वेद

 

कृष्ण धराबासी

 

वेद

 

ऊ जन्मदा ऊ भन्दा अघि

अनन्त समय शुन्यमय भइसकेथ्यो

थिएनन् इतिहास भन्नेहरु र सुन्ने कानहरु ।

 

 

 

ऊ एक–एक शब्दहरु टाँड लागेर

एउटा प्रतीक खण्ड उभियो

र उसले निर्णय गर्यो

अब यहाँदेखि अघि— म जानेछु निरन्तर ।

 

 

 

जाँदा जाँदै बाटामा ऊ विभाजित भयो

द्वैपायनका कालजयी हातहरुले

उसलाई टुक्रा—टुक्रा गर्यो

ऊ अनन्त युगानुभूतिहरुबाट निर्मित समग्रता

कुड्का–कुड्काहरुमा बाँडियो ।

 

 

 

जाँदा जाँदै बाटामा ऊ

पुराण–उपपुराण र उपनिषद् भयो

ऊ विस्तारै मान्छे भयो

मान्छे जस्तै सर्दै र सर्दै गयो ।

लोभहरुमा, मोहहरुमा, त्रासहरुमा र आश्वासनहरुमा

ऊ ठूला–ठूला मन्दिरहरु र पण्डाहरुको गीत भयो

बग्दा–बग्दै एकाएक मरुभूमिमा पसेको नदी झैं

ऊ पाइलै पिच्छे सुक्तै गयो ।

 

 

एउटै पुस्ताले सबै आकांक्षाका

पहाडहरु नाघ्न सक्तैन

एउटै गीतले सबै शताब्दीको

स्वर दिन सक्तैन

जति जाँदा पनि यो एउटा सानो पृथ्वीमा

मानिस पुग्न सक्तैन ।

 

 

अनन्त वेगहरु बगे पहिला पनि यहाँ

अनन्त कलाहरु सजिए पहिला पनि यहाँ

मुटु चिरेरै गाइए गीतहरु पहिला पनि यहाँ

तर युवा जोडीहरुको छातीको गीत

कहिलै निथ्रिएन निस्किएर

व्यथितहरुका आर्त स्वरहरु कहिलै

करुणामय हुन सकेनन् चिच्याएर ।

 

 

ओ ! महान् आस्था !

ओ ! सुमेरु विश्वास !

कहिले पुगिन्छ, तिम्रो उच्चताको धुरीमा ।

किन प्रत्येक दिन कहीँ पुगे झैं लागिरहन्छ

र फेरि अर्को दिन आपूmलाई त्यहीँको त्यहीँ पाइन्छ ?

किन एकपल्ट मज्जाले बगिसके पछि पनि

आँसु फेरि–फेरि आँखामा जमिरहन्छ ?

यत्रा स्वरहरु फेरिए

अनन्त टुक्रामा पृथ्वीको कित्ताकाट गरियो

भाग लाग्दा–लाग्दा पृथ्वी

अनन्त स्वामीहरुको योग्या भइन्

तर प्रत्येक नयाँ अनुहार

फेरि पनि धरतीतिरै निहुँरिएको छ

माटोतिरै मुटु ओच्छ्याएको छ ।

 

 

हेर्दा–हेर्दै एउटा चिरञ्जीवि बरदान

अस्वत्थामा अभिशापमा अनुवाद भयो

आप्mनो अमरत्व चाहने द्रोण इच्छा

छोराको–कहिलै मुक्त हुन नसक्ने

अभिषप्त जीवन भयो

कसरी आस्थाहरु पनि अनास्थाका

विकराल विपना हुन्छन् ?

कसरी समयको धीमा गतिमा

जीवनका सहस्रौं अनुभवहरु तैरिंदै जान्छन् ?

 

 

 

ओ सिसिपस !

तिमीमात्र कहाँ कहिलै पार हुन नसक्ने

हिमाल चढ्न विवश छौ ?

हेर हामी कहाँ एउटा अस्वत्थामा

सारा कुहेको र दङ्दङ्ती गन्हाएको शरीर लिएर

कहिलै स्वास्थ्य नहुने जीवनसहित

चिरञ्जीवी हुन विवश छ

तथापि ऊ पनि एक दिन पुग्न चाहन्छ

चिरञ्जीवीदेखि पर – मुक्तितिर

र त्यो दिन तिमी पनि थाह नभई

पहाड नाघ्ने छौं– फुत्त

 

 

 

त्यो दिन भनेको वेदबाट मुक्त भएको समय हो ।

तर वेदलाई पनि थाहा छैन—ऊदेखि पर के छ ?