स्विस सरकारको सहयोगमा च्छोरोल्पा हिमतालसम्म पदमार्ग निर्माण

            चरिकोट, ९ असोज : नेपालकै सबैभन्दा ठूलो हिमताल च्छोरोल्पा हिमतालसम्म पर्याटकलाई लक्षित गरी स्विस सरकारको सहयोगमा व्यवस्थित पदमार्ग निर्माण सम्पन्न भएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ गौरीशङ्करमा पर्नेे च्छोरोल्पा हिमतालसम्म स्विस सरकारको रु १० करोड आर्थिक सहयोगमा पदमार्ग निर्माण गरिएको हो ।

            गौरीशङ्कर गाउँपालिकाअन्तर्गत गौरीशङ्कर संरक्षण क्षेत्रमा पर्ने नेपालकै सबैभन्दा ठूलो हिमताल च्छोरोल्पासम्म ४० किलोमिटर रोल्वालिङ पदमार्गको निर्माण गरी स्विस सरकारले गौरीशङ्कर संरक्षण क्षेत्र र गाउँपालिकालाई हस्तान्तरण गरेको छ । छोत्छोतदेखि च्छोरोल्पासम्म ३३ किलोमिटर र नादेखि यलुङपाससम्म सात किलोमिटर पदमार्गको निर्माण तथा स्तरोन्नति काम सम्पन्न भएको छ ।

            विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार परियोजना÷भूकम्प आपत्कालीन सहायता आयोजनाअन्तर्गत २०७३ सालदेखि पदमार्ग निर्माणको काम सञ्चालन हुँदैआएको थियो । विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिलाई मध्यनजर गरी पुनःनिर्माण तथा स्तरोन्नतिको माध्यमबाट प्रभावित ग्रामीण जनजीवनलाई सहज गराउने तथा विस्थापित समुदायहरुलाई पुनःस्थापना गराउने उद्देश्यले पदमार्ग निर्माण गरिएको नेपालस्थित स्विस दूतावासले जनाएको छ ।

            आयोजनाले छोत्छोतदेखि च्छोरोल्पासम्म सुरक्षित पदयात्राका लागि आवश्यक रेलिङ तथा साँघुरा बाटा चौडा बनाउने, पदमार्गको ’boutमा जानकारी दिन आवश्यक ठाउँमा सूचना पार्टीको व्यवस्था, पदमार्गमा परेका भूकम्पबाट प्रभावित पाँच वटा झोलुङ्गे पुलको निर्माण तथा मर्मत, पदमार्ग निर्माण तथा मर्मत सम्भारसम्बन्धी तालीम कार्यक्रम सञ्चालन गर्दैआएको थियो ।

            दूतावासले ४० किलोमिटरको पदमार्ग निर्माण गर्नुका साथै पदमार्ग निर्माण तथा मर्मतका लागि आवश्यक पर्ने सबै औजार र विद्युत् सेवा सञ्चालन नभएका कारण पर्यटकलाई सहजताका लागि ३.२ केभीको होण्डा जेनेरेटरसमेत हस्तान्तरण गरेको छ ।

            नेपालका लागि स्विस राजदूत ऐलिजावेथ भोनकयापेलरले दोलखासँग स्विस सरकारको पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै दोलखाको प्राकृतिक सुन्दरतामा पर्यटकलाई आकर्षित गराउन सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले विकास आवश्यक भए पनि विकासले धेरै प्राकृतिक सौन्दर्य नष्ट हुँदै गएका कारण प्राकृतिक सौन्दर्य नबिगारी विकास निर्माण गर्न आग्रह गर्नुभयो ।

            आयोजना प्रमुख सत्यनारायण साहले गौरीशङ्कर संरक्षण क्षेत्र हिमाली जीवजनावरको राम्रो बासस्थान हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको पर्यटकीय केन्द्र भएको बताउनुभयो ।

            दोलखाको उत्तरी क्षेत्र गौरीशङ्कर हिमालको काखमा समुद्री सतहदेखि चार हजार ५८० मिटरको उचाइमा रहेको च्छोरोल्पा हिमताल धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । समुद्री सतहदेखि उच्च भूभागमा रहेको र हिमाली क्षेत्रको अध्ययन अवलोकन तथा भ्रमण गर्नका लागि त्यस क्षेत्रमा धेरै पर्यटकको आगमन हुने गरेको छ । पछिल्लो समय त्यस क्षेत्रमा पर्यटकको चाप बढ्दै गएको र दूतावासको सहयोगमा व्यवस्थित पदमार्ग तथा ठाउँठाउँमा सूचना पाटीको व्यवस्था गरिएको हुँदा आगामी दिनमा पर्यटकलाई अझ सहज हुने गौरीशङ्कर गाउँपालिका प्रमुख स्वयमबहादुर खड्काले बताउनुभयो ।– प्रभु जिरेल (रासस)