प्रिय मान्छे

डा. सुजाता पन्त

 

प्रिय मान्छे
प्रिय मान्छे ,हुन त समय तिमी र मभन्दा धेरै पर गैसकेको छ। जीवन दैनिक ड्युटीमा नै व्यस्त छ ,जिन्दगीलाई आफैसंग यति धेरै हतार छ कि आफ्नाहरुसग पनि केही पल सगै बिताउने फुर्सद नै छैन । एकातिर तिमीलाई भुल्ने प्रयासमा सम्झाउने हरेक चिजहरु पन्छाउदै हुन्छु तर पनि तिमिलाइ सम्झिन पनि उतिकै हतार छ मनलाइ ।

 

बिगतले झस्काइदिदा कहिलेकाही तिम्रा यादहरुले मलाइ आफुभन्दा गर्हौ भारीले थिचेझै थिच्ने गर्छन।सम्झिएका हरेक पलहरुमा मेरा औलाहरु मलाइ खबर नै नगरी तिम्रो नम्वर डायल गरिदिन्छन फेरि हतार हतार राटो बटन थिचिहाल्छु किनकि डर छ मेरो याद मेरो सम्झना र मसंगको प्रेमले तिमिलाई अर्को तनाव त दिने हैन?

 

फेरि पनि मेरो कारण तिमीले आफ्नो पढाइ करिअरमा असर त पर्ने हैन? फेरि पनि मेरा यादहरुले झस्काइदिदा तिमीले आफ्नो काम र जिम्मेवारिहरु बिर्सेर सराबको नसामा डुबेको त फेरि सुन्नु पर्ने हैन? यिनै प्रश्नहरुले कैयौ पटक लेखेका म्यासेजहरु डिलेट गरेको छु र पुराना म्यासेजहरु स्क्रोल गरेर तिमीलाइ फेरि महशुस गरेको छु कैयौ पटक । क्यान्भासमा तिम्रो तस्वीर आफ्नै हातले कोरेर पुरै रङ भरेर मेरो टेबुलको सबैभन्दा अगाडि राखेको छु । तिमीले मेरो मुटु आफै पढ बुझ र महसुस गर भनेर दिएको कार्डियोलोजिको किताब कहिलेकाही पल्टाएर हेर्दा अझै धेरै पानाहरुमा मप्रतिको तिम्रो प्रेम धेरै पढेको छु मैले।

प्रिय मान्छे ,

 

म आकर्षण र हर्मोनमा त्यति धेरै विस्वास गर्दिन जति आत्मीयता स्वाभिमानमा विस्वास गर्छु। वर्षौ भयो हामी टाढिएको कहि कतै कुनै माध्यमबाट सम्पर्कमा नरहेको पनि महिनौ भयो तैपनी उतिकै जिवित छ मभित्रको आत्मियता तिमीलाई हेर्ने मेरो नजर अनि तिमिप्रतिको प्रेम सम्मान र सद्भाव। प्रेम गर्ने कुरा हैन आफै हुने रहेछ भनेर त तिमी आफैले सिकाएका थियौ । माया त समस्त मानव जातिकै लागि नै हाल्छ अझ तिमी आफै भन्ने गर्थ्यौ यो डाक्टरी पेसामा हरेक पल जीवन र मृत्युको तराजु समाइरहदा अझ धेरै महसुश हुदो रहेछ सायद त्यसैले होला तिमीसग खासै कुनै गुनासो त छैन । हिजो नजिक हुँदा पनि तिमिलाई जीवनमा पहिलो पटक यति धेरै प्रेम गरे र आज पनि त्यो प्रेम त्यो आत्मियता उति नै जिवित छ।केही तिम्रो बिवशता अनि केही मेरो जताततै जिम्मेवारीको लहरैलहराले जेलिएको हामी दुबैको जीवन सङ्घर्षका हरेक पाइलाहरु सबै कुरा मिल्ने भएर पनि होला कति सजिलै टाढियौ हामी एक अर्काको समय र परिस्थिती बुझेर। त्यो त्याग त्यो समर्पण भन्दा ठूलो प्रेम अरु केही होला र?

 

जीवनमा प्रेम गर्छु भन्नेहरु धेरै आए धेरै गए र कोहि अझै बाकी होलान वरिपरि तिम्रो जीवनमा पनि र मेरो जीवनमा पनि तर तिमी मात्रै एउटा यस्तो मान्छे थियौ जो थोरै समय भए पनि मेरो साहस, मेरो उर्जा ,मेरो हौसला र मेरो प्रेरणा बनिदियौ। लडेका ठाउहरु उठाउने र प्रतिकुल घडिहरुमा तिम्रो काधमा रुन पाउनु अनि केही थोपा आसुहरु तिम्रै हातले पुछिन पाउनु त्यही नै मेरो सैभाग्य थियो । जीवनमा धेरै कुरा त कमाउन सकिएन होला तर तिमीजस्तो पुरुषबाट त्यति धेरै सम्मान पाउनु भनेको मेरो जीवनको एउटा उपलब्धि पनि हो र आज पनि गर्व लाग्छ तिम्रा साथिहरुले कहिलेकाही सुनाउछन हजुरलाइ त उहाले एक्दम धेरै रेस्पेस्ट गर्नुहुन्छ हजुरको सामाजिक कामहरु सिर्जनात्मक जीवनको कुराहरु हाम्रो सर्कलमा पनि शेयर गर्नुहुन्छ।

 

उमेर र शैक्षिक योग्यताले मात्रै अलिकती सिनियर हु म अरु धेरै कुरा तिमीबाटै सिक्नुछ भनेर मेरो जीवनमा प्रवेश भएका तिम्रा पाइलाहरु कति सिकेर गए त्यो त मलाइ थाहा छैन तर तिमिले भने मलाइ धेरै कुरा सिकाएर गयौ।सधै सधै मलाइ अझ माथी माथि उठाउन खोजिरह्यौ त्यसैले त आज पनि तिम्रो तस्वीरको अगाडि मेरो शीर झुक्ने गर्छ । तिम्रो अस्पतालको छेउतिर कहिलेकाही बरालिदा पनि यति धेरै खुशी लाग्छ कि तिमी मानवता र कैयौ घाउहरुमा मलम बनिरहेका छौ ।तिम्रो थोरै समय मैले खर्च गरिदिनु भनेको पनि ती कैयौ बिरामिहरुको घाउ दुखाएको जस्तो लाग्छ त्यसैले म सचेत छु मेरो व्यक्तिगत कुराले गर्दा तिमि जस्तो

 

मानवताको पुजारीको समय बर्बाद नहोस र त्यसको असर कहि कुनै बिरामीलाई नपरोस । कहिलेकाही अलिकती प्रेम र आत्मियता यसरि नै पवन सरि उडेर आइरहोस तिम्रो राजधानिबाट र यसरी नै ल्याण्ड भैरहुन केही यादहरु मेरो मनको एयरपोर्टमा अनि तिनै यादहरु सधै सधै बनिरहुन मेरो साहस मेरो आत्मविश्वास अनि मेरो प्रेरणा। जसरी हिजोका दिनमा भन्ने गर्थ्यौ म कहिल्यै मर्नेछैन तिम्रा कबिताहरुमा सधै सधै बाचिरहनेछु । हुन त तिमी गएपछी कलमहरु बन्द भएका छन तर फेरि लेख्न सकु तिम्रै नाममा कबिता र सधै सधै तिमीलाइ आफै भित्र जिवित राख्न सकु।हरेक पल तिमिले भनेका शव्दहरुले झस्काइरहन्छन “कान्छू यु आर नट बर्न टु बि एन एभरेज” सधै सधै एभरेज भन्दा अलिकति माथी उठ्न सकु तिम्रो आशीर्वाद र तिम्रो प्रेमले।

 

अन्तमा कहिल्यै नभेटिने गरि दुई समानान्तर रेखा पक्कै भएका छैनौ हामी । कहि कतै जीवनको कुनै मोडमा फेरि भेटियोस, तिम्रो छेउमा फेरि केही प्रेमिल सास फेर्न पाइयोस प्रिय मान्छे ! सम्झना धेरै धेरै !