प्रहरीले किन लिएन निकिताको निवेदन ?

काठमाडौँ, ४ भदौ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्यो । गत बिहिबार लामिछानेसहित रुकु कार्की (अस्मिता) र युवराज कँडेललाई प्रहरीले पक्राउ गरेको थियो ।  

यतिवेला पुडासैनी आत्महत्या दुरुसाहन मुद्दामा अनुसन्धान चलिरहेको छ । मंगलबार चितवन जिल्ला अदालतले आरोपी ३ जनालाई नै ५ दिनको म्याद थप गर्यो । यसअघि शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो । 

चितवन अदालतले दोस्रो पटक म्याद थप गरेको भोलिपल्ट रवि लामिछानेकी श्रीमती निकिता पौडेल प्रहरीकोमा पुगिन् । उनले भिडियो किर्ते गरी रविलाई फसाइएको भन्दै महानगरिय प्रहरी परिसर टेकु पुगेकी थिइन् । 

तर, प्रहरीले उनको उजुरी दर्ता नमानेको बताइएको छ । भिडियोको विषय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै उनलाई फर्काएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए । आफ्नो कार्यक्षेत्र नभएको हुनाले उनलाई सम्बन्धित क्षेत्रमा उजुरी दिनु भन्दै फर्काएको प्रमुख सुवेदीले बताए । 

निकिताले पत्रकारहरु किशोर श्रेष्ठ, संकेत कोइराला र जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लविरुद्ध निकिता उजुरी दर्ता गर्न पुगेकी थिइन् । मुलुकी फौजदारी सहिंता २०७४ को दफा २७६ र २७७ मुलुकी अपराधसहिंता र सरकारी विद्युतीय अभिलेख किर्ते सम्बन्धी कानूनी व्यवस्थामा अनुसार किटानी जाहेरी दिइन् । तर, उनको उजुरी प्रहरीले कार्यक्षेत्र नपरेको भन्दै दर्ता लिएन । 

पुडासैनीले आत्महत्याअघि आफूलाई रविसहित तीन जनाले मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ गरिएको थियो ।