प्रिय मान्छे

 

प्रिय मान्छे ,

खुशी हुनलाई कति धेरै कुरा जुटाउनु पर्ने हुन्छ तर दुखी हुन् र बन्न सिर्फ एक वचन , दुर्वचन , कटु वचन काफि । खुशी वर्षौ वर्ष खोजे पनि भेट्न मुश्किल तर दुख सधैको सबैको पाहुना ।

 

प्रिय मान्छे ,

हरेक पहिलो मौका र अवसर सुनौलो र अविस्मरणीय हुन्छ , जिन्दगीमा दोश्रो मौका पहिलो झैँ नमिल्न पनि सक्छ मिलीहाले पनि पहिलो झैँ महत्वपूर्ण र चिरस्मरणीय नहुन पनि सक्छ । तर कथा कहानिहरुमा मौका मिले पनि रियल लाइफमा नमिल्ने सम्भावना धेरै हुन्छ त्यसैले भनिन्छ रिल लाफई र रियल लाइफ मा आकाश जमिनको बिभिन्नता छ । हामीले यथार्थको धरातल टेक्नु पर्छ पल भरको रंगिन जीन्दगी होइन ?

 

समय फेरियोस , जीवनका जटिलताहरु फेरियुन,जीवनका रंग र ढंगहरुमा व्यापक बदलाव आओस तर मेरो मन र माया अनि तिमीप्रतिको समर्पण फेरिने छैन ,  निष्ठा र आस्थामा बादल लाग्नेछैन । बदलिने छैन, म हिजो जसरी माया गर्थे जसरी मायाको अभिव्यक्ति दिन्थे जरुर आज पनि त्यसैगरी दिन्छु जीवन पर्यन्त मेरो वाचाकसम चेन्ज हुनेछैन । म द्रोही हुनसक्छु , एकलकाटे हुनसक्छु , असामाजिक देखिन सक्छु  तर यो समाजको कालो धब्बा , गलत संस्कृति र भेदभाव , उचनीच , छुवाछुत र रंगको आधारमा र लिंगको आधारमा गरिने भेद्संग कुनै पनि मुल्यमा सम्झौता गर्दिन र सहन्न । मानवीय मुल्य भन्दा ठुलो जात धर्म र सेवा अरु हुन सक्तैन । सबैभन्दा ठुलो मुल्य भनेको मानवीयता हो ।

 

प्रिय मान्छे ,

कसैको पनि स्वर्णिम सपना, रहर इच्छा र आकांक्षाको हत्या हुँदा मलामी बन्न मन्जुरी छैन । मलाई त सबै सफलताको सारथि बनेर हिम्मतको डोली लिएर जन्ती जाने उत्कट अभिलाषा थियो अपितु रहर सबैका पुरा हुँदैनन् मेरा पनि भएनन् म जस्ता कयौको पुरा भएको छैन । यद्दपी रहर पुरा नहुदैमा सबै रहर चिहानमा पुग्दैनन सुसुप्त नै सहि बाचिरहेका हुन्छन ।, भेटिन्छन ।

 

प्रिय मान्छे,

हर जिन्दगीको हरपल , हर घडि, हरक्षणमा ,  हरकिसिमका परीक्षा चिलिरहेको हुन्छ । जिन्दगीले लिने हर प्रकारको परीक्षामा सबै सफल हुन्छन भन्ने छैन । परीक्षा उतिर्ण अनुतिर्ण गराउन मात्र हैन केही सिकाउन , केहि बुझाउन अनि केहि सम्झाउन पनि आएको हुनेरहेछ । जिन्दगीको सिकाई कोहि सामान्य मुल्यमा सिक्छन त कोहि चर्को मुल्य तिरेर पनि सिक्न सक्दैनन् । मैले पनि कति सिके, कति पाए ,कति गुमाए त्यो भविष्यले बताउला तर गुमाउनुको नाममा मलाई हार स्वीकार्य छैन । मेरो लागि यो समय असहज छ कठिन छ तर सफलताको लागि यसले बाटो छेकेको छैन किनकी मैले उत्साह,उमंग , केहि गरि छाड्ने अठोट, धैर्य कर्तब्य गुमाएको छैन सबैभन्दा ठुलो कुरा आफु माथिको विश्वास र भरोसा गुमाएको छैन । मान्छेले धेरै थोक गुमाए पनि आफु माथिको विश्वास र भरोसा गुमाएन धेरै चिज पाउने सम्भावना सधै जीवित रहन्छ तसर्थ तिमी पनि केहि गुमाउदैमा केहि असहज परिस्थिति आउदैमा आफ्नो आत्मबल नगुमाउ तिमीले गर्ने र पाउने थुप्रै चिज बाँकी छन् ।

 

असफलताले आगामी दिनको सफलाताको लागि बाटो नै बन्द गरेको हुन्न बरु अलि सच्चिएर , अलि सतर्क भएर , कमजोरी समिक्षा गरेर चुनौतिको पहाड चढ्न धैर्यताको अपेक्षा गरेको हुन्छ । तिमी प्रेरणाको मिठो मुस्कान दिएर बस । कति फरक पर्दछ एउटा मान्छेको माया र भरोसा अनि प्रेरणाले अर्को मान्छेको जिन्दगीमा भन्ने कुरा देखिन्छ ।

 

प्रिय मान्छे ,

यो प्रेम भन्ने जिनिस सबै खराबी , खतरा र खजानाको अचुक अस्त्र मात्र होइन यो त् प्रयोग गर्न जान्दा अति राम्रो र बहुउपयोगी औसधि पनि हो , तर पनि प्रेमलाई बैध र अबैध ठानेर कानुनको कठघरमा उभ्याउछन र प्रेमको कित्ताकाट गर्छन मान्छेहरु । विचरा प्रेम !

 

प्रिय मान्छे ,

जानाजान भएका भुलहरुले मान्छेलाई तर्साउनु गलाउनु र थकाउनु सामान्य भए पनि ज्ञात अज्ञात भुलहरुले पनि वेचैन, छटपटी र खुल्दुली पैदा गर्छ । जलाउनको लागि सलाईको काँटी नै किन आवस्यक हुन्छ र ? उपेक्षा नै काफि बन्दोरहेछ । उपेक्षाले कतिलाई जलाउछ भने कतिलाई बदलाको भावनाले क्रुर बनाएर प्रतिद्वन्द्वीताको सनक चढाउछ । प्रतिसोधि र घृणाको ज्वाला दन्काउछ । तर निष्ठा र हृदयको आकर्षणले गरेको प्रेम स्नेह र अनुरागमा कहिकतै लेस मात्र पनि घृणा बदला र उपेक्षा रहन्न बरु सामान्य गुनासो हुनसक्छ गुनासो गर्नेले प्रेम गर्न सक्छ तर बदला र प्रतिसोध लिने मनसायले कहिल्यै अहित र कुभलो सोच्दैन । उपेक्षाको जंगली र विषालु काँडाले तिमी जति चिथोर , जति बिजाउ जति घोच म हांसी हांसी सहन्छु , भलो होस् तिम्रो भनि नै रहन्छु । किनकि म सच्चा प्रेमी हुँ मलाई प्रेमको उर्जा , निष्ठा विश्वास र सम्मानमा जति भरोसा अरुमा छैन । निश्चल प्रेममा जति शक्ति र उर्जा हुन्छ त्यो अन्यत्र कहाँ पाइन्छ र ? स्नेह , प्रेम विश्वास र आकर्षणले अजिब अजीबको परिस्थीति निर्माण गर्छ । त्यस्तै अजीबको पात्र हो असल प्रेमी । जसले जति उपेक्षा जति बेत्मलव गरे पनि दुखको सिंगै पहाड लुकाएर पनि अनौठो लगाव समर्पण त्याग र निष्ठा बोकेर अनवरत आकर्षणमा छ शायद यसैलाई भन्छन प्रेम ! फगत प्रेम ! केवल प्रेम ! जसलाई लिनुमा हैन दिनुमा नै मजा छ आनन्द छ खुशी छ । आफ्नो दुखको महासागर लुकाएर हास्ने मान्छे अरु कसैको सानो दुखमा कसरी पग्लन्छ कति दुखि हुन्छ द्रवित हुन्छ सच्चा प्रेम गर्नेलाई सोध ?