प्रिय मान्छे – ४

 

संजीव कार्की

 

प्रिय मान्छे,
मान्छे, मान्छेसंग रिसाउछ अझ रोचक पक्ष के हो भने उसलाई रिसाउन आफन्त चाहिन्छ एकदम निकट मान्छे चाहिन्छ । बाह्य र पराइमान्छेसंग रिसाउने कारण र आधार हुँदैन पनि । त्यसैले हामी कहिलेकाही नमज्जाले रिसाउछौ नि हैन र ?

 

जो संग कारण हुन्छ उसैसंग हो रिसाउने, बिमती राख्ने । आफुले चाहेको बस्तु हासिल नहुदा या नचाहेको कुरा आइलाग्दा हामीमा रिस रुपी उर्जा जागृत हुन्छ । तब हामी बेद पढेको छु भनेर बस्दैनौ । नकारात्मक प्रतिक्रिया गर्न हतारिन्छौ । जसले अन्तत: हानी आफैलाई गर्छ ।

 

मान्छे सबैभन्दा बढी भरोसा र आशा गरेको ईश्वरसंग पनि रिसाउछ । तिम्रो र मेरो असमझदारी भनेको पनि आफ्नो हुनुको अर्थमा हो, विश्वास गरेको मान्छेसंगको स्वाभाविक मानविय कमजोरी हो । तसर्थ हामी इखिएर बस्नु ठिक छैन ।

 

प्रिय मान्छे ,

नित्सेले त्यो बेला ईश्वरसंग रिसाएर ईश्वर मरेको घोषणा गरेका थिए । नित्सेले पनि ईश्वर मरेको घोषणा गरे तर मरेको प्रमाण पुर्याउन सकेनन् । मरेको प्रमाण पुग्दैन, छैन र हुँदैन भने ईश्वर जिवितै छन् । केवल आवेग, आक्रोशमा पोखेको रिसको अभिव्यक्ति हो त्यो । त्यसैले रिसाउदैमा सबै गुण भुलेर बस्नु हुन्न बरु रिस मरीसकेपछि फकाउन थाल्नुपर्छ, किनकी जुन घाम झै आयु लिएर कोही आएको हुन्न । आज छ मान्छे भोलि नरहन सक्छ ।

 

प्रिय मान्छे ,

सर्वप्रथम प्रात: कालमा ईश्वरलाई संझिदा हाम्रो जीवन उर्जाले भरीभराउ, थप मर्यादित, ब्यबस्थित ,अनुशासित र सकारात्मक बन्छ, हुन्छ भने हामीले ईश्वर किन नसम्झने, आफुले गरेका गलत कुराको पस्चाताप ईश्वर सम्झेर किन नसुनाउने ? हामी पनि आ आफ्ना भुल ईश्वरलाई सुनाएर प्रायश्चित गरौ है ?

 

बेद पढ्ने मान्छे पनि रिसाउछ । साधु सन्त रिसाएको पनि प्रसस्त उदाहरण छन । हामी त सामान्य मान्छे रिसलाई काबुमा राख्न सक्तैनौ । मान्छे रिसायो भन्दैमा फकाउन छोडनु चै मुर्खता हो । किनकि रिसाउने भनेका नै आफ्ना र आफन्त हुन । आफ्नाले आफन्तलाई फकाउदा के फरक पर्यो र ? अकारण कोही रिसाउदा पनि रिसाउदैनन । गलत गराइ र गलत बुझाइ दुवै सच्याउन सकिने विषय हुन । तिम्रो हाम्रो असमझदारी पनि त्यति ठूलो वैर भाव र शत्रुतापुर्ण होइन क्षणिक आवेग हो उत्तेजना हो जसलाई तत्काल तत्क्षण हामीले रोक्न सकेनौ र बिथोलियौ । एकले अर्कोलाई शत्रु देख्न पुग्यौं । हामीले कम्तीमा एक अर्काको मन त माझ्यौ जसले आगामी दिनमा त्यस्ता मिस अन्डस्टयाडिङ हुनबाट हामी वच्न सक्छौ, जोगिन सक्छौ सतर्क र सचेत रहन्छौ ।

 

प्रिय मान्छे,

तिमीलाई थाहा छ हामीले जतिसुकै सिद्धान्त र आदर्शमा नारी पुरुष बराबर भने पनि प्रकृतिले त्यो स्वीकार गरेको छैन, फरक भुमिका फरक, फरक प्राकृतिक वनावट र फरक फरक क्षमताको असमानता दिएर पठाएको छ । सृष्टिको लागि यो ग्राह्य र स्वभाविक भए पनि हामी मानवले सृजना गरेका असमानताको व्यबहारले हामी नारीपुरुशबिच कता कता तुश उमारेको छ, इगो जन्माएको छ यहि तुश र इगोको शिकार हामी भएको हौ । जुन सत्य तिमी स्वीकार म स्विकार्छु हाम्रो अभिमान सकिन्छ ।

 

प्रिय मान्छे,

प्रकृतिको असमान वितरण संगैसंगै सांस्कृतिक, लैङ्गिक र जातीय विभेदले पनि हाम्रो सामाजिकता उजागर गर्छ । उस्तै कमजोरीमा पनि समाजले नारी र पुरुषलाई भिन्न भिन्न नजरले हेर्छ । पुरुषको कमजोरी ढाक्न उसको मर्दपन, खान्दान, जात अनि परम्पराको बर्को ओढाईन्छ भने महिलाको हकमा ठिक उल्टो आक्षेप लगाएर वस्त्र बिहिन बनाईन्छ । चरित्रहिनको पगरी गुथाइन्छ । सत्य के हो भने सांस्कृतिक विचलन पुरुष मात्रै र महिला मात्रैको एक्ला एक्लै प्रयासले सम्भव छैन । चरीत्रहिन हुनुको परिपुरक नारी पुरुष बराबर हुन । एक दोश्रोको अनुपस्थितिमा चरीत्रच्युत हुने आधार र कारण बन्दैन । तसर्थ प्रकृतिको निर्दयी सत्य संगसंगै मानवीय एकांकी सोच पनि विभेदमुक्त छैन ! जसलाई बदल्ने आँट र धैर्यता नवीन पुस्तासंग भएन, हामीले त्यो आंट र विवेक पुर्याउन नसक्दा अर्को पुस्तासंग पनि यहि गुनासो बाँकी रहन्छ ।

 

प्रिय मान्छे,

हामीले परिवर्तन गर्नुपर्ने हाम्रो सामाजिकीकरणको प्रोसेस हो । हाम्रो समाजले छोराछोरीमा वच्चै देखि विभेद गरेर संस्कार दिएको छ, ग्रुमिङ गरेको छ । छोरा मान्छेलाई सामाजिकीकरण गर्दै एग्रेशिभ, डोमिनेटिङ र अरूलाई आफ्नो बसमा राख्न सक्ने, कज्याउन सक्ने हाटहुट गर्न सक्ने हुनुपर्छ भन्ने सिकाइन्छ। भने छोरीमान्छेलाई यसको ठिक विपरित सधै आज्ञाकारी र अनुशासनमा रहनु पर्ने, कुनै कुराको पनि हत्तपत्त प्रतिवाद गर्न नहुने कुरा सिकाइन्छ । यहि बिभेदयुक्त सामाजिकिकरणको दुश्प्रभाव ममा पनि छ । पुरुष हुनुको अहम ममा छ नारी हुनुको हिनता तिमीमा छ, यदाकदा नचाहदा नचाह्दै प्रकट हुन्छ जसको म आत्मालोचना गर्छु नै तिमी पनि समिक्षा गर । र अर्को कुरा हाम्रो सामाजिकिकरणको अभ्यासलाई मैले तिमीले र हामीले घरबाट नै सच्याएनौ भने हाम्रा सन्तानले लिने शिक्षाको पाठयक्रमामा परिस्स्कार र परिमार्जन गरेनौ भने हाम्रो नियति आज जे छ भावि सन्ततिको लागि पनि यो नहोला भन्न सकिन्न्न ।

 

प्रिय मान्छे,

मैले गरेको स्नेह र प्रेममा स्वार्थ नहोला त म भन्न सक्दिन स्वार्थ नभएको चिज, आकर्षण नभएको बस्तु सायद हुन्न पनि । मेरो स्वार्थमा पनि नकुनै हारको सबाल छ नजितको रबाफ र जबाफ केवल छ निरन्तर लगाव र समर्पण जेहोस म तिमीसग बेहिसाब सम्मोहित छु । तिम्रो निशब्दतामा अर्थ भेटछु, उपेक्षामा अविरल आकर्षण ।