जब सन्ध्या हुन्छ …..

“दाजु हजुरहरुको फोटो पोज साह्रै मन पर्यो, के म खिच्दिउं कि ?” नारायणी किनारमा सूर्यास्तको समयमा साथीसँग मोबाइलले सेल्फी लिदैं गर्दा DSLR क्यामेरा भिरेका एक युवकले मलाई प्रश्न गरे । पंत्तिकार आफै फोटोपत्रकार भएका कारण “खिचेको बापत केही गर्नु पर्दछ ?” सोधि हालें । उसले हास्दैं भन्यो “ २५ रुपैँया एक फोटोको , राम्रो खिचिदिन्छु ।” मैले नि हास्दैं भने “ धन्यवाद भाई, म पनि तिमी जस्तै फोटोग्राफर हुं,मेरो पनि क्यामरा ब्याग उ तल किनारमा लडिरहको छ, एकछिन रमाइलो गर्न भारी बिसाएको मात्रै, हामी दुइको पेशा एउटै ,मात्र फरक क्षेत्रमा । तर सेवा गरेर मिहिनेत गरिरहेको छौ । बधाई छ ।” यति भने पछि त्यो युवक मुसुक्क हाँस्दै नजिकै रहेको युवतीहरुको झुण्डतिर हुँइकियो ।

चितवनको नारायणगढको नारायणी नदी किनारमा साँझको समयमा युवकहरुको एक जमात DSLR क्यामेरा सहित डुल्न आउने मानिसहरुको फोटो खिच्न सधैं तल्लीन हुन्छन । अहिले नारायणी नदी किनार गर्मी बिर्साउने थलो नै बनेको छ । दिनभरको अत्यधिक गर्मीले आत्तिएकाहरु सांँझपख नदी किनारमा चिसो मौसममा रमाउन जान्छन् । आसपासका स्थानीय मात्र नभई टाढा घर भएकाहरू पनि केहीबेर नदी किनारमा रमाउन आउंछन । अफिसको काम सकेर, विद्यालय,कलेज बाट पनि साथीहरुसँग घुम्न आउनेहरु युवायुवतीहरुको भीड नै लाग्ने गर्दछ । नदी किनारमा गर्मी भगाउन बालबच्चा सहित अभिभावकहरु,वृद्ध, वृद्धाहरुको घुइँचो लाग्ने गर्दछ । नदी किनारमा बहने चिसो हावाको आनन्द लिएर साथीहरूसँग घुम्दा दिनभरको कामको तनाव र थकान बिर्सिन सहज हुने गीतानगरकी सुजाता अधिकारीले बताइन् ।

नदी किनारमा शिवमूर्ति, बुद्धमूर्ति, हात्तीहरु तथा गोही निर्माण गरिएका छन् । मानिसहरुको चहलपहल हुने भएका कारण व्यावसाियक स्ट्रिटफुड स्टल, आइसक्रिम, पानीपुरी तथाचटपटे स्टल, पोलेको मकै, फुल्कीको व्यापार यहाँ निकै फस्टाएको छ । सौर्य बत्तीको उज्यालोका कारण गर्मीको समयमा नदी किनारको चिसोमा राति अबेरसम्म पनि टहलिनेहरू थुप्रै हुन्छन् । कोही मोटरबोट सयर गरेर रमाइलो गरिहेका हुन्छन भने माझीहरु माछा आफनो जालमा पार्न खोजिरहेको देखिन्छ । नयाँ वर्ष २०७६ को सुरुवातदेखि नदी किनारमा गण्डक आरतीसमेत सुरु भएको छ । अखण्ड सन्ध्याकालिन गण्डकी(नारायणी महाआरती)ले नारायणी नदी किनारमा अझ रौनकता बढाएको छ। महाआरती दर्शनका लागि आउनेको भीड लाग्ने गरेको छ । पाँचजना बटुकले शंख ध्वनीबाट महाआरतीको प्रारम्भ गरेर करीब ५० मिनेटसम्म धार्मिक विधिअनुसार आरती र भजनकीर्तन हुन्छ। संगीतको मिठो धुनमा हुने भजनसहित महाआरतीले सबैलाई मोहित बनाउँछ ।

त्यसैले नारायणी नदी किनारमा महाआरती सुरु गरेपछि साँझपख मन्त्रमुग्ध भएको छ। झमक्क साँझमा सुस्ताइरहेको नारायणी नदी किनारमा गुञ्जिने भजनले सबैलाई आकर्षित गर्दछ । आरती सुरु भएयता धार्मिक आस्था हुने मात्र नभई आरती गरेको फोटो खिचेर रमाउनेहरू पनि बढेको छ । नारायण नदी किनारलाई चितवनकै महत्वपूर्ण पर्यटकीय गन्तव्य तथा धार्मिक पर्यटनको सम्भाव्यता सहित अघि बढेमा भविष्यमा पर्यटकीय स्थलकै रूपमा विकास हुने कुरामा दुई मत नरहेको नारायणघाटका रेस्टुरेन्ट व्यवसायी सन्तोष पौडेल बताउँछन्। 

शब्द / तस्विर :  सुनिल शर्मा