रवि लामिछाने पाँच र युवराज तीन लाख धरौटीमा रिहा

काठमाडौं, ९ भदौँ । टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख र युवराज कँडेल तीन लाख धरौटीमा रिहा भएका छन् भने अस्मिता कार्की तारेखमा रिहा भएकी छन् । 

उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले धरौटीमा रिहा गरेको हो । रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन् । उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दार्ता भएको थियो । 

रविसहित तीनैजनालाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो । चितवन जिल्ला अदालतले भदौ ३ गते लामिछानेलाई छानबिनका लागि ५ दिन म्याद थप गरेको थियो । जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।