कालो बाकस

म केही बोलिन, तर मसंग जग्गा जमीन थिएन, यही बाकस मात्र थियो । मैले बाकस फोर्ने विचार गरें । बाकसमा प्रशस्त धन भेटियो भने त्यसैको आडमा बिहा गर्ने विचार थियो मेरो । मैले एकजना तान्त्रिक र एकजना पण्डित बोलाएर जे जे प्रायश्चित्त र पूजा गर्नु पर्ने हो सवै गरेर उनीहरुलाई बिदा गरें । उनीहरु गएपछि मैले बाकसको साँचो फोरें, तर आश्चर्य !      

 

-भागवत खनाल  

 

दिवाकर बिक्रम बस्नेत रेस्टुरेन्टको पर कुनामा बसेर खुकुरी रम पिउँदै छ । साँझ साढे पाँच बजेको बज्यो, पुसको छोटो दिन झमक्क अँध्यारो भइसक्यो । आज अलि रात परेपछि घर जानुपर्छ, बा सुतेपछि मात्र । बाबै नौ नबजी सुत्न जाँदैनन, सुतेपछि पनि झट्ट निदाउने हैन । अझै चार घण्टा यतै बिताउनु पर्छ दिवाकरले । उसका बा सतासी वर्ष पुगे, ऊ आफै पचपन्न पुगिसक्यो । उसले मनमनै सोच्यो – मलाई अझै पनि बासित डर लाग्छ, लाज लाग्छ, गाली खाइएला कि, बाले मन दुखाउनुहुन्छ कि भनेर सतर्क रहन्छु । तर के गर्नु मेरो छोरो विलास बिक्रम बल्ल तेइसको भयो, न मसंग डराउँछ , नत लाज मान्छ ।

 

दिवाकरका बाजे शोभाखर बस्नेत बहादुर शमशेरको दरवारमा हुक्के थिए । शोभाखर भर्खर सत्र टेक्दै थिए, बाबुले भारतीय सेनामा पठाउने विचार गरेछन । यस्तैमा काठमाडौँतिर जागिर खाएर बस्ने बोधराज खरदार केही दिनको छुट्टीमा गाउँमा आइपुगे । उनले शोभाखरका बाबुलाई भनेका थिए – ए बस्नेत जेठा, छोरालाई नेपाल पठाउँछस त ? दुईवर्ष मसित बसेर काम सिक्छ, अनि दरवार छिराइदिन्छु । जेठाले भनेका थिए – मैले त उता कुँडाघाट पठाउने विचार गरेको छु त खरदार बाजे । धेरै केटाहरु उतै छन, शोभे पनि उतै जान्छु भन्छ । खरदार बाजेले भनेका थिए – म गर्छु दरवारका कुरा तँ गर्छस तरवारका कुरा । कहाँ राणाजीको चाकरी, कहाँ फिरंगीको सिपाही । मलाई जर्सावले पाल्पातिरका क्षेत्री केटा सोझा र इमान्दार हुन्छन रे, लौ न बाजे एक दुईजना केटा खोजेर ल्याऊ भनेर मर्जी भएको हुँदा तँलाई भनेको पो त । यसको उद्धार हुन्छ, तेरो पनि गाउँमा इजेत हुन्छ भनेर हो, नत्र यस्ता केटा त कति पाइन्छन कति । जसको पुर्पुराँ लेखेको छ त्यसैको केटो जाला । अभागीलाई खाने बेलाँ रिस उठ्छ , पोखिएपछि वुद्धि आउँछ भन्दै थिए चिन्तामणि सुब्बाले साँच्चै रहेछ ।

 

शोभाखर काठमाडौँ आए । केही समय खरदार बाजेको डेरामा काम गरेर बसेपछि बाजेले उनलाई दरवारको सेवामा पठाएका थिए । शोभाखरको विवाह दरबारमै काम गर्न बसेका नुवाकोटतिरका थापाकी छोरीसंग भएको थियो । मालिकले यसैसंग विहा गर भनेपछि नाई भन्ने गुन्जायसै थिएन । थापाकी छोरी दरवारमै जन्मी हुर्केकी, शहरिया रीतिरिवाजमा भिजेकी थिइन । शोभाखरले एकपल्ट पाल्पा घरमा लान त लगे तर उनी तीन दिनभन्दा धेरै टिक्न सकिनन । उनलाई गाउँको भाषा, खाना, चालचलन, भूगोल, केही पनि मन परेन । यस्ता ठाउँमा बस्ने मान्छे हुँ म ? भन्दै फर्केकी त्यसपछि कहिलै घर गइनन ।

 

दिवाकरका बाबु निशाकर बिक्रम बस्नेत नव्वे सालको भुइँचालो अघि नै दरबारमै जन्मे । निशाकर बिक्रम शुद्ध शाहरियाको रुपमा हुर्के । उनी सवैभन्दा टाढा गएको ककनी, थानकोट, गोदावरी, साँगा र सुन्दरीजलसम्म हो । यी ठाउँमा पनि घुम्न मात्र गए उनी, रात काटेको भनेको त एकदिन ककनीमा मात्र हो । त्यही एकरात ककनीमा बिताएको अनुभवलाई उनले पहाड यस्तो हुन्छ, उस्तो हुन्छ, गाउँमा यस्तो खान्छन, उस्तो लाउँछन भन्दै गफ लाउनमा खुव उपयोग गरे ।

 

बल्ल छ बज्यो । दिवाकर विक्रमले अर्को दुई प्याग माग्यो । उसको टेवलको बगलैको टेवलमा एउटो झ्यापुल्ले नेपाली केटो एकजना ख्याउटी खैरेनीसंग बसेर बियर खाँदै छ । त्योभन्दा अर्को टेवलमा तीनजना केटाहरु चिच्याई चिच्याई गफिंदै छन । कर्कस र अस्लील शव्द प्रयोग गर्ने ती केटाहरुलाई वेटरले गएर भन्यो – सरहरू प्लिज सुस्तरी बोलिदिनुहुन्छ कि ! यहाँ अरु पाहुना पनि छन । कम्प्लेन आइसक्यो प्लिज सर ! वेटरले यति के भनेको थियो एउटा केटाले उसको कठालो समातिहाल्यो । केटाले भन्न थाल्यो – ओए ओ भाते कसको कम्प्लेन आयो भन त, कम्प्लेन गर्ने तोरी को हो ? कुन खातेलाई आज मेरो हातको धोवी खाने मन छ हँ ? आज मेरो हात बिहानैदेखि चिलाइराछ ।

 

ओए साउ ! अस्ति भर्खरसम्म बेनीतिर घोडा चराउने झारपात हैन तँ ? साले कम्प्लेन आयो भन्ने ? कोही बोलेन । झ्यापुल्ले केटो र ख्याउटी खैरी केटी लुसुक्क बाहिर निस्के, अरु धेरैजसो ग्राहकहरु पनि चुपचाप निस्के, लाचार साहुजी हात जोड्दै विस्तारै माफ पाउँ हजुर भन्दै ग्राहकहरुलाई विदा गर्दै थिए । साढे सात बजे रेस्टुरेन्ट लगभग खाली भयो । धम्काउने केटाले ज्याकेट निकालेर टेवलमा राख्यो, उसको पाखुरामा खोपिएको कालो सर्पको ट्याटु ऊभन्दा पनि भयङ्कर थियो । केटो साथीहरुलाई भन्दै थियो, सुन ओए बोका हो यो काठमाडौँ शहर हो काठमाडौँ ! यहाँ सोझो र इमान्दार हुनेले के पाउँछ ? मेरो बाउले मलाई मोटिभेसन सिकाउन भनेर एउटा बाउनलाई जिम्मा लाएका छन । बाउन बाजे भन्छन – सिधा, सोझो अनुशासित र इमान्दार  हुनुपर्छ काजी अनि सवैले मायाँ र सम्मान गर्छन, समाजको राम्रो सदस्य बनिन्छ । ती बाजेले अहिले मैले थर्काउँदा मान्छेहरु लुसुलुसु बाहिर गएको देखे भने बल्ल बुझ्थे होला कस्ताले भनेको मान्छन र कस्ताको सम्मान हुन्छ यहाँ । अर्को केटाले भनेको थियो – भन्न त बाजे सुड्डोले ठीकै भनेको हो, तर सोझो हुनेबित्तिकै ल्याङ् हुन्छ र पो !

 

आठ बज्यो । दिवाकरले फेरी एक प्याग माग्यो । रमले थोरै झम्म पारेको छ उसलाई । मधुरो मीठो रमरम नशामा ऊ कुर्सीमा अडेस लाएर आँखा चिम्म गर्दै आफ्नो अतीत र वर्तमान ’bout गम्न थाल्यो । केटाहरुले उसलाई मदहोस भएको ठानेछन । एउटा केटाले भन्यो – ओए केटाहरु यो सुड्डोलाई चिन्छौ ? नचिनेको भए चिन ! यो हाम्रै विलास बिक्रम बोकाको बाउ हो । विलासे मुला मान्छे त बिन्दास छ यार ! मौकामा काम लाग्ने जिग्री हो यार त्यो खुस्केट । केटो त दिलदार छ नि, तर के गरोस बबुरो, बाउ नै खलास परेपछि । लास्टै छुचो छ के यो, अत्ति नै ठिस मान्छे । टन्न बिलु लेवल खान सक्ने सम्पत्ति छ नि, तर कालो रम एक्लै धोकेर मस्त निद्रामा छ सुड्डो।

 

यो सुड्डोको बाजे एउटा ठूलो राणाको घरमा काम गर्थ्यो रे । बूढो यति बाठो रैछ, साला कपन, गोदावरी, बालाजु र भक्तपुरतिर टन्न जग्गा जोडेछ , यहाँ शहरमा पनि क्षेत्रपाटीमा घर किनेछ । त्यति मात्र हो र तेस्का बाजेले राणालाई लास्टै खुसी पारेछ र एउटा हिरा जवाहरात र खजाना राखेको ठूलो कालो बाकस पनि पाएछ । सुड्डोको घरको बैठकमा राखेको कालो बाकस मैले पनि देखेको छु । त्यो कालो बाकसलाई हेर्न मात्र पाइन्छ, छुन पाइन्न, छोयो भने देउता रिसाउँछ ।

 

मेरो बाजे सुड्डो पनि दरवारमा काम गर्थे, मैले ओए बाजे हाम्रो घरमा विलास विक्रमको घरमा जस्तो कालो बाकस खै भनेको त बूढोले के भने थाहा छ ? बूढोले भने – मैले कहाँ राणाको दरवारमा काम गरें, त्यसै बोल्छ यो, नपत्याए तेरो बाउलाई सोध, मैले त राजा महेन्द्रको दरवारमा पो काम गरेको । शोभाकर बिक्रम काजीलाई त बहादुर शमशेर राजा खुसी भएर भरिलो बाकस निगाह भएछ , छ जना बलिया बलिया मर्दले बोकेर काजीको दलानमा लगेर राखेको त मेरै आँखाले देखेको हुँ । त्यत्रो बाकसमा के के होला के थाहा ! यस्तो कुरामा आँखा लाउन हुँदैन, देउता लागेर आफूसंग भएको सम्पत्ति पनि मासिएला भन्ने डर हुन्छ ।

 

नौ बज्यो । केटाहरु हल्ला गर्दै निस्के । दिवाकर उठेर काउन्टरमा गयो, साहुजी बिचरा रुझेको बिरालो जस्तै बनेका छन । उनी भन्दै थिए – के गर्नु हजुर, यी केटाले हैरानै पारे । बाह्र पन्ध्र दिनमा एक पल्ट तुफानाजस्तो आउछन, तर बबाल मच्चाएर जान्छन । त्यो ट्याटुवाला विकल डीआईजी सावको छोरो हो, अर्को क्षेत्रपाटीमा क्याटरिंगको काम गर्ने साहुको छोरो हो अझ अर्कोलाई चिन्दिन । अँ, अर्को केटो पनि छ क्षेत्रपाटीको , आज आएन, त्यो एउटा धनी काजीको छोरो हो रे, प्रशस्त जग्गाजमीन र जादुमन्त्रले मन्त्रेको एउटा कालो बाकस पनि छ रे घरमा । के गर्नु हजुर डीआईजी साव आएर मेरो छोरो आयो भने पानी पनि नदिनु है खवरदार ! भनेर जानुहुन्छ । यता यो केटो आएर मेरो बाउलाई भनिस भने केटाहरु आएर तेरो पूरा रेस्टुरेन्ट सडकमा मिल्क्यइदेलान नि भन्छ । गाह्रो छ हजुर, गरिखान गाह्रो छ यो देशमा ।

 

साढे नौ बज्यो । दिवाकर घर पुग्यो । ऊ लुसुक्क घरभित्र पस्यो र विस्तारै पत्नी रुमालाई सोध्यो – बा खै ? उनले हातको इशाराले बा सुत्न गइसकेको कुरा बताइन । रुमाले भनिन – कता कता गायव भैसिन्छ हजुर पनि ! आज विलासको बाइक अर्को बाइकसंग जुधेछ । पुलिसले विलासको गल्ती हो भन्दै समातेर लगेर थुनेको रहेछ । धन्न साथी विकलको बुवा डीआईजी सरले फोन गरिदिनु भएछ र सरी है भन्दै घरमै पुर्याउन आयो पुलिस । देखिस्यो ठुलाठालुको संगत भनेको कस्तो हुन्छ ? हजुर भनिसिन्छ यो विलासे बिग्र्यो, यसले गरी खाँदैन, यसको चालामाला ठीक छै , या त्या ! अचेलका केटाहरुले ड्रिंक गर्नु कुन ठूलो कुरा हो र । जस्तोतस्तो भट्टीमा खाँदैन, जस्तातस्ता केटाहरुको पछि लागेर जाँदैन ।

 

अलिअलि सोसलाइज त हुनै पर्छ है, हजुरजस्तो एकलकांटे पनि राम्रो हुन्न , बुझिस्यो ? आइस्यो डिनर चीसो भइसक्यो, जति रुच्छ ज्युनार होस र सुतिस्यो । हजुरलाई मेरो मतलव भए त मलाइ पनि संगै लगेर ड्रिंक गरिसिन्थ्यो होला । जहिले पनि एक्लै सवारी भयो, खायो आयो । उता बहिनीहरुको देख्दा कति रहर लाग्छ मलाई । हजुरको खान्दानको नामले मात्र हो नत्र त खत्तमै होइसिन्छ, खाली बाजेको पालाको हिंगको टालो सुँघ्दै बस्दै, अचम्मको परिवार ! दिवाकरले सवै सुनिरह्यो , अहिले बहस गरेर जितिने हैन भन्ने थाहा थियो उसलाई । उसले आज तीन महिनापछि ड्रिंक गरेको थियो, तर डाइलग भने दिनदिनै मधुशाला धाउने दरुवाले जस्तो पायो उसले ।

 

दश बज्यो । दिवाकर सुत्यो, तर निद्रा लागेन, मनमा कुराहरु खेलिरहे । बाजेलाई उसले देखेन । बाबु निशाकर बिक्रम कडा मिजासका मानिस । उनी हकी स्वभावका त हुन तर सोचको दायरा संकुचित । उनी बाबुकै कमाइको भरमा शानसित बसे, भित्र जस्तो भए तापनि बाहिर छिमेक, कुटुम्ब र साथीभाइको वीचमा निकै धनी र इज्जतदार छवी बनाएर बसे । दिवाकरकी आमा धनी र इज्जतदार कार्की परिवारकी थिइन । आमाको व्यक्तित्व नै आकर्षक र शानदार थियो । तर हेर्दाहेर्दै उसका मावली खलकको व्यवहार बिग्रेर सारा सम्पत्ति सकियो, मामाहरु आपसमा झगडा र मुद्धामामिला गर्दै कोही कता कोही कता तितरवितर भए ।

 

माइतीको बेहाल भएपछी आमा र बाको वीचमा झगडा भएको चाल पाउँथ्यो उसले । बाबुसंग झगडा हुँदा प्रायः आमाले भनेको सुन्थ्यो ऊ – मेरा माइतीको चकचकी हुँदासम्म त हजुर पनि झुक्दै सवारी हुन्थ्यो क्यारे, मेरा जस्ता ससुराली भन्दै धाक लाइसिन्थ्यो, मेरा जस्ता साला जेठान भानिसिन्थ्यो, अहिले उनीहरुको दुर्दिनमा हजुरले हेप्न थालिस्यो हैन ? त्यति गरिदिए मेरो कान्छो भाइको उद्धार हुन्छ, पछि व्यवहार मिलाएर सवै तिर्छु भनेकै छ, तैपनि विश्वास गरिसिन्न भने ठीकै छ आदि । कसरी हो पछि झगडा हुन त छाड्यो तर अर्को बज्रपात भयो, आमालाई पैतालीस वर्षकै उमेरमा क्यान्सर भयो । कस्तो आकर्षक रुप, सौन्दर्य र व्यक्तित्व थियो आमाको, तर विस्तारै कस्तो हुँदै गएको थियो, उसलाई झल्झली सम्झना छ ।

 

निशाकर विक्रमले दिल्ली लिएर गएका थिए श्रीमतीलाई । उनले भनेका थिए – हेर रजनी म तिमीलाई जसरी पनि बचाउँछु, मेरो सारा सम्पत्ति सकेर पनि बचाउँछु, बाले छोडेर गएको नासो कालो बाकस फोरेर पनि तिमीलाई बचाउँछु । उनले भनेकी थिइन – मेरा भाइहरु गतिला निस्केनन, सारा सम्पत्ति भ्याए, कोही रक्सी खाएर बिग्रे, कोही जुवा खेलेर बिग्रे र कोही रण्डीबाजी गरेर बिग्रे । राणाजीहरुको शासन सकिने बित्तिकै काठमाडौँका काजीहरु कसैलाई नटेर्ने हुँदै गए, कसैको डर रहेन । हजुरको त अझै पनि जग्गा जमीन छ, बुवाको पालाको कालो बाकस छ, साह्रै आपद परे भगवानको भाकल गरेर, क्षेमा मागेर र केही दान गरेर भए पनि उपयोग गर्न सकिन्छ ।

 

हजुर यत्तिको भिनाजु हुँदाहुँदै मेरा भाइहरुको बिग्रेको व्यवहार उकास्न सहयोग नगर्नु अन्याय हुन्छ भनेर हो मैले भाइहरुलाई सहयोग गर्न बिन्ती गरेको । हजुरले मानिस्यो पनि, तर के गर्ने व्यवहार उकास्न सकेनन सवै बर्वाद भयो । मेरो कर्मघर पो हजुरको घर हो, जन्म घर त उतै हो नि ! माइतीको माया कति गढ़िलो र मुटुभित्रसम्म हुन्छ, हजुर लोग्ने मानिसले अनुभव गर्ने सकिसिन्न । मलाई यस्तो कडा रोग लागेको पनि माइतीकै बिजोग सहन नसकेर हो कि जस्तो लाग्छ । त्यत्रो इज्जतदार माइती सर्वश्व गुमाएर सडकभरि पोखिंदा मेरो हृदय यति छियाछिया भएको छ, अव जोडिन गाह्रो छ । म भगवानको घरमा जाने हो अव, एक्लो जीवन साह्रै गाह्रो हुन्छ, अर्को बिहा गरिसेला । एउटै छोरा छ, अरु सन्तान जन्मे भने पनि हजुरको सम्पत्तिले पुग्छ ।

 

महिनौ दुख पाएर उनी बितिन ।

 

आमा बितेको केही वर्षपछि दिवाकरको बिहा भएको थियो । उसलाई सम्झना छ, उसलाई छोरी दिन धेरै धनाड्य र इज्जतदार परिवारको प्रतिष्पर्धा नै चलेको थियो । अन्तमा निशाकर विक्रमले रुमालाई छानेका थिए । उनले दिवाकरलाई भनेका थिए, मैले राम्रो परिवार र केटी छानेको छु तेरो लागि, तँलाई राम्रो हुनेछ । उसले हस बुवा मात्र भनेको थियो । रुमा देख्दा राम्री र व्यक्तित्वशाली मात्र हैन, उनको पढाइ पनि राम्रो थियो । उनले माइतीमा भनेकी थिइन, मैले बाहिर काम पनि गर्ने हो, घरमा कोचिएर बस्नेवाला छैन म । तर बिहा भएको वर्ष दिनमै छोरी विपाशा र त्यसको डेढवर्षमा छोरो विलास जन्म्यो ।  काम गर्ने मौका नै जुरेन, उनी शुद्ध गृहिणी बनिन । आज रुमालाई पनि निद्रा लागेन । दिवाकर एकतार्फ र रुमा अर्कोतर्फ फर्केर आफ्नो अतीतलाई खोतल्दै, वर्तमानलाई कोट्याउँदै र भविष्यलाई बुन्दै छन । विपाशा पच्चीस पुगी, धेरै ठाउँबाट माग्न आइसके । अलिकता उमेर घर्क्यो भनें भनेजस्तो घर र केटा पाउन गाह्रो हुन्छ । यसलाई उम्काउन पाए व्यवहार अलि हलुका हुन्छ, छोराको त तीस पुग्दा गरे पनि हुन्छ ।

 

विपाशा पढ्नमा तेजिली छ, रुमाले एकपल्ट सोधेकी थिइन – छोरी कि विदेशतिर जाने विचार छ ? जाने इच्छा छ भने हामी रोक्दैनौं । विपाशाले भनेकी थिई  – म विदेश जान्न, आफ्नै देशमा बस्छु, आफ्नो मातृभूमिको सेवा गर्छु । रुमा दङ्ग परेकी थिइन । रुमाले यसो दिवाकरलाई कोट्याइन, ऊ जागै थियो । रुमाले भनिन – हजुर कस्तो मान्छे हँ ? छोरीको बिहा गर्ने उमेर भइसक्यो केही चालै नपाएजस्तो गरिसिन्छ । दिवाकरले भनेको थियो – रुमा, म कानमा तेल हालेर बसेको छैन । खास कुरा अहिले मसंग पैसा छैन, पैसा हुनासाथ छोरीको बिहा गर्ने हो, चिन्ता नगर । रुमाले भनेकी थिइन – नगदको थुप्रो त कोसंग हुन्छ र ? हजुरहरुको चलन नै अत्ति छुच्चो, त्यो जग्गा जमीन राखिरहने कि थोरै बेचेर घर व्यवहार चलाउने ? मेरो बुवा हजुर भन्दै होइसिन्थ्यो – तेरा ससुरा त छुच्चै मान्छे हुन । मसंग त्यत्रो जग्गा भएको भए त क्या शानसित बस्थें होला । ज्वाईं पनि कस्तो हो, बूढो होइस्यो तर बाबुको अगाडि मुसै । अनि मैले के भनें भनौ हजुरलाई ? मैले भनेकी थिएँ, हैन बुवा त्यस्तो त, जग्गाको भाउ बढ्छ भनेर होला । हजुर त सोझो हो कि बाठो चिन्नै मुस्किल, थाहा छ मैले आफ्नो पेवाको बीस लाख हजुरको घरमा खर्च गरिसकें, यो कुरा त बुवा हजुरलाई भनेकै छैन मैले ।

 

अर्को दिन सवेरै उठ्यो दिवाकर । हिंजो धेरै दिनपछि ड्रिंक गरेको अलि बढी भएछ । केटाहरुले रेस्टुरेन्टमा गरेको बबाल, छोरो विलासविक्रम पनि बबाली केटाहरुको संगतमा राम्रैसंग मुछिएको जानकारी, छोराकै गल्तीले मोटरसाइकल ठोकिए पनि उल्टै सरी भन्दै पुलिसले घरै ल्याएर बुझाएको घटनाको कारण उसलाई चोट परेको थियो । आज उसले एउटा निश्चय गरेको छ, बुवासंग सम्पत्ति ’bout सोध्ने र छोरीको बिहाको कुरा अगाडि बढाउने । सुरु सुरुमा उसले जागिर खाएन न त रुमालाई जागिर खान प्रोत्साहित गर्यो । तर पछि गएर एउटा प्रतिष्ठित कम्पनीमा नोकरी गर्न थाल्यो । ऊ कम्पनीमा नोकरी गर्न जान्थ्यो, तर साथीभाई र नाता कुटुम्बका मानिसमा पक्कै पनि कम्पनीमा केही न केही हिस्सा होला, नोकरी गर्न मात्र त के जान्थ्यो दिवाकर भन्ने भ्रम रह्यो । कस कसलाई भन्दै हिडोस ऊ हैन मेरो हिस्सा छैन, म त कम्पनीमा नोकरी गर्छु भनेर ! मान्छेको दिमागमा गडेको कुरा निकाल्न सजिलो थिएन । उसलाई यो कृत्रिम र नक्कली जीवन बोझ भइसक्यो ।

 

नौ बजेको समय थियो । बाबु निशाकर बिक्रम घाम ताप्न कौशीमा बसेका थिए । उनलाई नातिनी विपाशाले स्याउका चारओटा टुक्रा र एक गिलास दुध लगेर दिई । दिवाकर बाबुको छेउँमा गएर बस्यो । निशाकरले उसलाई तलदेखि माथिसम्म हेरेर सोधे – के भयो तँलाई ? दिवाकरले भन्यो किन र बुवा म ठीक छु त । तर अनुभवी बाबु मान्न तयार थिएनन, भनेका थिए – तैंले भनेर पत्याउँछु ? सन्च बिसन्च बोलीबाट हैन अनुहार, हाउभाउ र शरीरको चालबाट थाहा हुन्छ । दिवाकरले भन्यो – बुवा विपाशाको बिहा गर्ने बेला भयो । निशाकरले छोराको अनुहारमा गहिरोगरी हेरे, छोराको अनुहार फुङ्ग उडेको छ आज, आज दिवाकरको नशामा त्यो काजी रगत नभई एउटा बेखर्ची बाबुको विवसता बगिरहेको भान भयो उनलाई । दिवाकरले फेरि भन्यो – बुवा पैसाको जोहो गर्न सकिएन के गर्ने होला ? सवैले चार पाँच ठाउँमा जग्गा छ, छुच्चाहरु भन्न थाले । ससुरालीमा त कन्जुस पूंजीपति ज्वाईं भनेर उडाउँछन् रे मलाई ।

 

निशाकर विक्रमले टाढा क्षितिजतिर हेर्दै भने – हेर बाबु आज म तँलाई सवै कुरा साँचो साँचो भन्छु, हृदय बलियो बनाएर सुन । ऊ त्यो ढोका बन्द गर, केटाकेटीहरुलाई आउन नदे । म भर्खर बीस बाइस वर्षको हुँदा बुवाको स्वर्गवास भयो । बुवाले छोडेको घर यही हो, निकै जब्बर बनाएका रहेछन, बलियो रहेछ, भूकम्पले पनि केही गर्न सकेन । उसै बेलादेखि नै यसको ठाउँ ठाउँमा जग्गा छ, धेरै सुनचाँदी छ, प्रशस्त धनी छ भनेको सुन्दै आएको हुँ म पनि । खासमा यो घर बाहेक दुई टुक्रा जग्गा मात्र थियो हाम्रो । एउटा जग्गा तेरा मामाहरुको व्यवहार लथालिङ्ग हुँदा बेचेर सहयोग गरियो । उनीहरु आफै डुबेर बेहाल भए, फिर्ता हुने सम्भावना थिएन, गयो । अर्को जग्गा तेरो आमा बिरामी हुँदा बेच्नु पर्यो । तर मलाई कुनै पछुतो छैन, बरु जग्गा बचाएर राखेको र उपचारको अभावमा मरेको भए पछुतो हुन्थ्यो । दिवाकरले भन्यो – जव जग्गा नै थिएन त हजुरले हैन, छैन भनेर किन नभनिसेको बुवा ? बाबुले भने – हेर बाबु , जव सवैले छ छ भन्थे त मैले को कोसंग छैन बाबा छैन भन्दै हिड्ने ? मैले सोचें भनिराखुन, यसै कारणबाट नाम र इज्जत त छ, राम्रो परिवारसंग सम्बन्ध गास्न त पाइएको छ । फेरि मैले नै मेरो यति छ उति छ भन्दै हिंडेको त हैन, मानिसले भनिरहे म चुप लागिरहें, कुरा यत्ति हो । यही हल्लाले गर्दा तेरो बिहा त्यस्तो प्रतिष्ठित परिवारमा भयो । तेरो बिहामा भएको खर्च त उताबाट आएको पैसाले नै धान्यो, तर उनीहरुले थाहै पाएनन । मलाई थाहा छ हाम्रो घरखर्च तेरो श्रीमतीको पेवाबाट चलिरहेको छ । विकल्प केही छैन चुप लागेर बस्छु ।

 

दिवाकरले भन्यो – अनि कालो बाकस त छ नि बुवा । बाबुले भनेका थिए – हो कालो बाकस छ । यो बाकस बहादुर शमशेर राजाकहाँ रहेछ । बाकसको रुपरंग हेर्दा लखनौको गदरमा लुटेर ल्याएको हो कि जस्तो लाग्छ । कस कसको घर हुँदै बहादुर राजाकोमा आइपुगेको रहेछ यो बाकस । पुराना सामान तह लाउने सिलसिलामा दरवारका कसैलाई के कसैलाई के दिएर पठाएका रहेछन, बुवाको भागमा यो बाकस परेछ । यो बाकस छ जना बलिया बलिया मान्छेले सकी नसकी बोकेर ल्याएर जुन ठाउँमा राखे अहिले पनि सोही ठाउँमा छ । बाकस भित्र्याउने बेलादेखि नै छिमेकी, साथीहरु, कुटुम्ब सवैले यो बाकसभरि बहुमूल्य हिरा जवाहरात र गहना भएको अनुमान गरे । भित्रभित्र हल्ला चलेपछि यो बाकस एउटा रहस्य बन्दै गयो । यसैको कारण हामी खुवै धनी र इज्जतदार भएको भ्रम फैलिँदै गयो । तेरो आमाले स्वर्गवास हुनु अगाडि मलाई भनेकी थिइन एक्लो जीवन साह्रै कठिन हुन्छ, हजुरको सम्पत्ति पनि छ, अर्को बिहा गरिसेला भनेर ।

 

म केही बोलिन, तर मसंग जग्गा जमीन थिएन, यही बाकस मात्र थियो । मैले बाकस फोर्ने विचार गरें । बाकसमा प्रशस्त धन भेटियो भने त्यसैको आडमा बिहा गर्ने विचार थियो मेरो । मैले एकजना तान्त्रिक र एकजना पण्डित बोलाएर जे जे प्रायश्चित्त र पूजा गर्नु पर्ने हो सवै गरेर उनीहरुलाई बिदा गरें । उनीहरु गएपछि मैले बाकसको साँचो फोरें, तर आश्चर्य ! बाकसमा एउटा तरवार, एउटा जागिरेले लाउने पोशाक र डेढशय पुरानो कम्पनी रुपियाँ मात्र रहेछ । मैले जस्ताको तस्तै बाकस बन्द गरिदिएँ । दुई तीन दिनपछि पण्डित र तान्त्रिक केही पाइन्छ कि भन्ने लोभमा के रहेछ त काजी भन्दै सोध्न आएका थिए, मैले पुर्खाको नासो फोर्न उचित लागेन भनिदिएँ । उनीहरुले पनि ठीक गरिबक्स्यो काजी खतरा हुनसक्थ्यो, हजुरलाई के नपुग्दो छ र भन्दै गए ।

 

दिवाकरले भन्यो – बुवा म अव यो बनावटी र झूटो प्रतिष्ठाको जीवनबाट बाहिर निस्कन चाहन्छु, म मेरो सम्पत्तिको नाममा केही पनि नभएको कुरा घोषणा गरेर हलुङ्गो हुन चाहन्छु । बाबुले भनेका थिए – त्यो सवै घोषणा गरेर तँलाई के फाइदा हुन्छ ? तैंले मेरो यति सम्पत्ति छ, मेरो कालो बाकसमा यति हीरामोती छ भन्दै त हिंडेको छैनस । अरुले भनेको कुरालाई खण्डन गर्दै हिड्नुको के प्रयोजन छ ? अहिले विपाशाको बिहा गर्नु छ । ल म सुकुम्बासी हुँ भनेर घोषणा गर त को आउँछ बिहा गर्न ? किफायती खर्चमा छोरीको बिहा गरिदे न ! धन भएर पनि कस्ता छुच्चा रहेछन मात्र भन्लान, गरिव र निमुखा त भन्ने छैनन ।