प्रचण्डले आज जे पनि निर्णय गर्न सक्छन्

काठमाडौं । बल्लतल्ल पार्टीको कार्यबाहक जिम्मेवारी पाएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा ह्याट्रिक गर्ने मनोकांक्षा पूरा गर्नु भनेको फलामको चिउरा चपाउनु जत्तिकै कठिन देखिन्छ ।

यही उदेश्य पूरा हुन त्यति सजिलो नदेखिएपछि उनले कम्युनिष्ट एकताको नाममा आफूले नेतृत्व गरिरहेको माआवादी केन्द्रलाई तत्कालीन एमालेसँग एकिकृत गराए । त्यतिखेर उनका निकटस्थ नेताले समेत माओवादी केन्द्रको विलय गराएको भनी आलोचना गरेका थिए । तर एकिकृत कम्युनिष्ट पार्टीको अध्यक्ष र मौका परे तेस्रोपटक प्रधानमन्त्री बन्ने चाहनासमेत प्रचण्डमा अन्तर्निहित थियो, त्यसैले उनले सहयोगीहरुको आलोचना हाँसेर बिर्सिदिए । 

तत्कालीन एमाले अध्यक्ष केपी ओलीसँग भित्री सम्झौता गरी आधा÷आधा कार्यकाल प्रम बन्ने सहमति पनि गरे– जसको खुलासा उनी स्वयंले गरिसकेका छन् । अब उनलाई त्यो सहमति पालना होला नहोला भन्ने विषयले पिरोलेको हुनुपर्छ । त्यसैले ३२ साउनमा पीडा पोख्दै पार्टी एकता गरेर पश्चात्ताप लाग्न थालेको बताउन थालेका छन् । यसो त प्रचण्डको मनले जे सोच्छ– त्यसको आन्तरिक तयारीसँगै त्यसतर्फको इशारा दिने नेताका रूपमा पनि उनका निकटवर्तीहरु चिनाउन चाहन्छन् । तत्कालीन माओवादी केन्द्रको खस्कँदो राजनैतिक अवस्थाबाट पार पाउनकै लागि एमालेसँग एकताको पहल गरेका प्रचण्डले यो एकताबाट आफ्नो राजनैतिक भविष्यसमेत सुरक्षित भएको महशुस गरिरहेकै बेला उनले गरेको दुबई भ्रमणले भने केही छटपटी जन्माइदिएको छ । दुबई भ्रमण प्रचण्ड र उनको सचिवालयले सार्वजनिक गरेजस्तो नितान्त पारिवारिक भने थिएन । त्यहाँ उनको केही पश्चिमा कूटनैतिक व्यक्तिसँगको भेटघाट तय गरिएको थियो । आफू एक्लै जाँदा अनेक अर्थ लाग्ने भएकै कारण प्रचण्डले त्यसलाई पारिवारीक कलेवर दिएका थिए । तर उनको दुबई भ्रमणले सोचेअनुसार परिणाम भने दिएको संकेत पाइएन– जुन उनी आफैंले, आफ्नो भविष्य सुरक्षित हुन्छ भने हिन्दू राष्ट्रको पक्षमा लाग्न तयार छु भनेर भारतको सहानुभूति लिने प्रयास गर्नुले पनि स्पष्ट पार्छ । 

यसैबीच नेकपाको बाँकी एकताप्रक्रिया टुंगो लगाउने सन्दर्भमा भएको विभागीय बाँडफाँडका कारण पूर्व नेकपा माकेकै कतिपय नेताको प्रचण्डमाथि पार्टी टुक्र्याउनुपर्ने दबाव बढ्न थालेको छ ।

 प्रचण्डनिकट स्रोतका अनुसार संसद् र केन्द्रमा ४० प्रतिशत पु¥याएर नेकपाबाट अलग्गिन यतिबेला प्रचण्डमाथि तीव्र दबाव पर्न थालेको छ– जसले प्रचण्डलाई तनावमा पु¥याएको छ । दलका अन्य नेतामात्रै नभएर अहिले प्रचण्डमाथि पारिवारिक दबाव पनि बढ्न थालेको छ । ‘ओलीले सहमति कार्यान्वयन नगर्ने र प्रम पनि नछाड्ने भएकाले ओलीको आश्वासनमा भर नपर्न भन्दै बढेको पारिवारीक दबावकै कारण पनि प्रचण्डले कुन बेला के निर्णय लिने हुन्, यसै भन्न सक्ने अवस्था छैन’– स्रोतले बताएको छ । 

दलमा उनी पूर्व एमालेका नेताको घेराबन्दीमा परेका छन् । नेकपाभित्र महत्वपूर्ण जिम्मेवारी बाँडफाँड गर्दा पूर्व एमाले र पूर्व नेकपा माकेको किटान नै भयो । महत्वपूर्ण विभागजति सबै पूर्व एमालेको हातमा गयो । पदकै लागि उनले भरोसा गरेका वामदेव गौतम पनि आखिरमा ओलीको नजिक हुनपुगे । यसअघि गौतम प्रचण्डनिकट थिए । यतिसम्म कि उनीनिकट मानिएका पूर्व नेकपा माकेको केही नेता ओलीसँग नजिकिएका छन् । यस अर्थमा प्रचण्ड कमजोर बन्दै गएका छन् । उनीमाथि पूर्व एमालेको घेराबन्दी चुनौतीपूर्ण बन्दै गएको छ । 

प्रचण्डलाई हेगको अन्तर्राष्ट्रिय अदालतमा फौजदारी मुद्दा लगाउने प्रयास भइरहेको छ । त्यसमा मानवअधिकारवादी संघसंस्था लागेका छन्– जसको नेतृत्वमा पूर्व एमाले नजिकहरु छन् । युद्धअपराधको अभियोगमा हेग लाने चुनौती दिनेहरु पूर्व लडाकु हुन्– जसलाई त्यस्ता मानवअधिकारवादी संस्थाको साथ मिलेको छ । यसले प्रचण्डलाई झस्काएको छ । उनले विदेशयात्रा गर्नसमेत डराउनुपर्ने अवस्था बनेको छ । 
प्रचण्डविरुद्धको प्रचारवादी कठोर बन्दै गएको छ । हालै दुबई जाँदासमेत अरबौं पैसा व्यवस्थापनका लागि पुगेको चर्चा चल्यो । उनको सचिवालयले विज्ञप्ति नै निकालेर खण्डन गर्नुप¥यो । यसमा को-को संलग्न भए भनेर खोज्दा प्रचण्ड फेरि झस्किएका छन् । यसमा आफ्नै दलका मानिस पनि लागेको रिपोर्ट प्रचण्डसम्म पुगेको छ । 

घटनाक्रम यसरी विकसित हुँदैछ कि प्रचण्डले भविष्यमा प्रम बन्ने महत्वाकांक्षामा ठूलो चुनौती बन्ने देखिएको छ । यसमा पूर्व एमालेका प्रभावशाली नेताले रणनीति तयार गरेर बढिसकेका छन् । प्रचण्डका लागि अबको छ महिना निकै कठिन हुने देखिँदैछ । नेकपाभित्रको आन्तरिक शक्तिसंघर्ष जटिल बन्दै जाँदा प्रचण्ड कस्तो रणनीतिका साथ प्रस्तुत हुने भन्ने विषयले नै उनको राजनीतिक भविष्य निक्र्यौल गर्छ । 

घेराबन्दीलाई तोड्नुबाहेक प्रचण्डसँग विकल्प छैन । त्यसलाई तोड्ने क्रममा नेकपाको एकतासमेत धर्मराउन सक्छ । कुनै पनि बेला आश्चर्यजनक निर्णय लिने प्रचण्डले आफ्नो राजनीतिक भविष्यका लागि अप्रिय नै किन नहोस्– निर्णय लिएरै छाड्छन् । यो उनको राजनीतिक चरित्र र विशेषता दुवै हो– जसले उनलाई बन्दुकबाट ब्यालेट हुँदै यहाँसम्म ल्याइपु¥यायो ।