नसोचेको खबर

 

होइन होला कल्पना मलाई छोडेर अर्कैसित कहाँ पोइल जान सक्छे र ? तिमीले अरु नै कोही ठिटीको कुरा सुनेको होलाउ ।

 

-ध्रुव मधिकर्मी

 

कल्पना पोइल गई ।

उसलाई यस्तो कुरा सुन्नुपर्ला भन्ने सपनामा पनि लागेको थिएन । ऊ आफ्नै धूनमा थियो त्यसैले उसले हरिको कुरामा त्यति वास्तै गरेन , अथवा भनूँ उसले त्यही बेला हरिको कुरा राम्ररी सुन्न सकेन । उसलाई कल्पनाको कुरा यति छिटै सुन्नुपर्ला भन्ने ख्यालै भएन । टोलमा बैंस चढेकी ठिटीहरु कुनै टिठोसंग लुसुक्क हिंड्छन् । बैंस चढेपछि आफैले छानेर पोइल जानु स्वाभाविक पनि हो । त्यसैले सुरुमा रमेशले त्यति ध्यान नदिएको हो । अरु नै कोही पोइल गएकी होला भन्ने लागेर आफ्नै सुरमा हिंडिरह्यो । कल्पना उसले मन पराएकी ठिटी हो । त्यससित उसको बिहेको कुरा पनि चलेको थियो । तर के कुरा नमिलेर त्यतिकै अड्किएको थियो । लमिले त हुन्छ धन्दै मान्नु पर्दैन भनेकी थिई । कल्पनाको बाउ पनि रमेशलाई ज्वाइँ बनाउन राजी छ भनेर उःबेलै लमितताले सुनाएकी थिई । त्यसैले रमेश कल्पनासित कसो बिहे नहोला भनेर एकप्रकारले ढुक्कसित बसेको थियो । मनमनै ऊ कल्पनासितको दाम्पत्य जीवनलाई कल्पनालोकमा उतार्दै थियो ।

अनि केमा तिमीहरुको कुरा नमिलेको त ?, हरिले सोध्यो ।
कोसित कुरा नमिलेको भनेर सोधेको ? , रमेशले केही नबुझेर हरिको अनुहारमा हे¥यो । उसको पछिल्लो प्रश्नले ऊ अलि सशंकित भयो ।

ऊ हरिसित ब्रम्हायणी मन्दिरमा साँझको हावा खान यसो घुम्न निस्केको थियो । कहिलेकाहीं ऊ फुर्सदमा यसरी शहरको पुछारसम्म आएर घुम्न निक्लन्छ । ब्रम्हायणी पारी उनीहरुको खेत छ । तर खेत हेर्नलाई होइन, जोडिएको खेतमा कोही छ कि भनेर बुझ्नलाई आउँछ । ब्रम्हायणी आसपासमा कोही भेटिएला कि भन्ने मनमा लागिरहन्छ । उसलाई कसैको अनुहार भेटियोस् भन्ने लागिरहन्छ । घुमेर फर्केपछि दत्तात्रयमा पुग्दा हरिले के सम्झेर हो कल्पना अर्कैसित पोइल गएकी कुरा सुनाएको थियो ।
हैन, कल्पनासित तिम्रो बिहेको कुरो चलेको भन्या होइन ?, सोध्यो हरिले ।

हो, किन सोधेको तिमीले यो कुरा ।, रमेशले सोध्यो ।
त्यही त तिमीहरुको कुरा केमा मिलेन भनेर सोधेको क्या ?

किन, कुरा चलिरहेको छ । होला होला जस्तो छ । अहिले नै त्यस्तो कुरा नमिलेको त केही छैन ।, रमेशले सहज रुपमा भन्यो ।

त्यसोभए कुरा कहाँ पुग्यो त ?, हरिले कोट्यायो ।

अहिलेसम्म त दुई पक्षमा कुरा मात्र चलेको हो । उनीहरुले दुलहीलाई सुन तीन तोला चाहिन्छ भन्यो रे । तर घरमा बाउले त्यति सुन त कहाँ दिन सकिन्छ रे भन्यो भनेर लमीतताले सुनाउँदै थिई । त्यसपछि के भो त्यो चाहिँ थाहा छैन । मैले बाउसित छिटो निर्णय गर्नपर्यो भनेर अस्ति नै सुनाइदिएको थिएँ, रमेशले वृत्तान्त सुनायो ।

बाउले मलाई तँ बढी जान्ने नहोउ हामीले हेरेर मिलाइहाल्छौं नि भनेका थिए त्यसैले म भइहाल्छ नि भनेर चुपो लागेको थिएँ क्या, उसले केही सम्झेर फेरि भन्यो ।

त्यति मात्र होइन होला है । नत्र ऊ किन कुरा चल्दै गर्दा पोइल गई त ?
को पोइल गई भनेको हँ ?, रमेश भने अब झसङ्ग भयो । उसलाई अझै विश्वास भएन । हरिचाले पोइल गई भनेर अरु कसैको कुरा पो गर्दैछ कि ? कतै अरु नै पोइल गएकी कुरा कल्पनाको प्रसङ्गमा गल्तीले पर्न गएको त होइन ?

कल्पना क्या कल्पना ।, हरिले जोड दिएर भन्यो ।

होइन होला कल्पना मलाई छोडेर अर्कैसित कहाँ पोइल जान सक्छे र ? तिमीले अरु नै कोही ठिटीको कुरा सुनेको होलाउ । कल्पना पनि मसित बिहे गर्न राजी छे भनेर मलाई लमितताले नै भनेकी ।

कल्पनाले पनि मसित भेट्दा हुन्छ भनेकी थिई ।

ए रमेश, तँ कुन दुनियाँमा छस् । मैले झूठ बोलेको जस्तो लाग्यो ? तिमीसित झूठो बोलेर मलाई के फाइदा ? मलाई पनि कहाँ थाहा थियो र ? हिजो दिलमाया दिदी घरमा आएकी थिइन् क्या । उनैले कल्पना पोइल गई भनेर सुनाएकी थिइन् । उनीहरुकै टोलको कुन चाहिं केटोसित रे ।

यति भनेपछि अब रमेहलाई विश्वास भयो । विश्वास गर्न कर नै लाग्यो । कल्पना साँच्चिकै पोइल गएकी हो । त्यसपछि रमेशलाई त्यहाँ उभिरहन असह्य भयो । यस्तो कुरा सुनाउने हरिलाई नै एक मुक्का दिउँ जस्तो भयानक रिस पनि उठ्यो । उसलाई आफैसित पनि रिस उठ्यो । यतिञ्जेल उसले के हेरेर बस्यो ? लमितताले सुन तीन तोला चाहिन्छ भन्या बेला लौ त भनेर खेत बेचेर भए पनि निर्णय गरेको भए आज यस्तो अवस्था आउने नै थिएन । तर अब के हुन सक्छ र ?

रमेश अब कल्पनाको आस छोड । लमिततालाई भनेर अर्की नै केटी खोज्न लगाऊ । उसको अर्कै केटोसित प्रेम चलिरहेको कुरा तिमीलाई नभनेर मात्र हो । नत्र टोलका सबैलाई थाहा थियो ।
हरि के के भन्दै थियो । तर रमेशको ध्यान उसको कुरामा छैन । उसको त सारा आकाश नै एकै छिनमा भताभुङ्ग भइसकेको थियो । खोलाको बाढी पसेर खेतको बाली एकैछिनमा सोत्तर पारे जसरी उसका आस पनि एकैछिनमा चकनाचुर भएको थियो । हरिले उसलाई साँझ पर्न लाग्यो घर जाउँ भन्दै थियो । तर उसलाई त्यो भयानक समाचार सुनेपछि घर होइन मसानमा गएर लडिबुडी गरेर क्वाँ क्वाँ रोउँ जस्तो लाग्यो ।

आफ्नो छातीमा मच्चिएको हाहाकारलाई कसरी शान्त पार्ने अब । उसको दिमागमा कसैले आगोको मुस्लो खन्याए जस्तो भयो । अर्कोतिर उसलाई आफूमाथि बेइमानी गर्नेहरुको घरमा आगो लगाइदिउँ जस्तो लाग्यो । उसले मन पराएकी केटीलाई लाने केटोलाई घोक्¥याएर सबका सामु यो त मेरो हुनेवाला जोई हो भनेर चिच्याउँ जस्तो पनि लाग्यो । केटीले नमानिकन केटोले त्यसै त लगेन होला । अब त उसलाई त्यो केटोसित होइन कल्पनासित पो उधुमै रिस उठ्यो । विहेको कुरा चलिरहँदा एकदिन गल्लीमा भेट हुँदा कल्पनाले उसैलाई हेरेर हाँस्दै भनेकी थिई रमेश दाइ मैले नाइँ भनेकी छैन । लमिततालाई सबै थाहा छ । यसको अर्थ उसैसित आउँछु भनेकी हो नि । लमितताले पनि त त्यस्तै भनेकी थिई । त्यहीबेला उसले मेरो अर्कै केटा छ भनेकी भए लमिततालाई अर्कै केटी खोज भनेर भन्न हुन्थ्यो ।

रमेश दत्तात्रयको पाटीमा पुग्दा लल्याकलुलुक भएर भुँइमै थ्याच्च बस्यो ।