मीठो अनुभूति
ध्रुव मधिकर्मी
चोकमा बसेर नानीथकु तजु फेलु घुमाइरहेकी थिई । धागो जेलिएको र बीच बीचमा गाँठो परेकोले त्यसलाई ओल्टाइपल्टाइ गरी अर्कोमा सारिरहेकी थिई । उसको छेउमा चोककै दुईचार जना महिलाहरु कोही साग केलाउँदै त कोही सुकुल बुन्दै आआफ्नै खालका घरधन्दा गरिरहेका थिए । ती घरपरिवार, छरछिमेक र यताउताका अनेक गन्थन पनि गर्दै थिए भने हात चलाउँदै एकसाथ घरायसी काम पनि गर्दै थिए । तिनका लागि काम र कुरामा कुनै फरक थिएन । मुखले गन्थन र हातले काम गर्दै थिए मानौं ती एकअर्काका परिपूरक हुन् ।
चोकको बीचैमा सानो पराले टहरो छ । धानचामल कुट्नको लागि चोकको बीचमा बनाइएको त्यस टहरोबाट सुकुचाकी जहान डालो बोकेर निस्की । ऊ डालो बोकेर घरतर्फ मोड्न लागेकी मात्र थिई उसले चोकको कुनामा केही महिलाहरु गफ्फिरहेको देखेपछि फनक्क फर्केर त्यतै लागी ।
ओहो तिमीले निकै बेर लगाएर ढिकी कुटिरही , बिकुमायाले सुकुचाकी जहानलाई हेरेर भनी ।
अलि अलि मात्र हो, के भो के भो हिजोदेखि जीउ दुःखेर काम गर्नै गाहारो भो, उसले डालो त्यहीँ बिसाई र एकछिन सुस्ताउन नानीथकू तजूसितै बसी ।
हिजो लोग्नेसँग ठाकठुक पो भयो कि ?, संगै घर जोडिएकी बिकुमायाले कोट्याएर सोधी । सुकुचाकी जहान आफ्नो लोग्नेसित प्रायः कुनै न कुनै कुरामा कराइरहेकी हुन्छे । उसको लोग्ने पनि त्यस्तै । स्वास्नीले भनेको जे पनि मान्ने तर कुनै पनि काम ढंग पु¥याएर नगर्ने अनि लोग्नेसित संधैजसो सुकुचाकी जहान कराइरहेकी हुन्छे ।
के गर्ने बिकुमाया अता, लोग्ने मोरो जे भने पनि उल्टो उल्टो काम गर्ने एउटा काम ढंग पु¥याएर गर्दैन म त हैरान भइसकें ।, उसले आफ्नो दुःखेसो पोखी ।
तिमीलाई के को दुःख नि स्वास्नीले जे भने पनि मान्ने लोग्ने छ । अलि अलि ढंग छैन त्यो त हो ।
नानीथकु तजूको बुहारी त माइतमै बस्छे क्या हो ?, सुकुचाकी जहानले डालोलाई पर सार्दै भनी ।
आः बसोस् मलाई केको टाउको दुःखाइ । त्यसलाई लोग्ने चाहिन्छ भने आउँछे नत्र बसोस् …, नानीथकु तजूले अरु कुरा भनिन ।
कति भो नआएकी , भएन र एक महिना ?, साग केलाइरहेकी बिकुमायाले एकछिन काम रोकी ।
दुई महिना हुनलाग्यो । केको एक महिना हुनु नि ।, नानीथकु तजूले बोल्नुअगावै सुकुचाकी जहानले नै जवाफ दिई । सुकुचाकी जहानलाई चोकमा भएका प्रायः सबै कुराको जानकारी हुन्छ । ऊ कुनै पनि बेला कसैको पनि घरमा घुस्न सक्छे । एकप्रकारले ऊ सबैलाई काम पर्दा केही न केही सहयोग गरिरहन्छे । त्यसैले सबैसित उसको उतिकै हिमचिम छ । त्यसैले सबैसित ऊ उत्तिकै नजिकजस्तो भएर कुरा गर्छे ।
अब लोग्नेको घरमा आउँदिन भन्छे रे हो ?, सोधी सुकुचाकी जहानले नै सोधी ।
नआए उहीँ बसोस् । हामीले पठाएको होइन उही रिसाएर गएपछि के , नानीथकु तजूले भनी ।
चाडबाड पनि आउन लाग्यो, अब त बोलाउन पठाउने होला नि ?
नानीथकु तजू बोलिन । उसलाई यो विषय त्यति रुचेको पनि थिएन । बुहारीसित उसको खासै मेल छैन । घरमा संधैजसो किचकिच परिरहन्छ । घरको कामको नाउँमा एउटा सिन्को भाँच्दैन । एउटा न एउटा निहुँ खोज्छे अनि रिसाएर माइती जान्छे । धनीबाउकी छोरी न हो हाम्रो घरमा यस्तो छ उस्तो छ भनेर तुजुक देखाइरहन्छे । भए त्यसैको होस् मलाई के । अझ नानीथकुलाई बुहारीसित भन्दा पनि आफ्नै छोरासित पो रिस उठ्छ । छोरो पनि स्वास्नी भनेपछि एक शब्द बोल्दैन । उल्टो स्वास्नीके कुरा सुनेर आमासित बाझ्न आउँछ । यस्तो पनि हुन्छ छोरो । जोइटिंग्रे मोरो ।
यसैबेला चोकमा छ्याकचा पस्यो ।
००
उसलाई देखेपछि सुकुचाकी जहानले नै कुरा सुरु गरी – क्या हो छ्याकचा । तिमी त बिहे पनि नगर्ने भनेर बस्यौ रे हो ?
बिहेको कुरा सुन्नासाथ छ्याकचाको मुहारमा एकप्रकारको उज्यालो फैलियो तर लगत्तै बिहे नगर्ने भन्ने कुराले उसलाई झनक्क रिस उठ्यो – कसले भन्यो बिहे नगर्ने भनेर । पाए पो गर्नु ।
उसले आफ्नो बाउलाई एकचोटि गाली ग¥यो ।
चोकमा घाम ताप्दै घरधन्दा गरिरहेकी महिलाहरुमध्ये कोही छ्याकचाको गालीले खित्का छोडेर हाँसी भने कोही सारीको सप्कोले मुख छोप्दै मुस्कराई । एकछिन सबैले छ्याकचाको चालढाललाई हेरी ।
बाउलाई पनि त्यसरी गाली गर्नहुन्छ ?, नानीथकु तजूले सम्झाउने पाराले भनी ।
किन हुन्न ? बाउ हो र त्यो मेरो शत्रु हो । मेरो बिहे रोक्ने त्यही त होे ।
किन के भो त्यस्तो , तैंले त बाउलाई नै शत्रु भनिस् । जे भए नि बाउ हो त्यसो भन्न हुँदैन ।
हो मलाई पनि थाहा छ बाउ हो त्यसो भन्न हुन्न ।
अनि किन त ?
हेर तजू, मैले बाउलाई कति भनिसकें तर बाउले मानेकै होइन । गहना धेरै माग्नेसंग तँलाई बिहे गरिदिन सक्दिनँ पो भन्छ । मलाई मनपर्ने केटी भएपछि दुई तोला सुन दिन के गाहारो भयो र होइन तजू ?
तेरो बाउसित पैसा छैन होला नि ।
पैसा नभए अलिकति जग्गा बेचे पनि हुन्छ नि, त्यतिका जग्गा छँदैछ ।, उसले जवाफ दियो ।
बिहे गर्छौ त ?, बिकुमाया तजूले भनी ।
गर्ने, किन नगर्ने ?, छ्याकचा हाँस्यो ।
तँ छ्याकेसित को आउला ? तेरो अनुहार नै त्यस्तो छ । अलि मुखसुख राम्ररी धुने ग¥या छौ कि छैनौ हँ, सुकुचाकी जहानले मर्का पर्नेगरी ठट्टा गरी ।
चोकमा भएका अरु पनि हाँसे । यो हाँसोले छ्याकचाको मनमा चोट प¥यो तर उसले त्यसलाई नराम्रो मानेन । बिहेको कुरा मात्रले पनि उसलाई यतिखेरको वातावरण रमाइलो र कुत्कुत्याउने खालको मीठो अनुभूति भयो ।
ल ल, म एउटी खोजिदिउँला ।, बिकुमाया तजुले भनी ।