फैसला
कुमुद शर्मा
फैसला
वारदात डकैतीको
घटना एक सङ्गीन प्रकृतिको
हुलिया जाहेरी परेको
लामो सूची धनमालको
जसमा सपना थियो
रगत पसिना थियो
मुस्कान र इमान थियो
विबेक र जमान थियो
अनि स्वाभिमानको अडान थियो ।
वारदात पटक पटक भयो
किटानी जाहेरी नै पर्यो
सामान बरामद पनि गरियो
यातना दिइएको पनि भेटियो
संलग्नता थुप्रैको रह्यो
कोही झण्डा लिएर बसेका
कोही डण्डा लिएर बसेका
कोखामा दाँत लिएर बसेका
कोही भेदी भएर बसेका
कोही घरभित्र पसेका
कोही बाहिर त
कोही बजारमा बसेका
सबै लुट्नलाई नै तम्सेका ।
लागेन कानूनको दफा
लाग्यो आँसुको दफा
ललाट वकील मुकरर भयो
चित्कार र क्रन्दनको बहस भयो
सपथ र किरियाकोे तर्क दिइयो
दुर्वचन र श्रापको सहारा लिइयो
फैसला धर्म र पापको हुने भनियो ।
निर्णय भागभोग भयो
धर्म पराजित भयो
उनिहरुलाई सफाई भयो
प्रारव्धलाई निर्णयाधार बनाइयो
बरामद धनमाल सारा
खुले आम लिलाम गरियो ।
यसरी नै मुद्दाको लगत कट्टा गरियो ।