मेरो संसार त मिथ्या

-राजेन्द्र ज्ञवाली

                   

जब म तपाइलाई 
गहिरो मुस्कान सहितका सिमित
 मानिसहरूसँग देख्छु 
र आफ्नो संसारमा  
ठूलो संख्यामा रहेका दुःखी र 
तनावग्रस्त मानिसहरूलाई देख्छु
अनि मलाई लाग्छ,
वरु तपाइकै संसार सत्य होला
मेरो संसार त मिथ्या हो । 

जब म तपाइको संसारमा 
सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताएको
थाहा पाउँछुु,अनी तपाइको संसार
आफ्नो धुरीमा कसरी पो 
घुम्दो रैछ भनेर घोत्लीने गर्छु,
तर पनि मलाई लाग्छ वरु तपाइकै संसार सत्य होला
मेरो संसार चाही मिथ्या हो ।

जब म देख्छु तपाइको संसारमा 
तपाई दिनभरी सुतेर राती 
काम गर्नु हुन्छ, तपाई अँध्यारोमा 
पनि राम्ररी देख्न सक्नु हुन्छ, 
अनी मलाई लाग्छ तपाईको 
संसार कस्तो हो कुन्नी 
तर मेरो संसार चाही मिथ्या हो ।

तपाईको संसारमा त कुनै भाषा नै छैन
तर पनि सबै काम ठिकठाक किसिमले भइ राखेको हुन्छ 
 यहाँ भने हामी एक आपसमा 
राम्ररी संवाद गर्दा पनि निकै दुविधामा परेको 
थाहा पाउछु, अनी मलाई लाग्छ, 
तपाईको संसार पो बरु सत्य हो की !

तपाईको आकाशमा त
अर्बौ तारा एवं एउटा सुन्दर चन्द्रमा छ
तर यहाँ, हाम्रो आकाशमा
हाम्रो मुस्कान, हाम्रो आधारभूत 
आवश्यकता, हाम्रा असंख्य चाहना र समृद्धि
देख्छु अनी मलाई लाग्छ 
बरु तपाईकै संसार सत्य हो 
मेरो संसार चाही पक्कै मिथ्या हो ।

जब म देख्छु त्यो संसारमा तपाईले कुनै 
प्रश्नको सामना नै गर्नु पर्दैन 
र यहाँ मेरो संसारमा, हामीले अहिलेसम्म
जवाफ पाएका छैनौँ, 
अनी मलाई लाग्छ ओहो, 
तपाईको त्यो संसार पो 
सत्य, मेरो संसार त मिथ्या !

तपाईको खुसी सत्य हो,
तपाईको मुस्कान सत्य हो,
तपाईको समृद्धि सत्य हो,
त्यसैले तपाईको संसार पनि 
सत्य हो र मेरो संसार चाहीँ मिथ्या ।

तर,, हाम्रो दुःख, हाम्रो गरिबी,
हाम्रो आँशु, हाम्रा असंख्य चाहना,
र हाम्रो आकाश, जहाँ हाम्रो मुस्कान,
हाम्रो खुसी,हाम्रो समृद्धि, हाम्रो आधारभूत 
आवश्यकता छन, त्यो भने सत्य हो । 
धरोधर्म सत्य हो धरोधर्म सत्य हो ।