उनको सम्झनामा एकछिन 

उनको सम्झनामा एकछिन 

 

अहोरात्र 
यिनै पाखा पखेरामा 
चार वर्ण छत्तीस जातको फूलबारीका लागि 
यौटा देश
फिरंगीबाट जोगाउन
ऊ हिड्यो हिडिरह्यो – अनवरत । 

 

अहँ ऊ झुकेन कत्ति झुकेन 
उपनिवेशका क्रुर तोपसंग
त्यसैले त सिन्धुलीगढ़िको 
कुइनेटोमा झण्डा कुरेर
तरवार उठाए पूर्खाले 
हात माग्दा उसैलाई साथ दिएर । 

 

सिङ्गो नेपाल बनाउन हिड्नै थियो 
ऊ नेपाली जगाउदै हिड्यो 
बाहिरका वैरीसंग लड्दै हिड्यो
वैरीका चर धपाउदै पनि हिड्यो 
मुलुकको निम्ति – शंख फुक्दै पनि हिड्यो
आई लाग्नेमाथि जाई लाग्दै पनि हिड्यो । 

 

अचेल कोही कोही 
जासूस जिसेप्पीलाई कुशको बाबु मानेर 
शत्रु सैनिक कर्कप्यात्रिकलाई गुरु थापेर 
तिनका सन्तानको जुठो पुरोको अमनले 
कुण्ठा ओकल्दै छन् 
घृणाले कुल्ला गर्दैछन् 
यही माटोमा । 

 

भाडाको बाबुको खोजीमा अल्मलिदै 
कति दिन गुजारा चलाउछौ
आफ्नै पुर्खा धिक्कारेर
त्यता हेर त – माटोमा अनि झण्डामा 
त्यहाँ आफ्नै पूर्खाको 
पशिना पनि छ र रगत पनि छ । 

 

ढालेका सालिक उठाउ त –
अलिकति देश उठ्छ
छरेका घृणा मेटायौ भने – 
अल्लि माथि समाज उठ्छ 
सिकाएको कुण्ठा मेटाएर त हेर – 
मन झन् कति माथि उठ्छ । 

(मोहन बन्जाडेको फेसबुकबाट)