन् । यसका लागि लाग्ने ५० लाख रुपैया फुर्बाको संस्था ग्रेटर हिमालज् फाउण्डेसनले व्यवस्था गर्छ । खुम्जुङ माबिमा २२ जना बिद्यार्थीले छात्रवृत्ति पाएका छन् , फुर्बाको संस्थाबाट । उनले खुम्जुङ स्कुलमा एक जना कम्प्युटर शिक्षकको व्यवस्था पनि गरेकी छन् ।

 

सामुदायिक विद्यालयमा स्तरीय शिक्षाको अवधारणा विकास गर्न र हिमाली भेगका विद्यार्थीले विचैमा स्कुल छोडेर नजाउन भन्ने ध्यये रहेको छ । हिमाली भेगका बिद्यार्थीको चुनौति भनेको ड्रप आउट हो । त्यसलाई रोक्न विभिन्न उत्प्रेणा चाहिन्छ । त्यसमा दि ग्रेटर हिमालयज् फाउण्डेसनले जोड दिएको छ, उनले भनिन । खुम्जुङ माबिमा २२ जना विद्यार्थीहरुलाई स्कलरसीप दिएर पढाइरहेकी छु । उनले आफनो बेलामा गतिलो स्कुल नभएर सात कक्षा पढेर छोडेको तितो अनुभवलाई पस्कदै भनिन, मैलं काठमाडौंमा थप अध्ययन गर्न आउदा भर्ना सकिएको जानकारी पाएर, गाउँ नै फर्केर परिवारलाई सघाउन थाले । पढ्ने धोको अधूरै रह्यो । त्यसैले हिमाली भेगका बच्चाले आर्थिक अभाव झेलेर पढाइलाई विचैमा छोड्नु नपरोस् भन्ने भावना छ । मैंले कतै हल्ला नगरी ३० जनाभन्दा बढी हिमाली बिद्यार्थीलाई पढाइ रहेकी छु । सरकारमा बस्नेहरु एक दुई जना बिद्यार्थीलाई पढाए भनेर हल्ला पिटाउँछन् । सरकार सञ्चालन गर्नेले देशभरीका २० औं लाख बालबालिकाको शिक्षामा जोड दिएर प्रणाली बसाल्नु पर्ने होइन् र ? फुर्बाले भनिन् । ठूलो हल्लाभन्दा साना काम गर्ने हातले समाजमा योगदान गर्छ भन्ने उनको विश्वास देखिन्छ ।

 

 

फोर्चे आधारभुत विद्यालय निर्माणका लागि २५ लाख सहयोग गरेको छ । त्यसपछि विद्यालयको स्वरुप नै कायपलट भएको छ । खुम्जुङ गुम्बामा चोर्तेन बनाउने ४७ लाख रुपैंया सहयोग गरेको र गुम्बा अहिले पर्यटकहरुका लागि आर्कषक गन्तब्य बनेको छ । नाम्चेको स्तुपा र तेङबोचे गुम्बालाई १० लाख र २३ लाख सहयोग गरेको छ । यि सबै सांस्कृतिक धरोहरलाई जोगाउन र भाबी पुस्तालाई देखाउनलाई यसले टेवा पुग्ने फुर्बाको बिश्वास छ । चौरीखर्कको सानो गुमेलाको गुम्बालाई पनि संरक्षण गर्नलाई १० लाख दान गरें, उनले भनिन ।

 

 

सगरमाथाको काख , खुम्जुङ । बर्षेनी हजारौं पदयात्रीहरु र पर्बतारोहीहरु खुम्जुङ पुग्छन् । सन् १९५३ मा तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारीले पहिलो पाइला सगरमाथामा राखेपछि चर्चाको शिखर चुम्यो, खुम्जुङले । सन् १९६१ मा हिलारीले खुम्जुङमा स्कूल खोलिदिएपछि शेर्पा समुदायका छोराछोरीहरु स्कुल जान थाले । सगरमाथा, खुम्बु र शेर्पा जातिको विश्व पहिचान बनेको छ, त्यसपछि लगातार । सबैले सगरमाथालगायतका अन्य हिमाल आरोहण गरेर विश्वमा ख्याती कमाएका छन् ।

 

 

अलि बेग्लै कर्ममा लाग्नेहरु भने औंलामा गन्न सकिने छन् । त्यही मध्येकी एक हुन् , फुर्बा शेर्पा । घर र ’roundको वाताबरण पदयात्रा गर्न र हिमाल चढ्न जानेहरुको थियो । उ बेला छोरीलाई स्कुल पढ्न पठाउने चलन नगन्य नै थियो । फुर्बा शेर्पा भने स्कुल गइन् । खुम्जुङ स्कुल भर्ना भएर पढ्न थालिन । घरबाट पनि सहयोग मिल्यो । हिलारीका सदरदार पिताले छोरी स्कुल गएकोमा खुशी माने । त्यस बेला खुम्जुङमा ७ कक्षासम्म पढाइ हुन्थ्यो । त्यसपछि सदरमुकाम वा राजधानी थप अध्ययनका लाथि आउनुपथ्र्यो । फुर्बा पनि थप अधययनका लागि राजधानी आइन् । जिरीको बाटो भएर । त्यो बेलाका महेन्द्र भबन स्कुलमा पढ्ने धोको बोकेर काठमाडौं आएकी फुर्बाको भर्ना हुने समय सकिएको जानकारी पाइन् । त्यसपछि उनी गाउ पर्किन् र परिवारलाई सहयोग गर्न थालिन् ।

 

 

फुर्बाको समाज सेवा र शिक्षा सेवामा छोराछोरीले साथ दिइरहेका छन् । दि ग्रेटर हिमालयज् फाउण्डेसनमा ८ जनाको बोर्ड छ । बोर्ड सदस्यले रकम उठाउँछन् ।

 

 

जीवनको पाच दशक पार गरेकी फुर्बा हिमाली भेगमा शिक्षा सेवामै लाग्ने धुनमा छिन् । खुम्बुमा उनलाई हिमालकी छोरी भनेर चिन्छन् । एउटा गृहीणीलाई पति बियोगले शक्तिमा बदलेर शिक्षा सेवी बनाएको छ । थुच्चे ! (धन्यबाद) हिमालकी छोरी फुर्बा शेर्पा ।