मिथिलाञ्चलमा झिझिया नृत्य शुरु
धनुषा, १२ असोज : मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्य आज घटस्थापनादेखि शुरु भएको छ । घटस्थापनाका दिनदेखि दशैँसम्म प्रदर्शन गरिने यो अनुष्ठान महिलाद्वारा नै सञ्चालन, संयोजन र नृत्य प्रस्तुत गरिन्छ । लोक विश्वास र व्यवहारबाट उत्प्रेरित भएर गाउँका ठूलाबडा, धामी–झाँक्रीको विचार र मन्थनबाट बोक्सीको जादुटुनाको प्रतिकारस्वरूप मैथिली समाजको यो लोकनृत्य विकसित गरी बनाइएको बताइन्छ ।
तान्त्रिक विधिअनुसार यसमा बलिरहेको दियो भएको असङ्ख्य प्वाल पारी घैँटो टाउकोमा राखेर नृत्य गरिन्छ । झिझिया नृत्यमा टाउकोमा घैँटो राखेर निरन्तर नाचिरहनुपर्छ । घैँटोमा पारिएका प्वाल बोक्सीले गन्न नसकुन् भनेर नाच्ने महिलाले आफ्नो टाउको पनि हल्लाइरहेका हुन्छन् । बोक्सीले प्वाल गन्न भ्याए नाच्ने महिला ठहरै हुन्छिन् भन्ने जनविश्वास पनि छ । नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिन्छ । बोक्सीलाई गालीका साथै उसलाई धम्क्याउने काम पनि हुन्छ । बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुने र बालबच्चाको सुरक्षा हुने जनविश्वास रहेको छ ।
झिझियालाई आजको दिनमा धार्मिक आस्थासँग जोडेर राख्न असजिलो छ तर यसको लोक सांस्कृतिक पक्षलाई संरक्षण सम्वद्र्धन गर्नु उचित हुने संस्कृतिविद्हरूको भनाइ छ । झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अद्भुत वातावरणको निर्माण हुने संस्कृतिविद् डा रेवतीरमण लालले बताउनुभयो ।
लेखक, साहित्यकार तथा राजनीतिज्ञ रोशन जनकपुरीका अनुसार झिझिया लोक नृत्य धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा र पर्सालगायत जिल्लामा गरिन्छ । त्यस्तै, भारतीय मिथिला क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । “झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो, यसमा बलिरहेको दियो भएको असङ्ख्य प्वाल पारिएको घैँटो टाउकामा राखी नृत्य गरिन्छ”, उहाँले भन्नुभयोे ।
मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । घैँटोमाथि बलिरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन झिझिया नृत्य हो । समाज रूपान्तरणसँगै लोकनृत्य हराउन थाले पनि गाउँघर तथा सहर बजारमा जीवित राख्नकै लागि भए पनि बर्सेनि झिझिया नृत्यको आयोजना गरिँदै आएको छ ।
तराईका विभिन्न क्षेत्रमा समय समयमा बोक्सी प्रकरणका घटना सुनिँदै आएको छ । बोक्सी प्रथालाई कानूनले बन्देज गरेको छ । समाजमा बोक्सीको उपस्थिति रहेको भन्दै सातौँ वा आठौँ शताब्दीतिर बोक्सीको प्रतिकार गर्ने उद्देश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको शुरुआत गरिएको इतिहासकार बताउँछन् ।
गाउँघरमा झिझिया नृत्यले निरन्तरता पाइरहँदा शहरबजारसमेत यो नृत्य अछूतो रहन सकेको छैन । जनकपुरमा अहिले प्रत्येक राति समूह समूहमा महिला झिझिया नृत्य गरिरहेको त्यसै देख्न सकिन्छ । दशैँको समयमा विभिन्न क्लबकै पहलमा झिझिया नृत्यको आयोजना गरिएको पाइन्छ ।
झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्छ । एउटा वा दुईवटा सफा घैँटो किनेर त्यसलाई सफासुग्घर गरी घैँटोभरि प्वाल बनाइन्छ । घैँटोको मुखमा राखिएको ढकनमा आगो सल्काइन्छ । त्यसमा मट्टीतेल हालेर बालिन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ । टाउकामा राखी नृत्य गर्न ‘पूर्वझिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ ।
‘सभ्य गुरुक बन्दे पाउँ । बजर केवाडी बजर बान्हो दशो दुआरी मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो ।’
यसरी मन्त्रिएपछि पाँचदेखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैँटो राखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया नृत्य औपचारिकरूपमा शुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा रहेको छ । प्रत्येक घरबाट पूर्णाहुतिका लागि केही अन्न र रुपैयाँ चन्दा माग्ने गर्छन् । त्यही मागिएको रकम जोडेर विजयादशमीको दिन पूजापाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुन्छ ।
झिझियालाई बचाउन मिथिलाञ्चलमा विशेष प्रयास शुरु भएको छ । मिथिला नाट्य कला परिषद् (मिनाप) ले नेपाल र भारतका विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा लिने गरेको छ । मिनापले केही वर्षयता ५०० भन्दा बढी झिझिया नृत्य प्रदर्शन गरिसेको छ । जनकपुरकै देवी चोकमा रहेको राजदेवी युवा क्लबले दशैँको बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ । दशैँकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबको भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुती हुने गर्छ । यस्तै सिरहा र सप्तरीमा समेत प्रत्येक वर्ष झिझिया प्रतियोगिताको आयोजना हुने गरेको छ ।– अजयकुमार साह (रासस)