हो साथी आज रमिता छ

-भागवत खनाल

हो साथी आज रमिता छ

हो साथी आज रमिता छ
आज एउटा ठूलो घरमा रमिता छ
आज ठूलो घरका हास्य युगलको रमिता छ
फुटेर फ़ेरि जुटेको घरमा रमिता छ
आउनुस अलौकिक उन्नतिमा प्रफुल्ल हुँदै
हर्षातिरेकमा उन्मादी बनौं
दुनिया चकित पार्दै समृद्धिको मैदानमा नृत्य गरौं
हो साथी आज रमिता छ

कोही वानप्रस्थी बन्ने रे
वुद्ध बन्ने रे
भो भयो बिरह लाग्यो
जोगी बन्ने रे
धन्यवाद छ शुभकामना छ
विदा गरौं
बुद्धि फिर्‍यो मति सप्र्यो
बटुकलाई टाटा गरौं
हो साथी आज रमिता छ

केही सानाभाइ शोकमा छाती पिटी
आँसु सक्दै छन रे
भिन्न मत छ कुरा अपच छ भित्र जान मनाही छ पिढीमा रुन्छन रे
अरण्यरोदन भित्र सुनिदैन
एक्लै रुन्छन रे
उसैको लागि रुन्छन तर
उही बहिरो छ रे
हो साथी आज रमिता छ

अझ अरु सानाभाइ पिढी कुर्दै
भित्र सुन्छन कि भनी
प्रशस्तिगान गर्छन रे
के थाहा हृदय पग्लन्छ कि
कपाट खुल्छ कि
द्वारतर्फ अविरल चियो गर्छन रे
अलख हजुर सेवक यता छु दर्शन दर्शन रे
हो साथी आज रमिता छ

भित्रिया सानाभाइ
कसैलाई पस्न नदिन
ढोकामा आग्लो कस्दै छन रे
पिढी कुर्दा वित्यास पर्छ
भित्रै भृत्यगान गर्छन रे
जटाकटाहसम्भ्रम भ्रमन्निलिम्पनिर्झरी
विलोलवीचिवल्लरी विराजामानमूर्धनी
हो साथी आज रमिता छ

ठुलो घरछोडुवा भाइ फेरि
अर्को घरमा पस्यो रे
धेरै चाखिसक्यो आफै भान्से बन्यो
सक्दै सकेन रे
भत्केका सपना गुमेका अवसरको खोजीमा
भौंतारिदै भौंतारिदै
उतातिर भाग्य आजमाउदो छ
केही झर्छ कि ? उताउता नियाल्दै छ रे
झन उताउता प्रभुपाद खोज्दै
नेहोरा गर्दै छ रे
हो साथी आज रमिता छ