नारायण ढकालका तीन किस्सा

१ संसदमा बोलेको त्यो झूट

म उपनिर्वाचनमा विजयी भएर सांसद भएको थिएँ । ०५३ साल माघमा काठमाडौं क्षेत्र नं. १ मा उपनिर्वाचन भएको थियो । संसदमा गएपछि मलाई त्यो सांसद पद निकम्मा लाग्यो । संसदीय दल भनेका नोकरशाही पाराका हुँदा रहेछन् । संसदीय दलले कसले बोल्ने, कसले संसोधन हाल्ने, कसले के भन्ने पूरै निर्देशन दिँदोरहेछ ।

 

 

त्यो ‘सिष्टम’ बनाउने हदसम्म ठीक हो । तर, त्यहाँ गुटबन्दीको चरम नमुना देखेँ । जुन गुट शक्तिमा छ, त्यो गुटको हनुमानले लडीलडी अवसर पाउँदो रहेछ । विदेश जाने उही, बोल्ने पनि उही, लडीलडी खाँदो रहेछ । हामीले चाहीँ आफ्नो क्षेत्रको विकासको कुरा उठाउन पनि नपाउने । म पाँच हजार मतले जितेर गएको मान्छे त्यहाँ त निरिह भएँ । अनि विस्तारै ब्याक बेञ्चर भएँ । जहिल्यै ‘लाष्ट रो’मा बस्न थालेँ ।
शून्य समयमा भने संसदीय दलको व्युरोक्रेसी लागु हुँदैन । बोलेको रेकर्ड पनि हुँदैन । अनि धेरैजसो त्यही समयमा बोल्न थालेँ । रेकर्ड नहुने समयमा बोल्नु के थियो र ? कविता सुनाइदिन्थेँ । बढी विमल निभा, बर्तोल्त ब्रेख्त र भारतीय कविका कविता सुनाएँ । संसदमा पुगेपछि लाग्यो– म राजनीतिकर्मी हुन नसक्ने रहेछु, साहित्यमै फर्कनुपर्छ ।

संसद बैठकमा हामीजस्तो मान्छे चाहीँ ‘अनपढ, गवाँर’ लाग्थ्यो । त्यसलाई व्यंग्य गर्न केही कुरा बनाएर पनि भनिदिएँ । जस्तोः एक दिन मेरो पालोमा जुरुक्क उठेँ र बोलेँ, ‘टोल्स्टोएले भनेका छन् कि पढ, पढ र पढ । धन्यवाद ।’ अनि बसेँ । तर, टोल्सटोएले भनेका छन् कि छैनन् मलाई थाहा छैन ।

 

२ श्री गद्दार महामहिम…

यो अलि पुरानो कुरा हो । ०३१ सालमा त्रिचन्द्र कलेजमा विएको विद्यार्थी थिएँ । म राजनीतिमा आइसकेको थिइनँ । साहित्यकार हुन हिँडको थिएँ । त्यतिबेला नै सिक्किमलाई भारतले निल्यो । आफ्नै प्रान्त बनायो । विद्यार्थीले ‘रियाक्सन’ जनाए । हामीलाई नेपाल पनि लान्छ कि भन्ने भयो ।

मेरो रातिको पढाइ थियो । मेरा कथा, लेख पत्रिकामा छापिइरहेका थिए । अलिअलि चिनिन पनि थालेको थिएँ । युवा जोश थियो ।

साथीहरुले नेपाल जोगाउन सिक्किमको पक्षमा र भारतको विपक्षमा आन्दोलन गर्ने बताए । हामी स्वःस्फुर्त विरोधमा उत्रियौँ । त्यहाँ कुनै राजनीतिक दलको नेतृत्व थिएन । सबै विचार राख्ने थिए । नारा लगाउँदै लैनचौरस्थित भारतीय दूतावास गयौँ ।

लैनचौर पुगेपछि विरोधपत्र लेख्ने कुरा भयो । म लेखक भएकाले सबैले मलाई नै लेख्न भने । मैले पनि जोशका साथ विरोधपत्र लेखेँ । पत्रमा कुनै कुटनैतिक भाषा थिएन । मैले यसरी सम्बोधन गरेर लेख्न सुरु गरेको थिएँ, ‘श्री गद्दार महामहिम, भारतीय राजदूतावास’ । पत्रका धेरै व्यहोरा त बिर्सिएँ । ‘साना देशलाई खान पाइँदैन’ भन्ने आशय थियो । हैकमवादी नीतिको भत्सर्ना गरेर लेखेको थिएँ ।

 

३ मोहनविक्रम सिंहका पुस्तकले झुक्याए

एमबिएस गर्दा राष्ट्रिय सेवा विकास कार्यक्रममा सहभागी भएर गाउँ जानुपथ्र्यो । ०३४ सालमा म रामेछाप गएँ । त्यहाँ पुस्तकालय खोल्ने भएँ । मलाई वामपन्थी प्रभाव छँदैथियो । पुस्तकहरु पनि पढेको थिएँ ।

नेपाल–चीन सांस्कृतिक संघ, सोभियत संघको पुस्तकालय र भारतीय पुस्तकालयबाट दुई बोरा पुस्तक लिएर गएँ । धेरैजसो वामपन्थी पुस्तक थिए । त्यतिबेला रामेछापमा नेकपा (चौम) को धेरै प्रभाव थियो ।
मोहनविक्रम सिंह चौमको नेता थिए । उनका दुई वटा पुस्तक निकै चर्चामा थिए, ‘गद्दार पुष्पलाल’ र ‘उग्र वामपन्थी विचारधाराको खण्डन’ । पहिलो पुस्तक पुष्पलालविरुद्ध र दोस्रो झापाली आन्दोलनकारीविरुद्ध थियो । दुवै पढेँ । पहिलो पढ्दा पुष्पलाल फटाहा रहेछन् भन्ने लाग्यो । लेनिनको गद्दार काउत्स्की भन्ने पुस्तक छ । मोहनविक्रमले त्यही शैलीमा पुष्पलाललाई गाली गरेका थिए । मोहनविक्रम मलाई लेनिन जस्तै लाग्यो । अनि काउत्स्की जस्तै रहेछन् पुष्पलाल भन्ने लाग्यो । दास्रो पुस्तक पढेपछि झापाली पनि फटाहा रहेछन् भन्ने लाग्यो ।

त्यसबेला मेरो राजबसँग पत्राचार हुन्थ्यो । ऊ काठमाण्डौबाट ‘झापालीहरु सुध्रिएर आइसके अब यिनीहरुले क्रान्ति गर्छन्’ भनेर चिठी लेख्थ्यो । म भने विरोधमा लेख्थेँ ।

केही समयपछि म काठमाडौँ आएँ । म आउनु तीन चार दिनअघि पुष्पलाल दिल्लीमा बित्नुभएछ । उहाँको अस्तु सरकारले यहाँ ल्याउन दिएन । अनि मलाई लाग्यो, ‘पुष्पलाल गद्दार हुन् भने सरकारका लागि त राम्रो हुनुपथ्र्यो, किन अस्तु ल्याउन दिएन ?’ त्यसपछि मलाई पुष्पलालप्रति श्रद्धा जाग्न थाल्यो । यसरी मोहनविक्रमक पुस्तकबाट म झुक्किएँ ।