‘खबरदार! संरक्षित क्षेत्रकाे व्यापारीकरण नगरियाेस'(भिडियाे)
काठमाडौँ– काठमाडौँको ‘लाइफलाइन’को रुपमा लिइएको शिवपुरी राष्ट्रिय निकुञ्जमा सफारी केबलकार तथा रिसोर्ट सञ्चालन गरिए उपत्यका नै गम्भीर वातावरणीय संकटमा पर्ने चेतावनी संरक्षणविद्ले दिएका छन्।
सरकारले शिवपुरी राष्ट्रिय निकुञ्जको तीन स्थानमा केबलकार सञ्चालनको तयारी गरेपछि संरक्षणकर्मीहरूले चासो देखाएका छन्।
विहीबार नेपाल वातावरण पत्रकार समूह र संरक्षण सरोकार समूहले संयुक्त रुपमा गरेको ‘संरक्षित क्षेत्रको व्यापारीकण के जायज छ’ शिर्षकमा आयोजना गरेको छलफलमा विज्ञहरूले शिवपुरीका जंगल मासिए काठमाडौँ डुबानमा पर्ने चेतावनी दिएका हुन्।
कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल, वनविज्ञ कृष्णबहादुर श्रेष्ठ, वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठ तथा वन तथा वातावरण मन्त्रालयका उपसचिव कमलजंग कुवँरले आफ्ना धारणा राखेका थिए।
कृष्ण बहादुर श्रेष्ठ, वन विज्ञ
शिवपुरी काठमाडौँका लागि खानेपानीको प्रमुख श्रोत हो। शिवपुरीले नै काठमाडौँलाई पानी वितरण गरिरहेको छ। शिवपुरी हाम्रो लागि अति नै महत्त्वपूर्ण जलाधर क्षेत्र हो। त्यहाँ पानी सकियो भने काठमाडौँमा पनि पानीको हाहाकार हुन्छ। पानी त त्यहाँको विशेषता नै हो। काठमाडौँ उपत्यकामा त्यो भन्दा ठूलो अर्को जंगल पनि छैन।
शिवपुरी राष्ट्रिय निकुञ्जको मुख्य उद्देश्य पानी संरक्षण हो। मेलम्चीबाट काठमाडौँमा पानी ल्याउने भनिएको यतिका वर्षसम्म पनि आएको छैन्। आइहालेछ भने पनि भौतिक संरचनामा क्षति पुग्यो भने फेरि बन्द हुन्छ। फेरि पानीको हाहाकार हुन्छ। त्यसका लागि भएपनि एउटा विकल्प त चाहियो नि। त्यसैले विकल्प भनेको शिवपुरी हो। पानी निरन्तर चाहिने भएकाले यो पानीको श्रोत बिग्रने गरी कुनै पनि काम गर्नु पनि भएन।
शिवपुरी आय श्रोतको लागि होइन। खानेपानीको लागि हो। यसको उद्देश्य नै अर्को छ। निकुञ्ज हो तर यसको उद्देश्य खानेपानी संरक्षण हो। मोटर जाने, केबलकार जाने, रिसोर्ट लगायतका संचरना त बनाउनै हुँदैन्। हामीले खानेपानी गुमाउछौं। पानी फोहोर हुन्छ। फोहोर पानी त कसरी खाने? केवलकारको विषयमा सरकारले पुनः सोच्नु जरुरी छ। पहिला पनि कुरा आएको हो तर भएन। एउटा आएपछि आर्को पनि आउला अनि कसरी रोक्ने ? अहिलेको २०/३० करोड हेरेर हुँदैन्। दीर्घकालीन सोच्नु पर्छ। खानेपानीका लागि भएपनि शिवपुरी जोगउनु पर्छ।
डा तिर्थ बहादुर श्रेष्ठ, वनस्पतिविद्
सरकारले धेरै मिहिनेत गरेर आजको शिवपुरी बनाएको हो। अब अहिले आएर केवलकार र रिसोर्ट बनाउने कुराहरू आएको छ यसले गर्दा सरकारले प्राप्त गरेको सफलता त सबै बेकार जान्छ।
यो त राष्ट्रिय निकुञ्ज बनिसक्यो अब यसलाई त राष्ट्रिय निकुञ्ज नै राख्नु पर्यो नि। सबै कुराहरूको संरक्षण गरेर इकोस्सिटमलाई हामीले मिलाएर राख्ने हो । काठमाडौँमा पानीको श्रोत अरु छैन। र यसलाई नर्कान पनि सकिदैन्।
निकुञ्जलाई व्यापारीकरण गर्ने कि नगर्ने भन्ने विषय उठिरहेको छ। तर, वनस्पति र चराहरूको कुरा गर्दा पनि शिवपुरीमा जती पनि चरा छ त्यति पुरै जर्मनीमा छैन। स्वीजरल्याण्ड, यूके, फ्रान्स, बंगलादेश, अष्ट्रेलिया जस्ता राज्यमा जति चरा छ त्यो भन्दा बढी प्रजातीको चाराहरू शिवपुरीमा छ। चराको लागि महत्त्वपूर्ण ठाउँ हो शिवपुरी। रुख तथा वनस्पति पनि त्यतिकै मात्रामा छन्। शिवपुरीमा मात्रै पाइने विरुवाहरू पनि धेरै छन्। लोप भएका कुराहरू पनि यहाँ संरक्षित छन्। शिवपुरीलाई विशेष पार्क बनाउनु पर्छ। यसलाई शान्त पार्क बनाउनु पर्छ। अहिले जुन गाडी र मोटरसाइकल जान्छ त्यसलाई पनि रोकौं र प्रचार गरौं शान्त पार्क भनेर। यो पार्कको विषेशता पानी, पंक्षी र पुतली हो। पुतली हेर्न जिपमा जाने ? त्यसैले शिवपुरीको आफ्नो विषेशता छ। शिवपुरीलाई शिवपुरी नै रहन दिऊ। संरक्षण गरौं, नमासौं।
भैरव रिसाल, वरिष्ठ पत्रकार
पैसा कमाउन शिवपुरीमा आँखा नगाड भन्ने मेरो आशय हो। अब त्यहाँ ३ वटा केवलकार र वटम रिसोर्ट बनाउने भन्ने कुराहरू उठिरहेको छ। तर, शिवपुरीलाई मौन पार्क बनाउनु पर्छ भन्ने कुराहरू पनि उठिरहेका छन्। शिवपुरी चराचुरुङ्गी लगायतका अन्य जनावरको पनि बासस्थान हो। त्यस्तो अवस्थामा केवलकार र रिसोर्ट राखेपछि के होला? यि सबैको हत्या नै हुन्छ।
शिवपुरी जलाधार क्षेत्र पनि हो। पैसा कमाउन अरु पनि बाटोहरू छन्। अरु खोजेर शिवपुरीलाई छोडिदिनुस् भन्ने मेरो आग्रह हो। शिवपुरीमा किन हमला गर्ने ? पानीको मुहान सुकाउने भन्दा ठूलो अपराध त केही पनि हैन्। यस्तोमा शिवपुरी मास्ने त कुनै पनि तर्क नै छैन। शिवपुरी मात्र होइन काठमाडौं वरिपरिको डाँडामा मान्छेको क्रियाकलाप नै घटाउनु पर्यो। चन्द्रगिरीको कारणले गर्दा पनि धेरै हल्ला भएको हो। व्यपार पस्दा विस्तारै पस्छ, विस्तार हुने भनेको त पछि नै हो नी। अब राज्यले सशक्त रुपमा घोषणा गर्नु पर्यो केवलकार र रिसोर्ट हामी बनाउन दिदैँनौं भनेर। राज्यले घोषणा गरेर कार्यन्वयन गर्नु प¥यो। हाम्रो संसदले नै पास गर्नु पर्छ। काठमाडौँको लागि पानी कति महत्त्वपूर्ण छ। मेलम्चीकै कुरामा पनि मान्छेहरू पैसा लिउ तर पानी देउ भन्न थालिसके। पानीको खानीलाई कुनै पनि नोक्सान हुने कियाकलाप गर्नु हुँदैन। पानी बिग्रने ठाँउ नछोउ। त्यसलाई सुरक्षित राखौं। इट्टा पोल्दा वन मासिएको पनि हाम्रो इतिहासमा छ त्यसैले पनि शिवपुरीमा पनि केवलकारले गर्दा हरियो पात, हरियो घाँस नभेटिएला। बालुवा, धुवाँधुलो होला। असर त हामीलाई हो नी त्यसैले संरक्षणको दयित्व पनि हाम्रो हो। खबरदार यदि कसैले त्यहाँ त्यस्ता कार्य गर्लान हामी विरोध गर्छौँ।
कमल जंग कुवँर, उप–सचिव, वन तथा वातावरण मन्त्रालय
राष्ट्रिय निकुञ्ज ऐनमा हरेक राष्ट्रिय निकुञ्जहरूको व्यवस्थापन योजना बनाउनु पर्ने भन्ने कुरा छ। त्यो योजना स्वीकृत हुँदा पनि संरक्षित क्षेत्र विशेष गरी शिवपुरीमा भौतिक संरचना भन्दा पनि केवलकार बनाउने कुरा निषेध गरिएको थियो। त्यो स्वीकृत पनि भएको छ । राष्ट्रिय सिमसार नीति २०६९ मा पनि के व्यवस्था छ भने नीति ४ को दफा ४ मा जलाधार क्षेत्रहरूको क्षेत्रफल नाश हुने कुराहरू र पानीको श्रोतहरू विनाश गर्ने गरी कुनै पनि कार्य गर्न पाइँदैन्।
शिवपुरीमा जङ्गल, जनावर तथा जलाधर क्षेत्रको संरक्षण भयो भने जनताको लागि स्वच्छ जल प्रदान गर्न सकिन्छ। हामीले यदि त्यो जलाधर क्षेत्रको विनाश गर्यौं भने त्यहाँको जंगल विनाश भयो भने, त्यहाँको जनावर विनाश भयो भने त्यसको प्रत्यक्ष असर हामीलाई नै पर्छ। हामीले राम्रो खानेपानी पाउदैनौं। हाम्रो लागि नै विनाश हुन्छ। वन विनाश भयो भने बाढीपहिरोको जोखिम बढी हुन्छ। काठमाडौँ उपत्यका डुवानको खतरामा पर्छ। त्यसलाई रोक्नको लागि पनि हाम्रो वरिपरिको सबै वनहरूलाई सुरक्षित गर्नुपर्छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले विभिन्न मुहानबाट ३ करोड लिटर पानी वितरण गर्ने गरेको छ। शिवपुरीको विनाशले काठमाडौँमा खानेपानीको विकराल रुप आउन सक्छ। तापक्रम बढेको कुराहरू पनि आइरहेको छ। काठमाडौँमा वन नहुने हो भने काठमाडौँमा गर्मी झन् बढ्छ। हामी विज्ञानको विपरित जानु हुँदैन्।
चुरे विनास हुँदा तराई डुवानमा परेको छ भोली शिवपुरी विनाश हुँदा त्यही अवस्था यहाँ आउन सक्छ। नीति र कानूनमा आधारित भएर हामी गलत बाटोमा जानु भएन। नेपाल वातावरण पत्रकार समुहको https://www.hakahakionline.com बाट साभार