भीमसेनको गदा र हनुमानको पुच्छर

 

अशक्त बाँदरका केही शब्दले भीमसेनको पाइला अचानक रोकियो । बाँदरको अशक्तताले भन्दा बढी उसको शब्दले भीमलाई रोक्यो । बाँदर जति मामुली थियो त्यसको शब्द त्यति मामुली थिएन ।

 

 

ध्रुव मधिकर्मी

 

किन हो त्यसलाई देख्नासाथ श्रीमान भीमसेनलाई झनक्क रिस उठ्यो । सरासर गएर त्यसको टाउकोमा गदाले ट्वाङ्ग हानुँ जस्तो भयो । यसरी रिसाउनु पर्ने त्यस्तो कुनै कारण त थिएन । सभ्य र शिष्ट देखिने त्यो अपरिचित मान्छेले यद्यपि भीमलाई केही गरेको थिएन । त्यो मान्छे कहिलेकाहीँ बाटोमा देखिन्थ्यो र देखेपछि यसो हाँसे जस्तो गरेर जान्थ्यो । कहिल्यै बोल्दैनथ्यो । तैपनि भीमलाई त्यसको अनुहारमा देखिएको एक प्रकारको हाँसो नै मन परेन । त्यो हाँसोले भीमलाई केही खिस्सी गरे जस्तो वा केही उपेक्षा गरे जस्तो लाग्थ्यो । भीमले त्यो मान्छेलाई परैदेखि आँखा तरेर हेर्न थाल्यो । त्यो मान्छे भीमलाई हेर्दै उही चिरपरिचित हाँसो देखाउँदै गयो । भीम भने आँखा तर्दै रह्यो । दुई पाइला हिँडेपछि त्यो मान्छे फर्केर आयो र ‘ए भीम भाइ’ भनेर बोलायो ।

कहिल्यै नबोलेको मान्छेले नाउँ किटेर बोलाउँदा एकछिन त भीम चकित भयो । अक्कमक्क प¥यो । तैपनि वास्ता नगरी आफ्नै सुरमा हिँडिरह्यो । त्यो मान्छेले फेरि बोलायो ।

‘ए भीम भाइ , सुन्नोस् त ।’

भीम बोलेन । टक्क अडियो । त्यो मान्छे सामुन्ने उभिन आयो ।

‘कता जान लाग्या भीमभाइ ?, उसले सोध्यो ।

उसको सोधाइ भीमलाई मन परेन । अझ सोधाइ भन्दा पनि पटकपटक भीमभाइ भनेको त झनै मन परेन । ऊ कहाँ भीम मात्र हो र , उसलाई त महाशय भीम अथवा श्रीमान भीमज्यू या यस्तै कुनै सम्मानीत शब्दले सम्बोधित गर्नुपर्छ । ऊ वास्तवमा अब यस्तै सम्मानीत शब्दको हकदार भइसक्यो । ऊ अब चानचुने भीम मात्र होइन । तर त्यो अपरिचित व्यक्तिको शिष्टता र त्यसको उमेरजन्य परिस्थितिले उसलाई केही भनिहाल्न पनि सकेन । तैपनि भीमलाई त्यसरी नरम भएर बोलेको भने कता कता मन परे जस्तो लाग्यो ।

भीमले छाती तन्कायो र अलि गमक्क पर्दै भन्यो – किन ?

‘हैन त्यसै सोधेको । तपार्इँलाई एउटा कुरा भनूँ कि भनेर नि ।

‘के कुरा ?
,
‘तपाईँ जस्तो योग्य र शक्तिशाली मान्छेले यसरी हतियार बोकेर बाटोमा हिँडेको सुहाएन ।’

‘तपार्इँले भन्न के खोज्नुभएको ? यत्रो महत्वपूर्ण शस्त्रलाई म छोडूँ । तपाईँले के यसको अपमान गर्न खोज्नुभएको ?, भीमले आँखा राताराता पार्दै रुखो स्वरमा भन्यो ।

‘ भीमभाइ , तपाईँले गलत सोच्नुभयो । मैले यसको अपमान गर्न खोजेको होइन । तपाईँको यो गदा ऐतिहासिक र बडो महत्वपूर्ण छ । तर यसलाई जहिलेतहिले देखाउँदै हिँड्नु उपयुक्त हुन्न । यसरी सधैं गदा बोकेर हिँड्नु चाहिँ राम्रो भएन । आवश्यक नपरेको बेलामा यसलाई थन्क्याएर राखे हुन्छ नि । मान्छेहरु तपार्इँँँँँँँँँको यो गदा देखेर तर्सन्छन् , तपाईँबाट परपर हुन्छन् । तपाईँलाई नराम्रो ठान्छन् ।’

‘ किन तर्सने ? किन परपर हुने ? यो गदाले कति दुर्जनको नाश गरिसक्यो । त्यतिका राक्षसहरुलाई तह लगाइसक्यो । त्यति महत्वपूर्ण काम गरेको थाहा पाइपाइ पनि बुझ पचाउनु हुन्छ ! त्यति बेला चाहिँ केही नहुने अब किन तर्सनु पर्ने ?’

‘कुरा त्यसो होइन ।’

भीमले बीचैमा कुरा काट्दै भन्यो – कुरा कस्तो हो ! मेरो परिचय बनिसकेको यो गदाप्रति तपाईँको रिस किन ? यसले कति मान्छेहरुको रक्षा गरिसक्यो , अझै कतिको रक्षा गर्न बाँकी छ । त्यसैले यो गदा बिसाएर हिँड्ने पक्षमा छैन म ।

‘तपार्इँको यो गदाले धेरै काम दियो , दिएन भन्दिनँ । तर संधै यसलाई बोकेर हिँड्नु उचित भएन । मान्छेहरुमा यसले नकारात्मक असर पार्छ । तपाईँको राम्रो बनिसकेको छविलाई यसले धक्का पु¥याउँछ । तपाईँ स्वयं पराक्रमी हुनुहुन्छ ,तपाईँले अब कुनै हतियार बोकेर हिँड्नु पर्दैन । मैले त तपाईँलाई सल्लाह मात्र दिएको हुँ ।’

‘मलाई यस्तो सल्लाह चाहिँदैन । , भीमले रुखो स्वरमा भन्यो र उसको उत्तरको पर्वाह नगरी उपेक्षापूर्वक पाइला चाल्यो ।

त्यसै पनि सानैदेखि भीमसेन मोटोघाटो र बलियै थियो । पछि खानपिन र कसरती जीउले उसलाई सुगठित बनायो । त्यसमाथि उसलाई कृष्ण र अरु केही शुभचिन्तकहरुले बेलाबेलामा निकै साथ दिए । पहिला उसलाई आफू त्यति बलियो छु भने लागेको थिएन । तर जब उसले किचक र अन्य केही अजङ्गका दुईचार जना बलवान् गनिएका मुस्टण्डहरुलाई आफ्नो शक्ति र सामथ्र्यले पल्टा ख्वायो , अनि उसले आफू साँच्चिकै बलियै रहेछु भन्ने चाल पायो । त्यति मात्र होइन , सोचे भन्दा पनि बलियो रहेछु भन्ने अहम् जाग्यो । अनि त ऊ एक्लोले हात्तीलाई समेत पछार्ने , बाघसँग कुस्ती खेल्ने सामथ्र्य राख्न थाल्यो । हुन पनि भीमसेन बलिष्ठ भुजा भएको मोटो तर सन्तुलित जीउडालको व्यक्तित्व थियो । त्यसैले कसैसँग झगडा गर्नु पर्यो वा कसैलाई थर्काउनु पर्यो भने दाजुभाइ सबैबाट भीमलाई नै अगाडि सारिन्थ्यो । भीम पनि त्यस्तो काममा विशेष रुचि राख्थ्यो ।

अचेल भीम संधैभरि गदा बोकेर हिँड्छ , आफ्नो बलिष्ठ पाखुरा देखाएर हिँड्छ । कहिलेकाहीँ बाटोमा हिँड्दा कसैले छोयो मात्र भने पनि ऊ आफूलाई आक्रमणै गर्न आएको हो कि भन्ठानेर गदा उचालीहाल्थ्यो । उचाल्ने मात्र होइन गदाले हिर्काउन पनि बेर मान्दैनथ्यो । एकचोटि यस्तै भयो । यसो साँझपख भीम गदा बोकेर बजारतिर रमझम हेर्दै हिँडिरहेको थियो ,उसको खुट्टा एउटा ढुङ्गामा ठेस लाग्यो । ऊ लडखडायो,झण्डै लड्ला जस्तो भयो तर लड्न चाहिँ लडेन । ऊ नलडे पनि लड्ला जस्तो त भयो नै । सबैले यो नमीठो दृश्य देखे । शायद बाटोमा हिँडिरहेका कतिपय हाँसे पनि होलान् । यस कुराले भीमलाई बडो नमज्जा अनुभव भयो । यही नमज्जाले भीमलाई झडङ्ग रिस उठ्यो । रिसले गर्दा उसले आँखै देखेन । लाग्यो , कसैले जानाजान उसलाई लडाउन खोजेको हो । उसले छेवैमा हिँडिरहेको एकजना मान्छेलाई च्याप्प समातेर सोध्यो – तैंले मलाई चिनिनस् ?

त्यो मान्छे एकछिन त अवाक् भयो । ‘कसरी चिन्नु मैले ?, भन्यो ।

‘ए , तँ मलाई नचिन्ने, मुखमुखै पनि लाग्ने । अझ त्यसमाथि आक्रमण पनि गर्न खोज्ने हैन , भन्दै उसको टाउकोमा गदाले हिर्कायो । त्यत्रो ठूलो फलामको वजनयुक्त गदाले लागेर त्यो अपरिचित मान्छे त्यहीँ ठहरै भयो । त्यो अपरिचितले प्रतिरोध गर्नै पाएन । आफ्नो कुनै गल्ती छैन समेत भन्न पाएन । बाटोमा हिँड्ने बटुवाहरुलाई थाहा थियो गल्ती त्यो अपरिचितको थिएन । तर यो कुरा त्यहाँ कसले भनिदेओस् । एक त कसैले भन्नै नभ्याइ यो घटना भयो । अर्को त्यो अपरिचितले नचिने पनि अरुले भने भीमलाई , भीमको स्वभावलाई राम्रैसंग चिनेका थिए ।

००

भीम घमण्डी हुँदै गयो । ऊ अब हतपती कसैको पनि कुरा नसुन्ने भयो । कसैलाई पिट्नु ,हिर्काउनु र सानोतिनो कुरामा हप्काउनु उसको लागि सामान्य कुरा हुन थाल्यो । ऊ बाटोमा हिँड्दा पनि अब अरु मान्छेहरुसित निहुँ खोज्ने गर्न थाल्यो । मान्छेहरु उसित सतर्क भएर हिँड्ने भए । भीमलाई यसरी हतियार बोकेर नहिँड,अरुलाई अनाहकमा दुःख नदेऊ ,जोसित पनि घुलमिल हुन सिक , जनताको नेतृत्व लिएर सत्तामा जानुपर्नेले यसरी बाटोमा हिँड्नेहरुलाई सताउनु उचित हुन्न भनेर उसका ठूल्दाजु युधिष्ठिरले धेरै पटक सम्झाइसके । तर भीम के मान्थ्यो ! भीमको यही शक्ति र उसको गदाले युधिष्ठिरलाई सत्तामा पुर्याउन सहयोग गरेको थियो । त्यसैले भीम कसैको पनि कुरा सुन्न तयार थिएन , युधिष्ठिरको पनि । युधिष्ठिर अरुको गुनासो सुनेर उसलाई कहिलेकाहीँ सम्झाउने मात्र गर्थे ,उसित भएको हतियार थुतेर लिन सक्दैनथे । ऊ एकप्रकारले धर्मसंकटमा परेको थियो ।

त्यही भएर एकदिन हनुमानले भीमलाई सम्झाउने विचार गरे । दुईचार पटक हनुमानले बोलाउन पठाउँदा पनि भीम आएनन् । त्यसैले हनुमान आफै भीमलाई भेट्न आए ।

– हेर बाबु, हतियारले कसैको भलो हुँदैन । फेरि संधै हतियारको मात्रै जित हुन्छ भन्ने छैन । त्यसैले छोड हतियार । आफ्नो बाहुबलमा बाँच्न खोज । हतियारले होइन ,व्यवहारले जित्न खोज ,बाबु ।

यही हतियारले नै मैले त्यत्रा त्यत्रा शक्तिशाली राक्षसहरुलाई मार्न सकें । हतियार नबोकेको दिन त्यस्ता राक्षससित भिड्नु पर्यो भने के गर्ने ! त्यसैले अब त मलाई हतियार बोक्ने यस्तो बानी परिसक्यो कि अब म यसलाई छोड्ने कुरा सोच्नै सक्तिनँ । हतियार नबोकी हिँड्दा मलाई आफू अपुरो भए झैं लाग्छ । त्यसैले अरु केही छोड् भन्नुहोस् म छोड्छु तर हतियार म कसैगरी पनि छोड्न सक्दिनँ ।, भीमले आफ्नो निर्णय सुनायो ।

हनुमानले धेरै बेर सम्झाए तर कसैगरी पनि उनले भीमलाई सम्झाउन सकेनन् ।

त्यसैले हनुमानले भीमसेनलाई उसको घमण्ड चूर पार्न एउटा उपाय सोचे ।
००

भीमसेन कतै गइरहेको थियो । उसको हातमा गदा र कमरमा लामो खालको भाला थियो । उसको हिँडाइमा म भन्दा बलशाली कोही छैन भन्ने गर्व देखिन्थ्यो । ऊ आफ्नै तालले मस्त भएर हिँडिरहेको थियो । केही पर एउटा मोडमा मरन्च्याँसे बाँदर असरल्ल परेर बसिरहेको थियो । त्यो अशक्त झैं देखिन्थ्यो साथै अलिअलि कामिरहेको थियो । कामेका हातले ऊ भुइँमा केही टिप्न खोजिरहेको देखिन्थ्यो साथै ऊ भीम आइरहेको बाटोतर्फ यसो छिनछिनमा नियालिरहेको पनि थियो । वास्तवमा त्यो बाँदर नभएर हनुमान थियो ।

गर्वले मस्त भएर भीमसेन केही सुसेल्दै आइरहेको थियो । बाटोमा के छ ,कहाँ के भइरहेछ उसलाई कुनै वास्ता थिएन । उसले त आफूलाई बाहेक अरुको ’boutमा सोचेकै थिएन । त्यसैले बाघभालु नै आए पनि उसलाई त्यसको पटकै भय थिएन । एकैचोटि उसको सामु बाघभालु नै आए पनि तिनलाई ऊ एक एक लात्ती हानेर पछार्ने बल त छ उसमा । हात्तीले समेत उसलाई रोक्न सक्तैन भने अरु जन्तुको के औकात !

आफ्नै अहम्मा डुबेर हिँडिरहेको भीमले बाटोमा पल्टिरहेको अशक्त बाँदरलाई वास्तै नगरी कुल्चेर जान खोज्यो । उसले देखेन वा देख्दादेख्दै पनि बाँदरको पुच्छरलाई कुल्चेर जान खुट्टा उचाल्यो । यो देखेर बाँदरले उसलाई रोक्दै भन्यो – ए बलशाली भीमसेन, तपाइँ जस्तो महापुरुषले एउटा अशक्त प्राणीलाई नाघेर जाने ! यो त तपाइँको बहादुरीको लागि न्यायोचित भएन ।

अशक्त बाँदरका केही शब्दले भीमसेनको पाइला अचानक रोकियो । बाँदरको अशक्तताले भन्दा बढी उसको शब्दले भीमलाई रोक्यो । बाँदर जति मामुली थियो त्यसको शब्द त्यति मामुली थिएन । त्यसैले भीमले उपेक्षाले हेर्दै पाइला रोक्यो र भन्यो –म के गरुँ । बाटोमा त्यसरी पुच्छर फैलाएर बस्ने हो त । ल छिटो पुच्छर हटा ।
‘म साह्रै अशक्त छु बाबु , तपाईँले नै यसो पन्छाएर जानोस् । ’

आफूलाई अशक्त भन्ने अनि यसरी बाटोमा पुच्छर फैलाएर बस्ने ! ,भीम राँकियो ।

‘बाबु , धेरै दिनदेखि म यहीँ छु । कमजोरीले गर्दा मैले आफ्नो पुच्छर समेत उठाउन सकेको छैन । कति कीटपतङ्गले नाघेर गएका छने भने तपाईँँ जस्तो वीरपुरुषले नाघेर जानु कुन ठूलो कुरा हो र ! , अशक्त बाँदरले बल गरी गरी भन्यो ।

बाँदरको कुरा सुनेर भीमसेनले मुख अमिलो पा¥यो । त्यस्तो बूढो र रोगीे बाँदरको पुच्छर छुने कुराले नै उसलाई घीन र अरुचि भइसकेको थियो । तर उसका लागि प्रयोग गरिएका केही शब्दले उसलाई त्यतिकै पुच्छर नाघेर जान पनि दिएन । त्यस्तो बाँदरले उसको लागि गर्हुङ्गा शब्दहरु प्रयोग गर्ला जस्तो उसलाई लाग्दै लागेन । तैपनि ऊ गर्हुङ्गा शब्दहरुले केही थिचिएर बाँदरको पुच्छर उठाउन बाध्य भयो ।

ठीक छ , भन्दै भीमसेनले बाँदरको पुच्छरलाई घीन मान्दै उचाल्यो र फ्याके झैं गरी छोड्यो । त्यसपछि सरासर अगाडि बढ्यो । भीमसेनले घीन मान्दै उचालेको देखेर हनुमान छक्क परे । उनले त भीमसेनलाई सबक सिकाउन पो बाटोमा पुच्छर राखेर बसेका थिए । भीमसेनले पुच्छर हटाउन सक्तैन र उसको घमण्ड चुर चुर हुनेछ । आइन्दा कसैलाई पनि दुःख दिनेछैन भनेर पश्चाताप गर्नेछ । हनुमानले खोजेको यति हो । तर यहाँ त उल्टो भयो । भीमसेनले मात्र एउटै औंलाले हनुमान जस्तो चिरञ्जीवी वीरको पुच्छरलाई सजिलैसंग पन्छाइदियो ।

हनुमानले सोचे । गल्ती उसैको हो । भीमसेनले पुच्छर उठाएको बेलामा उनले बल गरेर पुच्छरलाई उठाउन नसक्ने गरी जोडले थिचेर राख्नु पथ्र्यो । तर त्यसो गर्न नपाउँदै भीमसेनले त हनुमानजस्तो बहादुरको पुच्छर होइन कुनै खोष्टो सिन्का सरी सरक्क उठाएर पन्छायो र आफ्नो बाटो लाग्यो । यस कुराले उनलाई हुनसम्मको ग्लानी भयो । कसैले थाहा पायो कि भन्ने चिन्ता पनि भयो । कतै आफैमा कुनै कमजोरी त छैन भनेर पनि सोचे । त्यसो त हनुमान पनि यति छिट्टै हार मान्नेवाला थिएन । सोच्यो अर्को पटकमा अवश्य भीमसेनको घमण्ड चुर गरेर छोड्नेछु ।

००

फेरि कुनै दिन साँझपख भीमसेन टहल्दै हिँडिरहेको थियो । साथमा गदा र चालमा उन्मादीपन थियो । अलि पर बाटोमा अगिल्लो दिन झै हनुमान पुच्छर ओछ्याएर भीमलाई पर्खिरहेका थिए । उनी घरिघरि भीम आउने बाटोमा टाउको फर्काएरं आफ्ना चिम्सा आँखाहरुले नियालिरहेको थिए । भीम बडो मस्त भएर आफ्नो गदालाई बेलाबेलामा नचाउँदै हिँडिरहेको थियो । ऊ बाटोमा होइन बरु आकाशतिर हेर्दै पाइला चालिरहेको थियो । ऊ आफ्नो सुरमा थियो । उसलाई आफू हिँड्ने बाटोमा के छ भनेर हेर्ने फुर्सद नै कहाँ ? केही भइहाले पनि भीमले त्यसको चिन्ता किन लिने ! त्यसैले उसले बाटोमा बूढो बाँदरलाई देख्यो कि देखेन भन्न गाहारो छ । तर बूढो बाँदर भने भीमकै पर्खाइमा थियो । ऊ कतिखेर भीम आउला र उसको परीक्षा लिउँला भनेर पर्खिरहेको थियो ।

भीम आयो र पुच्छरलाई नाघेर जान पाइला उचाल्यो । सके भीमले पुच्छरलाई नाघेर भन्दा कुल्चेर जान खोजेको हो कि ! जे होस् भीमले पाइला उचाल्यो । त्यहीबेला हनुमानले उसलाई रोक्दै भने – पख ए शक्तिशाली भीम , तपाईँजस्तो बलवान्ले यसरी बाटोमा नहेरी हिँड्न हुन्छ ? बाटोमा कोही अशक्त रोगी र निर्बललाई नाघेर कुल्चेर जान कत्ति उचित छ ? तपाईँले त तिनलाई स्नेहपूर्वक उठाएर वा कतै पुर्याएर सहयोग पो गर्नुपर्छ ।

भीमले खुट्टा उचालेर यसो हेर्यो र देख्यो उही छुसी बाँदर । महाबली भीम जस्तो व्यक्ति हिँड्ने बाटोमा बारम्बार आएर रोक्ने छेक्ने उही छुसी बाँदर रहेछ । उसलाई देख्नासाथ नै भीमलाई झनक्क रिस उठेको थियो भने उसको कुराले झन खपी नसक्नु भयो । त्यसपछि त उसले पुच्छरमै पर्ने गरी पाइला टेक्यो । सके उसले नाघेर जान खोजेको पाइलालाई रोकेर झन जानीजानी पुच्छरमै पर्नेगरी कुल्च्यो । भीम जस्तो बलिष्ठ व्यक्तिले कुल्चेपछि पुच्छरको के हाल भयो होला ।

– तँ पुच्छर समेत हटाउन नसक्ने बाँदरले मेरो बाटो छेकेर बसिरहने ? त्यति मात्र होइन प्रत्येक पटक म तिम्रो छुसी पुच्छर हटाउँदै हिँडूँ ! फेरि तँ मर्न लागेको बाँदरलाई पुच्छरको के काम ! , यति भनेर भीम पिच्च थुकेर आफ्नो बाटो लाग्यो ।

हनुमानले केही गर्न सकेनन् । उनले रोक्दारोक्दै पनि भीम उसलाई मुखभरिको जवाफ दिएर गयो । उपेक्षापूर्वक उसको पुच्छर कुल्चेर गयो । भीमसेनको गर्व चकनाचुर पार्न बसेको हनुमानको आफ्नै व्यक्तित्व गल्र्याम्म ढल्यो । विचरा हनुमानले न भीमलाई रोक्न सके न त आफ्नो दैवी शक्ति नै देखाउन समर्थ भए । यति मात्र होइन भीमले कुल्चेर जाँदा पनि उनले आफ्नो पुच्छरको बचाव गर्न सकेनन् ।

यथार्थमा हनुमान अब वृद्घ र अशक्त भइसकेको थियो । उनीसित तन्नेरी जोश मात्र होइन आफूसित अपार शक्ति भएको सत्यबोध गराइदिने ‘जाम्वुवानहरु’ पनि रहेनन् ।

००