बराबरीमा रोकियो आर्सनल

लन्डन । व्यवस्थापकका रूपमा सान्चेजफ्लोरेजको वाटफोर्ड फर्काइ आइतबार राति सुखद रह्यो । वाटफोर्डको घरेलु मैदान भिकारेज रोडमा भएको इंग्लिस प्रिमियर लिग खेलमा आर्सनलले दुई गोलको अग्रता लिएर पनि अन्त्यमा २–२ को बराबरीमा रोकियो ।

पहिलो हाफमा पिएरे एमरिक अबामेयाङले दुई गोल गरेपछि आर्सनल आरामदायी जितसँगै तीन अंक बटुल्ने स्थितिमा पुगेको थियो । तर गत साता मात्र दोस्रोपल्ट टिममा फर्केका फ्लोरेसले आफ्नो टिमलाई खेलमा फर्कन प्रेरित गरे । सुरुआती ४ खेलबाट १ अंकमात्र बटुलेपछि वाटफोर्डले प्रशिक्षक जाभी गार्सियालाई बर्खास्त गरेको थियो ।उनको स्थानमा फ्लोरेस आएका हुन् । बराबरीका लागि आर्सनलको दोस्रो हाफमा कमजोर प्रदर्शन पनि उत्तिकै जिम्मेवार रह्यो ।

टम क्लेभरलीले वाटफोर्डका लागि पहिलो गोल गरेयता रोबर्टो परेराले पेनाल्टीबाट दोस्रो गोल थपे । टिम एक बहुमूल्य अंक जोड्न सफल रह्यो । आर्सनलका लागि यो नतिजाले शीर्ष चारमा रहने होडमा सुरुआती झट्का लागेको छ । एएफपी