‘छुटेका अनुहार’लाई पद्मश्री साहित्य पुरस्कार, महेशराज पन्तलाई साधना सम्मान

काठमाडौं । निबन्धकार रमेश सायनको संस्मरण छुटेका अनुहारले २०७५ सालको पद्मश्री साहित्य पुरस्कार पाएको छ भने पद्मश्री साधना सम्मान इतिहासविद तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई दिने निर्णय खेमलाल हरिकला लामिछाने स्मृति प्रतिष्ठानले गरेको छ । पुरस्कारको राशी जनही २ लाख रुपैयाँको रहेको छ ।

मितिः २०७६।०५।१०

प्रेस विज्ञप्ति

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा वर्ष २०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

छुटेका अनुहारमा लेखक रमेश सायनले आफैँले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको सूक्ष्म चित्रण अनुभूतिको गहिराइसम्म पुगेर कलात्मक शैलीमा पस्तुत गरेका छन् ।

त्यस्तै यस वर्षको पद्मश्री साधना सम्मान पाँच दशकदेखि नेपाली इतिहास र संस्कृतिलाई लिपिवद्ध तथा जर्गेना गर्दै आएका पूराविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई अर्पण गर्ने निर्णय गरिएको छ ।

दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका महेशराज पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक हुन् । २००९ सालमा पिता नयराज पन्तले सुरु गरेको संशोधन मण्डलका अभियन्ता महेशराज पन्तले २०२१ सालदेखि इतिहास प्रधान पूर्णिमा प्रकाशन गरिरहेका छन् । प्रामाणिक अनुसन्धान तथा त्यसलाई नेपाली वाङ्मयमा स्थापित गरेका महेशराज पन्तको योगदानलाई कदर गर्दै २०७५ सालको पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु. दुई लाख रुपैँया रहेको छ ।

वि.स. २०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएकोको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

दुवै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिनेछ ।

जीवा लामिछाने
अध्यक्ष, खेमलाल हरिकला लामिछाने प्रतिष्ठान
रत्ननगर, चितवन