कथा :भीडमा

कागले कान लग्यो दाइ, एउटा किशोरले अगाडि सरेर रहस्यात्मक पाराले भन्यो । मानौं उसले गम्भीरतम विषय सुनाउँदै थियो । धत् यस्तो पनि कहीँ हुन्छ ! पहिला आफ्नो कान पो छाम्नुपर्छ , मैले बुजुर्ग भएर सल्लाह दिएँ । ल दाइ, मैले नै देखेको, यति भनेर किशोर हुँइकिहाल्यो ।

 

 

 

ध्रुव मधिकर्मी

 

यति बेला केही मान्छेहरु हा…हा.. र हु. .हु.. गर्दै आए । ती मान्छेहरु जहाँ जहाँ पाइलाहरु परे त्यहाँ त्यहाँ अन्धाधुन्ध कुद्न थाले । आफ्नो बाटो कुन हो र कुन बाटोमा जानुपर्ने हो त्यसको ख्याल नगरी पाइला जहाँ प¥यो त्यतै दौड्न थाले । एउटाको पछाडि अर्को कुद्या छ, आर्कोलाई उछिन्न अर्को जोड लगाउँदैछ । कोही कर्होलाई उछिन्न छल्दै र धकेल्दै छ । कोही पख न, के हो पहिला बुझौंं भन्दैछ भने कोही ए छिटो दौडौं नभेटिएला है भन्दैछ ।

 

त्यसै पनि यो भत्केबिग्रेको बाटो अलि अलि व्यस्त थियो । त्यसमाथि अर्को हुल थपिएपछि भीडभाड हुने नै भयो । परिस्थिति अलि अलि अशान्त छँदै थियो त्यसमाथि झन् कोलाहल थपियो ।

मैले केही बुझिनँ । म आफै अन्योलग्रस्त थिएँ । अर्को अन्योल र अनाहक बोझ थपिए जस्तो लाग्यो । साथै अलि अचम्म पनि लाग्यो । एकाएक यो के उपलक्ष्यको अव्यवस्थित दौड हो भन्ने नबुझेर । मैले दौडिरहेको एक जनासिन सोधें – ए भाइ, के को कुदाकुद हो यो ?
त्यो भाइलाई शायद मेरो प्रश्न सुन्ने फुर्सद थिएन वा प्रश्नसित उसको कुनै सरोकार भएन । प्रश्न सकिउँजेल ऊ पर पुगिसकेको थियो ।

 

अव्यवस्थित भीडमा तरुण, किशोर र अधवैंशेहरु थुप्रै थिए । तिनका अनुहार स्पष्ट थिएनन् तर उमेर भने अनुमान गर्न सकिन्थ्यो । एकजना अधवैंशेलाई लक्ष्य गर्दै सोधें – किन यसरी सकिनसकी कुद्नुभएको ?
अधवैंशे कुदाकुद कम तर स्वाँ स्वाँ बढ्ता गरिरहेको थियो ।
उ ः क्या देख्नुभएन ? यसो भन्यो तर उसले कहीँ केही देखाएन । ऊ स्वाँ सवँ गर्दै दम निकाल्न मै बढी समय खर्चिरहेको थियो । उसको संकेत कतापट्टि थियो भेउ पाउन गाहारो थियो ।
त्यही नदेखेर पो सोधेको !, मैले भनें ।
उ ः क्या त अगाडि त्यत्रा मान्छेहरुले लखेटिरहेको देख्नुभएन ?
त्यो त देखें तर कसलाई किन लखेट्दै छन् ? यो पो देखिनँ त ।, मैले भनें ।
उ ः क्या कागलाई लखेटिरहेको देख्नुभएन ?, एउटा किशोरले औंलो सोझ्याएर भन्यो ।
उसले औंलो सोझ्याएतिर मैले हेरें । आकाश रित्तो थियो – बादलहीन । अलि पर कावा खाँदै उडिरेहका केही चराचुरुङ्गीहरु पनि देखिन्थे । आकाशमा त्यस्तो हेर्नुपर्ने वा हेरेर केही भयो भन्ने खालको कुनै दृश्य गोचर थिएन । सामान्य थियो । त्यसैमा शायद काग पनि होला । दृश्य पर थियो, त्यसैले मैले घोरिएर हेरिनँ ।

मलाई छक्क लाग्यो, कागलाई किन लखेट्ने ! के मान्छेहरुले कुनै काम पाएनन् वा अब लखेट्नलाई के काग मात्र बाँकी रह्यो ! फेरि कागलाई लखेटेर पाइने के ? फेरि आकाशमा उडिरहेको कागलाई कहाँसम्म लखेटिरहने ? कागलाई नसमाएसम्म लखेटिरहने हो कि ? कागलाई भगाउना लखेट्ने हो भने एउटा ल्ठी लिएर हा हा गरे पुग्छ, काग भागिहाल्छ । यसरी सयौं मान्छेहरु होहल्ला गर्दै कागलाई लखेटिरहनै पर्दैन । जाबो एउटा कागलाई लखेट्न यतिका जनश्रम खेर फाल्नु पर्ने किन ! यो जनश्रम त कागलाई लखेट्न भन्दा बरु अभाव गरीवी भोक रोगलाई लखेट्न लगाए कति राम्रो हुन्थ्यो । यही भत्केबिग्रैको बाटो जहाँ हजारौं मान्छेहरु ओहोरदोहोर गरिरहनुपर्छ यसैलाई स्याहार सम्हार गरे हुन्थ्यो । तर अनाहकमा कागलाई लखेटिरहेछन् ।
कारण के हो भाइ ?, मैले फेरि एउटा तरुणसँग सोधें । भीडमा किशोर र युवकहरुको संख्या अलि बढी थियो । किशोर तथा युवकहरुहरु अरु भन्दा अलि बडो मनोयोगपूर्वक उत्साहका साथ काग धपाउन जोड लगाइरहेका छन् ।
कागले कान लग्यो दाइ, एउटा किशोरले अगाडि सरेर रहस्यात्मक पाराले भन्यो । मानौं उसले गम्भीरतम विषय सुनाउँदै थियो ।
धत् यस्तो पनि कहीँ हुन्छ ! पहिला आफ्नो कान पो छाम्नुपर्छ , मैले बुजुर्ग भएर सल्लाह दिएँ ।
ल दाइ, मैले नै देखेको, यति भनेर किशोर हुँइकिहाल्यो ।
तपाई पेटीमा उभेर कहाँ सवालजवाफ गरिरहनुभएको । आउनोस् , तपाई पनि कुद्नोस् अनि थाहा पाइहाल्नुहुन्छ नि , एउटा महानुभावले सल्लाह दियो ।
म उसलाई पहिला कुरा त राम्ररी बुझांैं अनि पो के गर्ने हो गरुँला भन्ने जवाफ दिन खोज्दै थिएँ । त्यो महानुभाव मेरो कुरै नसुनी भीडमा कुदेर एकैछिनमा अलप भयो । त्यसलाई पनि शायद सत्यतथ्य केलाउने खासै चासो थिएन । आफूले सुनेको सुनाउने अभ्यास मात्र थियो ।
हैन, यो कुदाकुद किन ! मैले फेरि पनि पेटीमा उभिएर सोचें । जाबो एउटा कागको पछि पछि कुद्नुपर्ने त्यस्तो के आइलाग्यो । तर सोध्नलाई कोही उपयुक्त व्यक्ति देखिनँ । सबै जना कुनै महान र महत्तम कार्यमा व्यस्त झैं देखिन्थे । भीडमा अन्धाधुन्ध कुद्नेहरुले मलाई पनि आमन्त्रण गर्दै थिए । कागलाई लखेट्ने महान काममा साथ दिन सहयोग खोज्दै थिए । तर म भने कुरा नबुझी भीडमा मिसिन अनकनाउँदै थिएँ । मलाई कता कता अप्ठ्यारो पनि लाग्यो । तर कतिपय मान्छेहरु समय कटनी र जिज्ञासाहीन भएर भीडमा कुद्दै थिए । रमाइलोका लागि पनि कति मान्छेहरु दोडंदै थिए ।
म झनै अलमल्ल परिरहें ।

 

यसैबीच एकजना परिचित भद्र व्यक्ति हात हल्लाउँदै आइपुगे । तिनलाई देखेपछि लाग्यो कुरा सानोतिनो नभइ अलिक गम्भीर नै हुनुपर्छ भन्ने लाग्यो । नत्र विनसित्ति यतिका मान्छे किन मूर्ख हुन्थे । कुरो गम्भीर नभइदिएको भए यी भद्रव्यक्ति किन हस्याङ्गभस्याङ्ग गर्दै कुदेर आउँथे । पक्कै पनि कुरो गहिरो छ , अर्थपूर्ण छ ।
तिनले मलाई देख्नासाथ भने – बन्धु , यस्तो बेला किन अलग बस्या ? तमासा हेर्नै बेला हैन यो । छिटो कुदौं नत्र पछि परिएला ।
उनको कुराले हामी जस्ता व्यक्ति भीडमा सबभन्दा अगाडि हुनुपथ्र्यो । अझ सके कागभन्दा पनि अगाडि हुनुपथ्र्यो । तिनको ध्यान वा जोड पनि अरुको अगाडि आफू पछि परिएला भन्नेमा थियो । अतः भीडको लहलहैमा दौडिरहेका रहेछन् ।
कहाँ कुद्ने !, मैले त्यही जिज्ञासा उनीसामु पनि राखें ।
कुद्दै गरौं , बाटोमा भनुँला, उनी कुद्न हतारिए ।
बन्धु कुद्नुको कारण त बुझौं, अप्ठ्यारो लागेर मैले कर गरें ।
यार मलाई पनि पूरा कहाँ थाहा छ र ! कागले कान लग्या छ रे क्या ! अब यस्तोमा कान फिर्ता ल्याउनुपरेन ? त्यो पनि सानोतिनो मान्छेको कान हो र ठूलै मान्छेको कान लग्या रे के !, उनले बडो गम्भीर र रहस्यात्मक पारामा सुनाए ।
अब भने मलाई साँच्चै कुरो सोचे भन्दा गम्भीर लाग्यो । उनको कुराले म दिग्भ्रमित झैं भएँ । नपत्याउँ भन्दाभन्दै पनि ती भद्र व्यक्तिका कारणले साँच्चिकै नै कागले कान लग्या हो कि भन्ने आंशिक पत्यार लाग्न थाल्यो । तैपनि सचेत त म थिएँ नै । सत्यतथ्यप्रति अलिकति भए पनि जागरुक थिएँ नै ।
बन्धु मूर्ख कुरा नगर न, कागले कहाँ कान लग्नु ! लगेकै भए पनि पहिला आफ्नो कान त छाम्नुप¥यो नि , मैले त्यसको भ्रम तोड्न खोजेंं ।
यार यतिका मान्छे कुदेका छन् त्यसै त कुद्दैनन् नि । फेरि तिम्रो मेरो नलगे पनि कसै न कसैको त पक्कै लगेको होला, अरुको लग्छ भने एकदिन तिम्रो मेरो पनि नलग्ला भन्ने के छ !, उनी तर्क गर्दै मलाई तान्न थाले ।
अरु मूर्ख बने भन्दैमा हामी किन मूर्ख हुने ? यस्तो मुर्खता छाडौंं । बरु हामी अर्कै बाटो लागौं, भन्दै थिएँ म ।
उनले मेरो कुरा सुन्दै सुनेनन् । शायद उनी भीडबाट सम्मोहित थिए । अज्ञात मनोदशाबाट उत्तेजित थिए । भीडमा मिसिन लालायित उनलाई मैले आफूतिर तान्न के खोजें उल्टो उनैले पो मैले भन्दा अगाडि मलाई तानेर हुलमा घुसाइहाले । भीडमा धकेलिएपछि नकुदी सुखै भएन । नत्र भीडले ठेलेर पेलेर लडाउन बेर छैन । म कागको पछिपछि दौडन इच्छुक थिइनँ तर आफ्नो ज्यान बचाउनका लागि पनि अब मैले भीडमा नकुदी सुखै भएन र कागलाई पछ्याउन करै लाग्यो ।