बाँदरको हातमा के छ ?
बाँदरको हातमा नरिवल छैन । त्यसको ठाउँमा आँप, केरा, स्याउ अथवा रड, सिमेन्ट, ढुङ्गा, इँटा, बम, बन्दूक, ग्रिनेड, ब्रिफकेश आदिइत्यादि पर्यो भने के हुन्छ ?
-ध्रुव मधिकर्मी
एउटा उखान छ, बाँदरको हातमा नरिवल ।
यस्तो उखान किन बन्यो ? कसले बनायो ? थाहा छैन । तर बनाउनेले धेरै थोक सोचेर नै बनाएको होला । नत्र यत्रोविधि किन चल्थ्यो यो उखान । बाँदरको हातमा नरिवल जस्तै भालुको हातमा मकै, बाघको पञ्जामा हरिण, सार्कीको हातमा जुत्ता या छाला, लेखकको हातमा कलम, सिपाहीको हातमा बन्दूक, कलाकारको हातमा कुची, नेताको हातमा मुलुक या यस्तै अर्थोक भनेर आदिइत्यादि उखान किन बनाइएन ? बाँदरको हातमा नरिवल मात्रै किन उखान बन्यो ?
बाँदरको हातमा नरिवल भयो भने के हुन्छ ? के थाहा ? कहिले देखेको भए पो, यस्तो हुन्छ भनेर भन्न सकिन्छ । अनुमान गरेर भन्ने हो भने बाँदरको हातमा नरिवल भए उसले नरिवल खाइदेला । खान नसके फ्याँकिदेला । अरु क्े गर्ला ? आफूले खान नसके अरु कसैलाई खान्छौ कि भनेर त सोध्ने बाँदरको प्रवृत्तिमै हुन्न । उल्टो लुटेर लिने, झम्टेर लिने, बिगार्ने त हो ।
००
जसको हातमा जे छ उसले त्यसलाई इच्छानुसार चलाउँछ, खेलाउँछ । कुनै नेताले आफ्नो पार्टीलाई विधानअनुसार भन्दा पनि आफ्नो विचार र इच्छा अनुसार चलाउँछ । हायर गर्नेले फायर पनि गर्छ । कुनै मन्त्रीलाई मन लाग्यो भने उसले कसैलाई कुनै संस्थानको जिएम या अध्यक्ष यस्तै केही बनाइदिन सक्छ भने मन परेन भने म्याद बाकी भए पनि एकैछिनमा हटाइदिन पनि सक्छ, घोक्रेठ्याक ख्वाइदिन सक्छ । म्याद बाँकी होस् या नहोस् । त्यसैले बाँदरको हातमा भएको नरिवललाई के गर्ने हो बाँदरको इच्छामा भर पर्छ ।
यहाँनिर शंका लागेको कुरा के हो भने बाँदरको हातमा नरिवल आयो कहाँबाट ? बाँदर आफैले टिपेको हो कि वा उसको हातमा कसैले जर्वजस्ती राखिदिएको हो ? बाँदरको हातमा नरिवल आयो भने के हुन्छ ? मलाई थाहा पाउन मन लाग्यो ।
मैले बाटोमा हिंडिरहेकी एउटी युवतीसित सोधें – बाँदरको हातमा कहिले नरिवल देख्नुभएको छ ?
दाइ, नरिवल त होइन बरु मैले बाँदरलाई कहिले झोला त कहिले पछ्यौरी पो तान्न आएको देख्या छु । त्यसैले मलाई त बाँदरको नाउँ लियो भने पनि असाध्य डर लाग्छ ।
त्यसैगरी स्कूल गइरहेको एउटा केटासंग सोधें – बाबु , तिमीले बाँदरको हातमा नरिवल देख्याछौ ?
अङ्कल नरिवल भन्या के हो ? के यो फुटबल भलिबल जस्तै खेल्ने चीज हो ?
यस्ता केटासित के सोध्नु भनेर एकजना किशोरसँग सोधें – भाइ बाँदरको हातमा कहिले नरिवल देख्याछ्यौ ?
दाइ, मैले त बाँदरलाई मदारीको इशारामा फ्रक र चुरा लाएर छमछम नाचिरहेको पो देख्या छु । बाँदर क्या मज्जासंग नाच्दोरहेछ ।, किशोरले भन्यो ।
कसैको नि जवाफ मलाई चित्तबुझ्दो लागेन । त्यसैले म एकजना बुद्धिजीवी मित्रकहाँ पुगें र सोधें – मित्र बाँदरको हातमा नरिवल भयो भने के हुन्छ ?
प्रश्न सुनेर मित्र गम्भीर भयो । मानौं मैले प्रश्न होइन उसको सामु कुनै जटिल समस्या प्रस्तुत गरें । बुद्धिजीवी न ठहरियो । कुनै युवती र किशोर थोरै हो र जस्तै विषयलाई पनि सामान्य र हलका रुपमा लिनलाई ।
बुद्धिजीवी मित्रको गम्भीरताले मलाइृ पनि लाग्यो प्रश्न त चानचुने छैन है । पुर्खाले पक्कै पनि ठूलै कसरत गरेर मात्र यो उखान बनाएको हुनुपर्छ ।
बुद्धिजीवी मित्रले भन्यो – मित्र मैले आजीवन बाँदरको हातमा नरिवल त देखेकै छैन । बरु अर्थोक देखें । होइन बाँदरको हातमा नरिवल नै हुन्छ भन्ने के छ ?
बुद्धिजीवी मित्रले उल्टै प्रश्न राख्यो । आखिर बुद्धिजीवी न हो । बाँदरको हातमा नरिवल नै हुनुपर्छ भन्ने के छ ? अर्थोक पनि त हुनसक्छ । जस्तै आँप, स्याउ, केरा आदि ।
कुरा ठीक हो । नरिवल नै हुनुपर्छ भन्ने के छ ?
त्यसो भए कल्पना गरौं । बाँदरको हातमा नरिवल छैन । त्यसको ठाउँमा आँप, केरा, स्याउ अथवा रड, सिमेन्ट, ढुङ्गा, इँटा, बम, बन्दूक, ग्रिनेड, ब्रिफकेश आदिइत्यादि पर्यो भने के हुन्छ ? खानेकुरा पर्यो भने त खाइदेला, तर अर्थोक पर्यो भने के हुन्छ ?
मित्र झन गम्भीर भयो ।
पहिलो कुरा त बाँदरको हातमा के छ भन्ने होइन । बाँदर त रुखमा मात्र चढ्दैन, घरघरको छाना र बरण्डामा पनि पुग्छ । भीरमा पनि ऊ मैदानमाझैं हिंडडुल गर्छ । त्यसैले मुख्य कुरा त बाँदर कहाँ छ ? त्यस’bout पो सोच्नुपर्छ ।
कुरा ठीक हो । भीरपहरालाई पनि सजिलै पार गर्ने बाँदरलाई सीमा पार गर्न गाहारो छैन । घरघरको छानामा पुग्न सक्ने बाँदर ढुकुटीमा नपुग्ने कुरै छैन । ढुकुटीमै पुग्नसक्ने भएपछि बाँदरको हातमा रुखमा फल्ने जाबो नरिवलको ’boutमा मात्र के सोच्नु !
बाँदरको हातमा ढुङ्गा छ र ऊ जुलुसमा हिंडिरहेको छ भने निश्चित छ उसले कुनै घरको शिशा ताक्छ, बाटोको पेटीमा रहेको बार भत्काउँछ । मसाल बोकेको छ भने टेलिफोन बुथ ताक्छ । लाठी बोकेको छ भने विरोधीको टाउको खोज्छ । बमग्रिनेड हातमा छ र बाँदर पुलबाट हिंडिरहेको छ भने पुलै उडाइदेला । बिजुलीगृहको बाटो भएर हिंडिरहेको छ भने बिजुलीगृह नै ध्वस्त पारिदेला । रिपिटर टावर देख्या छ भने टावरै उडाइदेला ।
यति मात्र होइन कुर्सीमा बसेको बाँदरले कुर्सी पनि कच्याककुचुक पार्छ । हातमा भएको नीतिनियम प्रशासन नै भताभुङ्ग र लथालिङ्ग पार्छ । सप्रेको उद्योग छ भने कुहाइदेला । त्यसैले कुनै चीज बिगार्नु भत्काउनु छ भने त्यसको जिम्मा बाँदरलाई दिनुपर्छ ।
अहिले मुलुकमा एकाएक बाँदरहरुको सङ्ख्या बढेको छ । बाँदरलाई हेर्न पहिला पशुपति र स्वयम्भू पुग्नुपथ्र्यो । अब त्यता जानै परेन । शहर बजारमा मान्छेको भीडमा मान्छेभन्दा बाँदरहरुकै सङ्ख्या बढी होला । मुलुकले धेरै थोक त आयात गरिरहेकै छ । अब त त्यसमा केही सङ्ख्या विदेशी बाँदरहरुको पनि थपिएको छ । त्यसैले अचेल बाँदरको हातमा नरिवल मात्र परिरहेको छैन, धेरै थोक परिरहेको छ र तिनका हातमा नीति नियम, प्रशासन, प्रजातन्त्र, गणतन्त्र , संविधान, सडक, व्यापारव्यवसाय, उद्योगधन्दा र जनताको भविष्य परिरहेको छ । त्यसैले बाँदरको हातमा नरिवल मात्र छैन, धेरै थोक परेको छ ।
००