अवैध बालुवा उत्खननमा संलग्न स्काभेक्टरमा साङ्लो
बेत्रावती, ३० भदौ : नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर (हेभी उपकरण) प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ । नदी र खोलाबाट अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर रोक्न चुनौती देखिएपछि कारवाहीस्वरूप यो वर्ष नियन्त्रणको नयाँ तरिकाअन्तर्गत साङ्लो लगाइएको हो ।
नदीको अवैध उत्खनन गरेर बालुवा निकाल्ने समूहले प्रयोग गर्दै आएका २१ वटा स्काभेक्टरमा ताल्चासहितको साङ्ला लगाइएको प्रहरीले जनाएको छ ।
नदीजन्य सामग्रीको व्यवस्थापनसम्बन्धी ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को टोलीले स्थलगतरूपमा गरेको अनुगमन र अवैध कार्य नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले उत्खननमा संलग्न स्काभेक्टर नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार नदी एवं खोलामा अवैध कार्य गर्ने तथा त्यसको आसपासमा रोकिएका स्काभेक्टरलाई सोही स्थानमै साङ्लो बेरेर ताल्चा लगाई साँचो कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको छ ।
बर्खाको समयमा जिल्लाको त्रिशूली, तादी, लिखु, कोल्पुलगायतका खोलामा अवैधरूपमा बालुवा झिक्ने समूह सक्रिय भएर दोहन बढाएपछि नियन्त्रणका लागि प्रहरी र प्रशासनले यो वर्ष साङ्लो लगाएर कडाइको प्रयास गरेको हो । नदी र खोलामा जारी उत्खनन कार्य रोक्न प्रहरीले नयाँ स्वरूपको सक्रियता चलाए पनि नियन्त्रण भने अझै प्रभावकारी नभएको स्थानीयवासीको गुनासो छ । (रासस)–रामहरि न्यौपाने