खश सम्राज्यको प्रतिबिम्व

प्राचिनकालदेखि नै रणकौशल जाति मानिएको खश जाती पूर्वतर्फ बढ्ने क्रममा पाँचौ शताव्दीदेखि पश्चिम नेपालका पर्वतीय प्रदेशमा बसोबास गर्न थाले । १२-१३ औं शताव्दीमा खश सम्राट नागराजले पश्चिम नेपालको सिञ्जालाई खश साम्राज्यको राजधानी घोषणा गरे । यसको प्रतिबिम्ब हालको सुर्खेत, दैलेख र दुल्लुमा देख्न पाइन्छ ।
महाकाली नदीदेखि काली गण्डकीसम्मको भू–भागलाई कर्णाली प्रदेशको नामबाट चिनिन्छ । यसले ६१ हजार ९ सय १७ वर्ग किलो मीटर अर्थात देशको कूल भूभागको ४२% समेटेको छ ।
पश्चिमी नेपालको ठुलो भूक्षेत्र ओगट्ने यो नदी प्रदेशमा सर्वाधिक उच्च धवलागिरी (८१६७ मिटर) हिमाल रहेको छ । यस वाहेक यो क्षेत्रमा कान्जिरोबा, ब्यास ऋषि जस्ता हिम शृङ्खलाहरु रहेका छन् । भेरी, कर्णाली, महाकाली नदीले यस क्षेत्रलाई सिञ्चित गरेका छन् ।
यस क्षेत्रमा पर्ने भेरी र कर्णालीको भागलाई खशहरुको वाहुल्यता भएको हुनाले खशान क्षेत्र पनि भनिन्छ । नेपालका विभिन्न जातीहरु मध्ये खशजातीको परम्परागत वस्ती केन्द्रित भएका प्रदेशहरु मध्ये खशान र जडान निकै प्रशिद्ध छन् ।
कर्णाली क्षेत्रको हिमाली भेगलाई जडान भनिन्छ । जहाँ भोटे समुदायको बसोबास रहेको छ । भूगोलबिद् डा. रामकुमार पाँडेकाअनुसार कर्णाली महानदी बग्ने जिल्लाहरु हुम्ला, मुगु, जुम्ला, कालीकोट, दैलेख, जाजरकोटका भागहरु खसान प्रदेशमा गणना गरिएको पाइन्छ । जसमा सेती र महाकाली अञ्चलका दार्चुला, बझाङ, बैतडी, बाजुरा, डडेललधुरा, डोटी, अछाम पनि समेटिन्छन् ।
यस प्रकार पहाडी प्रदेशमा पर्ने प्युठान, रोल्पा, रुकुम, सल्यान जिल्लाहरु पनि खशान प्रदेशमै पर्दछन् भने नेपालको मध्यपश्चिम क्षेत्रमा पर्ने तराईका दाङ, बाँके, बर्दिया र सुदुर पश्चिमका कैलाली र कन्चनपुर पनि खश प्रभावित क्षेत्र नै मानिन्छन् ।
पूर्व मध्यकालीन नेपालको इतिहास अध्ययन तथा अनुसन्धानका लागि उपर्युक्त सम्पूर्ण क्षेत्रहरु महत्वपूर्ण छन् । यी सबै क्षेत्रहरुको भ्रमण गर्ने अवसर प्राप्त नभएता पनि नेपालको, मध्यपश्चिम क्षेत्रमा पर्ने सुर्खेत र दैलेखको दुल्लु क्षेत्रको भ्रमणबाट प्राप्त भएका जानकारीहरुलाई यस लेखमा समेट्ने प्रयास गरिएको छ, ’cause यी क्षेत्रहरु खश साम्राज्यको प्रतिविम्व हुन् । यही भावका साथ यो लेख तयार पारिएको छ ।
खश जातीको परिचय
पश्चिम एसियाको कश्यप सागर (क्यास्पियन सी) र ककेसस पर्वतका निवासीहरु प्राचिन समयमा कसजातिको रुपमा प्रशिद्ध थिए । यिनीहरुले ई.पु. १७०० तिर बेविलोनियामा अधिकार कायम गरेका थिए । ई.पू. ११५५ तिर अन्य जातीहरुसंगको युद्धमा पराजित भई कस जातीहरु पूर्वतर्फ लाग्न वाध्य भए ।
कस शब्द नै कालान्तरमा खशको रुपमा उच्चारित हुन थाल्यो । यी खशहरु आर्य भएता पनि बैदिक आर्य भने होइनन् । यिनीहरु इसापूर्व प्रथम शताब्दीतिर भारत वर्षमा प्रवेश गरेका थिए । विस्तारै–विस्तारै यो जाती कस्मिर हुँदै इश्वीको ८–९ औं शताब्दीतिर कुमाउँ–गढवालमा आएर शासन गर्न थाले ।
प्राचिनकालदेखि नै रणकौशल योद्धा जातिका रुपमा प्रशिद्ध खश जातीहरु पूर्वतर्फ बढ्ने क्रममा पाँचौ शताव्दीदेखि पश्चिम नेपालका पर्वतीय प्रदेशमा बसोबास गर्न थालेका थिए । १२÷१३ औं शताव्दीमा खश सम्राट नागराजले पश्चिम नेपालको सिञ्जालाई खश साम्राज्यको राजधानी घोषणा गरी यस क्षेत्रमा शासन गर्न थालेको सूर्यमणि अधिकारीले बताएका छन् ।
डिल्लीराज शर्माको ‘हेरिटेज अफ वेष्टर्न नेपाल, आर्ट एण्ड आर्किटेक्चर’अनुसार सिंजाबाट उत्तर क्षेत्रमा अवस्थित जुंगे पुराङ्ग क्षेत्रमा प्राप्त काँस धातुको एक बुद्ध मूर्तिको पादपिठमा भएको अभिलेखअनुसार यो मूर्ति इस्वीको १००० मा नागराजको शासन भएको समयमा बनेको थियो ।
राजनीतिक इतिहास
खशजातिको एउटा शाखा कत्युरीवंशले कुमाउमा सातौं शताव्दीको अन्त्यसम्म शासन गरेको थियो । भारतको मैदानी भागबाट आएका चन्द राजपुतहरुले एघारौ शताव्दीको प्रारम्भतिरै कुमाउँमा अधिकार कायम गरेपछि खश शासकहरु यत्रतत्र लाग्न बाध्य भए ।
तिब्बतमा बौद्ध धर्मविरोधी राजा लाङदर्माको हत्यापछि त्यहाँको राजनीति अस्थिर अवस्थामा थियो । ल्हासाको राजवंशमा कटुतापूर्ण झगडा भएपछि तिब्बत खण्डित नै भएको थियो । यस्तो अवस्थाको फाईदा उठाई खशहरु दक्षिण–पश्चिम तिब्बतमा पुगेर आफ्नो प्रभाव जमाई स्वतन्त्र शासक बन्न पुगे । यिनै शासकहरु तिब्बतीहरुको सँगतले बौद्धमार्गी भए । उनीहरुको संस्कृतिमा तिब्बती प्रभाव कतिसम्म व्यापक रुपमा प¥यो भने यिनका नामहरुसमेत तिब्बतीकरण भए, सूर्यमणि अधिकारीको पुस्तक खस साम्राज्यको इतिहासमा लेखिएको छ ।
तिब्बतमा अधिकार जमाएको केही पुस्तापछि दक्षिणी, पश्चिमी तिब्बतको खारी प्रदेशका खशहरुले नागराजको नेतृत्वमा कर्णाली प्रदेशका पालहरुलाई पराजित गरी सिञ्जालाई आफ्नो राजधानी बनाए । इस्वी ११ शताब्दितिर उनीहरु राज्य सञ्चालन गर्न मात्र होइन, पश्चिम नेपालमा खश साम्राज्य नै स्थापना गर्न सफल भए ।
डिल्लीराज शर्माअनुसार इश्वीको नवौं शाताब्दितिर हिमालय क्षेत्रका केही भागहरुमा पालहरुको शासन थियो । पश्चिम नेपालको राजनीतिक इतिहासको उपर्युक्त वर्णनबाट खश सम्राट नागराजले कर्णाली प्रदेशमा पाल राजाहरुलाई पराजीत गरे । यसबाट एघारौं शताव्दी अघि यस क्षेत्रमा नामको अन्तमा पाल लेख्ने राजाहरुको अघिपत्य रहेको कुरा स्पष्ट हुन्छ ।
दुल्लुस्थित पृथ्वीमल्लको वि.सं. १४१४ (ई. १३५७) को कीर्तिस्तम्भ अभिलेखबाट पनि यस कुराको पुष्टि हुन्छ । यस अभिलेखमा पालहरुलाई पनि राजाकै रुपमा उल्लेख गरिएको छ । अभिलेखमा दिइएको वंशावलीअनुसार आदिपालदेखि जयपाल (द्वितीय) सम्म १८ जना पाल राजाहरु भएका थिए ।
त्यो वंशावलीअनुसार सूर्यपाल खश सम्राट नागराजका समकालीन देखिन्छन् । खश सम्राट नागराजले कर्णाली प्रदेशमा कब्जा जमाएपछि यी पालहरु सामन्त प्रशासकको रुपमा रहेका थिए ।
पाल र खशहरुवीच वैवाहिक सम्बन्ध हुने गथ्र्यो । जयपाल द्वितीयका छोरा पूण्य मल्लको विवाह खश राजकुमारी शकुनमालासँग भएको सूर्यमणि अधिकारीले लेखेका छन् ।
यस क्षेत्रमा पाल राजाहरुले शासन गरेको यो किर्ती स्तम्भवाहेक अन्य प्रमाण भने प्राप्त भएका छैनन् । तसर्थ यी पाल राजाहरु को हुन् ? यस विषयतिर अझै अनुसन्धान गर्नु पर्ने देखिन्छ ।
यस सन्दर्भमा उत्तर भारतका मैदानी क्षेत्रहरुमा पालहरुको अस्तित्व खोज्नु पर्ने देखिन्छ । प्राप्त जानकारीअनुसार इस्वीको ४७० तिर नयनपाल भन्ने राजाले कन्नौजमा राजा अजयपालको हत्यागरी आफ्नो राज्य कायम गरेको भारतका एसबी भट्टाचार्यले आफ्नो पुस्तक इन्साइक्लोपिडिया अफ इण्डिया, १९८७ मा गरेका थिए । यसबाट ईस्वीको पाँचौ शताव्दी अघिदेखि नै कर्णाली क्षेत्रको नजिक पर्ने कन्नौजमा पाल राजाहरुको अस्तित्व रहेको देखापर्छ ।
सन् ६०६ तिर कन्नौजमा हर्षबर्धन (ई. ५९०–६४७) प्रभावशाली राजा भएपछि यी पालहरु सम्भवत नेपालका जंगल तथा पहाड–पर्वततिर भागेर पसेका होलान भन्ने अनुमान गर्न सकिन्छ ।
हर्षको प्रभाव समस्त उत्तर भारतवर्षमा काश्मिरदेखि अरब सागरसम्म र पूर्वमा बंगालसम्म कायम भएको जे केइले सन् २०००मा प्रकाशित ए हिष्ट्री इण्डियामा उल्लेख गरेका गिए ।
केइले भनेका छन्, बुद्ध धर्ममा हर्षको श्रद्धा र भक्तिभावले गर्दा चीन तथा तिब्बतसँग उनको राम्रो सम्बन्ध कायम भएको थियो । एकआपसमा दुततर आवागमन हुन्थ्यो । इस्वी ६४७ मा हर्षको मृत्यु पश्चात उत्तरभारतमा उनी जत्तिका शक्तिशाली राजा नभएका हुनाले यसक्षेत्रमा स–साना राजा–राजौटाहरु कायम भए ।
यसै क्रममा इस्वी ६८८ मा राजा कनक पालले गडवालमा राज्य गरेर तेहरी–गडवाल राज्य स्थापना गरेको देखिन्छ, चेरिसे भट्टले सन् १९८७ मै लेखे । यसप्रकार ई. ६३७ मा बङ्गालका गौड राजा शाशङ्कको मृत्युपछि बंगालको राजनीतिक अस्थिर हुन्छ । सक्षम र कुशल नेतृत्वको अभावले गर्दा बँगाललाई अराजकताले छोप्छ । त्यसपछि अन्यौलग्रस्त जनताले इस्वीको ७५० मा गोपाल नामका व्यक्तिलाई राजा बनाएपछि मात्र अराजकताको अन्त भइ शान्ति स्थापना भएको थियो, भट्टले जोड दिएर लेखेका छन् ।
गोपालका छोरा धर्मपाल (इस्वी, ७७५–८१०) राजा भए । त्यसपछि वंगालमा पाल राजाहरुको बलियो शासन कायम भयो, केइ भन्छन् । धर्मपालले त वंगाल, विहार हुँदै सम्पूर्ण उत्तरभारतमा अर्थात आर्यापर्वतमा शासन कायम गरे । पाल राजा धर्मपालको समयदेखि कश्मिर तथा गान्धारसम्म उत्तरापथको बाटो पालहरु व्यापार–व्यवसाय गर्दथे ।
आर. त्रिपाठीको पुस्तक ‘हिष्ट्री अफ एनसिएन्ट इण्डिया’अनुसार बंगालमा पालवंशी राजालाई हटाई विजय सेनले ई. १०९५ मा सेनवंशको शासन स्थापित गर्दछन्, सेनवंशको राज्य कायम गर्छन् ।
यस प्रकार इस्वीको ७५० देखि १०९५ सम्मको ३ सय ४५ वर्षसम्म बंगालमा पालबंशले शासन गरेको देखिन्छ ।
बंगालका पालबंशी शासकको पालकाल प्रशिद्ध छ । पालकालमा विकसित संस्कृति, धर्म र भाषाले उत्तरभारतका साथै सम्पूर्ण नेपाललाई प्रभावित गरेको देखिन्छ ।
बंगालका चालुक्य राजाहरुको सेवामा रहेका कर्णाटवंशी नान्यदेबले इस्वी १०९७ मा हाल नेपालको बारा जिल्लामा पर्ने सिम्रौनगढलाई राजधानी बनाई स्वतन्त्र कर्णाट राज्य स्थापना गरेको उपेन्द्र ठाकुरले ‘मिथिलाक इतिहास’मा उल्लेख गरेका छन् ।
नेपालको मध्य तराई तथा पहाडी प्रदेशलगायत काठमाडौं उपत्यकामा पाल राजाहरुको प्रत्यक्ष शासन वा प्रभाव पर्न नसक्नुको प्रमुख कारण सिम्रौनगढ राज्यको स्थापनालाई मान्न सकिन्छ । यद्यपी, नान्यदेव पनि बंगाल हुँदै सिम्रौनगढमा शासन गर्न आईपुगेका हुनाले उनले उनीसँग आएका अन्य महत्वपूर्ण व्यक्ति र आमजनतामा भने पालहरुको प्रत्यक्ष साँस्कृतिक, सामाजिक, धार्मिक प्रभाव भने परेको थियो । बंगालमा विकसित पालकला र धर्मको प्रभाव कर्णाटहरुमा परेको थियो भन्ने कुरा नेपालमा प्राप्त कर्णाटकला र बौद्ध धर्ममा महायान सम्प्रदायको प्रभावबाट विकसित मूर्तिकलाहरुले स्पष्ट पार्दछन् ।
नेपालको मध्य तराईमा विकसित मैथली संस्कृतिमा बंगालको संस्कृतिको प्रभाव, पालकालमा प्रशिद्ध रहेका नालन्दा र विक्रमशीला विश्वविद्यालयका शिक्षा र धर्म गुरुहरुको काठमाडौं उपत्यकामा आगमनले काठमाडौं उपत्यकाको समाज पनि पालले संस्कृति र कलाको प्रभाव पर्न गएको देखिन्छ ।
इस्वी १३२४ मा गयासुद्धिन तुगलकको आक्रमणबाट सिम्रौनगढ ध्वस्त पारिएपछि अन्तिम कर्णाट राजा हरिसिंह देव, उनको परिवार, महत्वपूर्ण व्यक्तिहरु तथा सर्वसाधारणको ठूलो संख्या पहाड हुँदै काठमाडौं उपत्यकामा प्रवेश गरे । नेपालका मध्य पहाडी तथा काठमाण्डौं उपत्यकामा पाल संस्कृतिबाट विकसित कर्णाट संस्कृति र सामाजिक तथा धार्मिक प्रभावलाई पहाड अनि काठमाडौंको समाजमा प्रत्यक्ष महशुस गर्न सकिन्छ । पछिका मल्ल राजाहरुले आफूलाई कर्णाटवंशी भनी दावी गर्नुलाई यसको ज्वलन्त उदाहरण मान्न सकिन्छ ।
उपरोक्त कथनबाट नेपालको मध्यतराई तथा पहाडी र उपत्यकाका क्षेत्रमा पालहरुले प्रत्यक्ष शासन गर्न सकेनन् । ’cause उनीहरुलाई सिम्रौनगढ राज्यले रोकेको थियो । सिम्रौनगढ राज्यको पश्चिमी सीमा गण्डकी (सदानिरा), अथवा नारायणी नदीसम्म थियो भन्ने मानिन्छ । प्राचीन मिथिला राज्यको पश्चिम सीमा पनि नारायणी नदी नै थियो । यस कुराको, पुष्टि नारायणी नदीको पूर्वी किनारामा अवस्थित चितवनको बाल्मीकी आश्रममा प्राप्त केही पालकलाबाट प्रभावित कर्णाटकालीन मूर्तिहरुले पनि प्रष्ट पार्दछन् ।
सिम्रौनगढ राज्य स्थापनाका कारणले पालहरुले बंगालमा आफ्नो अधिकार हनन् गरे । त्यसपछि उनीहरु पश्चिम नेपालतर्फ आकर्षित भए । संभवतः कन्नौजका पालबंशी र बँगालका पालहरुवीचको सम्बन्धले उनीहरुको शासन व्यवस्था अन्र्तगत स–साना सामन्तका रुपमा रहेका राजा रजौटाहरुले उनीहरुलाई पश्चिम नेपालमा शरण दिएको सम्भावनालाई नकार्न सकिदैन ।
इस्वी १००१ मा सुल्तान महम्महले राजा जयपाललाई हराएपछि भारतको भूभागबाट धपाइएका हिन्दु राजा, हिन्दु संस्कृतिका ब्राह्मणलगायत अन्य जातजातीहरु तथा बौद्ध धर्मका अनुयायीहरुको मूख्य गन्तव्यस्थल पश्चिमी हिमवतखण्ड हुनगयो । पश्चिमका आर्य खशहरु बौद्ध तथा हिन्दुकरणको सजिलो माध्यम हुनगए (पञ्चायत स्मारिका, २०४३ ) ।
सम्भवत बंगालका यिनै पालहरुका बंशजले कर्णाली प्रदेशमा विभिन्न स्थानमा स–साना रजौटा कायम गरी बसोबास गरेका थिए । जसलाई १२ औं शताव्दीका खश राजा नागराजले पराजित गरेर खश साम्राज्यको स्थापना गरेका हुन् । पाल र खशको आपसी मेलमिलाप र वैवाहिक सम्बन्धले खश साम्राज्यको स्थापना गर्न मद्धत पुग्न गयो ।
दक्षिणमा इस्लाम धर्मको प्रभाव चरम अवस्थामा रहेको तात्कालिन परिस्थितिमा हिन्दु, बौद्ध, विद्वान, पण्डित, भिक्षु तथा प्रशासनिक र शैक्षिक कार्यमा दक्षता हासिल गरेका समूहहरुको शरणस्थलको रुपमा रहेको कर्णाली प्रदेशले खश साम्राज्य स्थापित हुने पृष्ठभूमि प्राप्त गरेको थियो ।
पृथ्वीमल्लको स्तम्भ लेखमा पालहरुलाई सूर्यवंशी क्षत्रीय भनिएको हुनाले यी पाल र खश राजा नागराजविचको समन्धले यस क्षेत्रमा हिन्दु तथा बौद्ध धर्म संस्कृतिले विकसित हुने मौका पायो । धनबज्र वज्राचार्यअनुसार पृथ्वी मल्लको स्तम्भ लेखबाट नागराजपछि क्रमैसँग चाप, चापिल्ल, क्राशिचल्ल, क्रधिचल्ल र क्राचल्ल आदि खश राजाहरुले कर्णाली क्षेत्रमा शासन गरेका थिए ।
क्राचल्लको पालादेखि भने यस क्षेत्रको इतिहास प्रष्ट हुन्छ । यिनको समयदेखिको तिथिमितीयुक्त प्रमाणिक इतिहास पाईन्छ । सूर्यमणि अधिकारीको ‘खस साम्राज्यको इतिहास’ अनुसार क्राचल्ल अघिका ४ राजाहरुको भने नाम मात्र पाईन्छ । तर, वि.सं. १५४५ मा लेखिएको मानिने श्रीपाली बंशवालीले राजा चापको राज्य विस्तार बाल्हीक गान्धारसम्म भएको र काश्मिरका राजा सुरपीडले उनलाई सौगात चढाएको जानकारी गराएको छ ।
क्रमशः