तिर्खा र नियति

ऊ भक्कानो छोडेर रुन खोज्यो । अपशोच ! आँखाबाट न आँसु चुहाउन सक्यो न क्वाँ क्वाँ रुन नै सक्यो । आँखाको दहमा आँसु रित्तिएछ । पानीको अभावले घाँटी पनि ठ्याप्प अड्कियो । केवल भित्रभित्रै मुटु छियाछिया हुनेगरी रोइरह्यो । आमाको याद आउला भनेर त्यता नहेरी पुनः अगाडि हेर्यो ।

 

-ध्रुव मधिकर्मी

 

उसले एकछिनसम्म आफ्नी आमाको मृतवत् शरीर हेरिरह्यो । यस्तो तप्त घाममा समेत लाश एकदम चिसो थियो । तथा पानीको अभावमा पनि पेट डम्म फुलेको थियो । कस्तो विडम्बना ! उसले दुई थोपा आँसु तरक्क चुहायो।

टाउकोमाथि टण्टलापुर घाम परिरह्यो । चारैतिर उसले अपेक्षापूर्ण रुपले सरसरती आँखा फैलायो । पर– परसम्म बालुवा मात्र भरिएको मैदान पसारिएको थियो । कहीँ ओत लाग्ने ठाउँ देखिएन न कहीँ सुस्ताउन लायक कुनै थलो नै देखियो । फलाम पगाल्लाजस्तो घाम । तैपनि बालुवा पग्लेको होइन । उसलाई तिर्खा लागेर आयो । घाँटी प्याकप्याकती सुक्न थाल्यो । उसकी आमा पनि यस्तै पीडा र अतृप्तिले छट्पटिएर अकालमै मरेकी थिइन् ।

अब त्यसरी मर्ने पालो उसको ।

त्यो क्रूर नियतिलाई उसले बाध्यतावश नभोगी सुखै छैन । सम्झेर ऊ कहालियो । आँखासामु मृत्युका भयावह आशंकाहरु नराम्रोसँग सल्बलाउन थाले ।

उसको आशातीत आँखाले केही पर पानीको थलो देख्यो । त्यो घाममा चम्चम् चम्किरहेको थियो । यो देखेर खुशीले उसको अनुहार धपक्क बल्ला जस्तो भयो । केही क्षणको लागि आफ्नो पीडा समेत याद रहेन । ऊ त्यहाँ पुग्न हतारियो । एक मनले आमाको लाश छोडेर जान मन लागेन । तर अर्को मनले बिचा¥यो । यस्तो प्रचण्ड घाम कति बेर सहेर बस्ने .. पानी खाएर छिटो फर्कनु पर्ला ।

ऊ विस्तार दौडंदै पानी देखेको ठाउँमा पुग्यो । त्यहाँ पुगेर जुन घटना उसले भोग्नुप¥यो , त्यसले उसलाई निकै निराश र हताश बनायो । एकछिन विमूढ पनि तुल्यायो । वास्तवमा पानी त्यहाँ थिएन । अझ अलि पर थियो । उसले चिटछिट पसिना काढ्यो । घामले शरीर लगभग कक्रक्क परिसकेको थियो । घाँटीदेखि सरेर तिर्खा सग्लो शरीरमा फैलियो ।

००

पानीको थलो पर छ र जाऊँ कि नजाऊँ भयो । भ्रममा उसले टाढालाई नजिक देखेछ । त्यहाँबाट पनि फेरि पर जानुपर्ने त होइन ? त्यहाँ जानुअघि एकचोटि फर्केर हेर्यो – लाश पूर्ववत् उही ठाउँमा छ । पानीको थलोसम्म भ्याएर आउने विचार ग¥यो । आखिर तिर्खा पनि त मेटाउनु पर्यो ।

ऊ छिटोछिटा् दौडेर जान खोज्यो । तर थकाइले ऊ निकै गलिसकेको थियो । मनले त अगि नै त्यहाँ पुगेर पानीको तिर्खा समेत मेटेर भित्रदेखि सियाँल तापेको महसुस गरिसकेको थियो । तर यथार्थ नितान्त भयावह र विरुपाक्ष रहेछ ।

उफ तिर्खा !

गाह्रो मान्दै आफैलाई ऊ ठेल्दै लग्यो । एकदम छिटो दौड्न सक्ने खुट्टा आज नपत्याउँदो किसिमले सुस्तरी हिंडिरहेछ । हिंड्दा हिंड्दै पानीको थलो पनि पर– पर सरेजस्तो अनुभूति हुँदाहुँदै पनि उसले आफ्नो विश्वास भाँच्चिने डरले त्यसलाई सम्झन चाहेन । वास्तविकता र भ्रमतर्फ ध्यानै नदिई ऊ सकभर छिटो त्यहाँ पुगेर आँखै नहेरी अर्थात् सन्तोषको सास फेर्दै थुतुनो पानीमा डुबायो । अब पानी गुमाउने छैन ।

आत्था !

आगोमा शरीरको कुनै अङ्ग पर्दा जस्तो च्वास्स पोलेको अनुभव तत्काल भयो । झस्कंदै आँखा खोलेर हे¥यो । त्यो कहाँ पानी थियो र ! भतभती पोल्ने आगो पो थियो । पानीको भ्रममा उसले तप्त बालुवामा पो मुख गाडेको रहेछ । उसले सोच्यो – तब पानी कहाँ त ? कि तिर्खाको बशीभूत भएर उसले आँखै देखेन ?

००

 

उसले फेरि पर देख्यो पानीको सानोतिनो सागर । ऊ फेरि मन नलागी– नलागी कछुवाजस्तो हिंड्न खोजिरह्यो ।
जे गरेर भए पनि तिर्खा मेटाउनु छ । तर उसमा भने शक्ति शुन्य हुँदै छ । फेरि पनि पानी पर पर सरेजस्तो भइरह्यो । अहिले भने पानी अलि धमिलिन शुरु भयो ।

कहिले आउँछ त्यो ठाउँ ? ऊ निराश झैं भयो ।

के त्यो पानी होइन ? उसले सोच्यो ।

उसले आमाको लाश सम्झ्यो र फर्केर हेर्यो । त्यहाँ आमाको लाशको कुनै नामनिसान भेटिएन । निकै पर पुगिसकेको रहेछ ऊ पानीको खोजमा । केही क्षण ऊ त्यसै टक्क उभिरह्यो । एक मनले त जाबो पानी नै नखाऊँ जस्तो लाग्यो । फेरि त्यहाँसम्म पुग्दा नपुग्दै शायद उसको पनि अन्तिम अवस्था नआउला भन्ने के बेर ! अथवा अँध्यारो बाक्लिएर ढपक्क ढाक्न बेर छैन । उता आमाको लाश चील गिद्धहरुले चोक्टा– चोक्टा पारेर लुछिर हेका होलान् । कतै फालिएको वेवारिस लाशजस्तै । ऊ स्वयंले काँध दिन सकेको छैन ।

कठै आमाको नियति !

ऊ भक्कानो छोडेर रुन खोज्यो । अपशोच ! आँखाबाट न आँसु चुहाउन सक्यो न क्वाँ क्वाँ रुन नै सक्यो । आँखाको दहमा आँसु रित्तिएछ । पानीको अभावले घाँटी पनि ठ्याप्प अड्कियो । केवल भित्रभित्रै मुटु छियाछिया हुनेगरी रोइरह्यो । आमाको याद आउला भनेर त्यता नहेरी पुनः अगाडि हेर्यो ।

घाम अस्ताउन मात्र बाँकी छ । घामको चौथाइ अनुहारले दृश्य धमिलिंदै छ । पानी सुक्दै छ । शक्ति शेष भएकोले अब घस्रेर हिंड्नु बाहेक अरु विकल्प रहेन । ऊ त्यहाँ पुग्नु अगावै घाम डुब्यो भने त, पानी कहाँ छ देख्नै सकिंदैन । तब रातको निष्पट्ट अँध्यारोमा कहाँ भौंतारिइरहने ? चिन्ताले ग्रस्त भई सूर्यमाथि दृष्टिपात ग¥यो । सूर्य डुब्ला डुब्ला भइसक्यो ।

– एकछिन पख घामदेवता । मलाई पानीको थलोमा पु¥याएपछि मात्र डुब … , उसले सकीनसकी दयनीय अनुरोध बिसायो ।

सुनेर सूर्यले रातो अनुहार पार्यो रातको घुम्टोमा आफूलाई लुकाइहाल्यो ।

ऊ साह्रै निराश भयो र चुपचाप निश्चेष्ट भई पल्टिरह्यो ।

००

दिन बदलियो । उस्तै अर्को बिहान पनि शुरु भयो । समय संगसंगै उसको नियति पनि शुरु भयो । बालुवाको उही अनन्त भूमि …सूर्यको उही प्रचण्ड ताप …पानीको उही सुनौलो भ्रम …र उसको उही नियतिको पुनरावृत्ति ….।

००