गोदावरीमा कुण्ड र धर्मशाला बन्दै

प्रत्येक १२ वर्षमा सिंहास्त मेला अर्थात् कुम्भमेला लाग्ने साविकको गोदावरीमा अवस्थित गोदावरी कुण्ड र धर्मशाला निर्माणको काम धमाधम अघि बढेको छ । साढे दुई वर्षअघि नगरपालिका गठन भएपछि अघि बढाइएको सो योजनाअन्तर्गत कुण्ड र धर्मशाला निर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको बताइएको छ ।

सो कुण्ड फराकिलो पार्ने, ’round मर्मत तथा सुधार गर्ने, पर्खाल लगाउने, सिँढी बनाउने र रेलिङ हाल्ने काम करीब समाप्त भइसकेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । “नगरपालिकाले कुण्ड बाहिर पर्र्खाल लगाउन र लामाकुण्डा मर्मत तथा सुधारका लागि ‘गोदावरी–लामाकुण्ड’ शीर्षकअन्तर्गत रु ५० लाख सहयोग गरेको छ”, महर्जनले भन्नुभयो, “गत विसं २०७२ को १२ वर्षे मेलामा उठेको रु ४७ लाख चन्दा र नगरपालिकाले कुण्ड मर्मतका लागि दिएको रु एक करोड गरी हाल रु एक करोड ४७ लाखबाट काम धमाधम अघि बढेको छ ।”

यसैगरी हाल कुण्ड नजिकै दुईतले भवन धर्मशालाको रुपमा निर्माण भइरहेको छ । सो धर्मशाला निर्माणको लागि रु दुई करोड रकम सङ्कलन भएको छ । नगरपालिकाले रु ६० लाख, प्रदेश सरकारबाट रु एक करोड र वडाले रु ४० लाख सहयोग गरेको सो नगरपालिका–३ वडाध्यक्ष बालमुकुन्द घिमिरेले बताउनुभयो । “प्रदेश सरकार, नगरपालिका र गोदावरी कुण्ड संरक्षण तथा व्यवस्थापन समितिले संयुक्तरूपमा निर्माण हुँदैछ, यस धर्मशालामा टाढा–टाढाबाट धार्मिक महत्वका साथै अन्य विशेष योजना लिएर गोदावरी आउने मानिसलाई बस्न दिइने छ”, घिमिरेले भन्नुभयो, “गोदावरीमा प्रत्येक वर्ष आउने भिक्षु, सन्त, महन्त र विशिष्ट व्यक्तिले सो धर्मशालाको सुविधा लिएर गोदावरीको भ्रमण अध्ययन तथा अवलोकनलाई प्रभावकारी बनाउन सक्नेछन् ।” सम्बन्धित व्यक्तिको अनुमति लिएर आवश्यक परेको खण्डमा सो भवनमा इच्छुक व्यक्तिले शुभकार्यदेखि बैठक, भजन र कीर्तन गर्न पाउने घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकाले यस चालू आर्थिक वर्षमा गोदावरीमा अघि बढिरहेको विकास निर्माणको कामलाई बढवा दिन रु ५० लाख रकम पुनः सहयोग गरेको छ । नेपाल सरकारले कुण्ड निर्माणका लागि छुट्टै सहयोग गरेको अर्काे ४० लाख रुपैयाँ गरी कूल रु ९० लाखको योजना अघि बढाउने बताइएको छ । सो रकमले गोदावरी कुण्ड ’round १०० फिट लम्बाइ र १० देखि ५० फिट चौडाइमा फैलिएको पोखरी ढलान गर्ने, मुख्यचोक र बजार क्षेत्रमा सडकबत्ती हाल्ने, कुण्डभित्र रहेका पञ्चदेवल मन्दिर र कुण्ड बाहिर सार्वजनिक शौचालय निर्माण गर्ने, आश्यक परेको स्थानमा थप पर्खाल लगाउने सो संरक्षण समितिका अध्यक्ष मदुसुधन पौडेलले जानकारी दिनुभयो । “समितिले कुण्डभित्र छानो बनाउने, भक्तपुरे इँटा लगाउने, अग्राखको झ्याल, ढोका र टुँडाल राख्ने, छानो निर्माण सम्पन्न भएपछि तामा हाल्नेछ”, पौडेलले भन्नुभयो, “कुण्डभित्रको वातावरण सफा र हराभरा राख्न, हाल सञ्चालनमा रहेको पोखरी र पोखरीमा रहेका पाँच धाराको सुविधा कुण्ड बाहिर दिन लागिपरेका छौँ ।”

सिंहास्त मेलामा भक्तजनबाट उठेको दान र चन्दा रकमले कुण्ड मर्मत तथा सम्भारमा निकै सहयोगी भूमिका खेल्ने गोदावरी कुण्डा तथा सिद्धेश्वर महादेव मन्दिरका पुजारी शम्भु पुरीले जानकारी दिनुभयो । गोदावरी कुण्ड र सो कुण्डभित्र रहेको सिद्धेश्वर महादेवको महिमा प्राचीनकालबाट अघि बढेको हो । पाँच पुस्ता अघिदेखि सो कुण्ड र महादेवको सेवामा जुटेका पुरीले भन्नुभयो, “प्राचीनकालमा ‘बहादुर पुरी स्वामी’ नामक बाबा गोदावरीमा एक कुटी बनाएर तपस्या गरी बस्थे । बाबाले तपस्या गर्दै जाने क्रममा एक दिन उहाँको आँखा खुलेछ, बाबाले एउटा गाई चर्दै कुण्डमाथिको वनबाट तल झरेको देखेछन् । लौ गाई त चर्दै तल झरेछ । चिप्लियो भने मर्छ भनी धपाएरमाथि वनतर्फ पठाउने क्रममा गाई विपरीत दिशातर्फ भागी चिप्लेर मरेछ । गाई मरेपछि गौ हत्या लाग्ने चिन्तामा परेका सो बाबालाई एक दिन सपना भएछ । उहाँले १२ वर्ष दक्षिण गोदावरीको स्नान गरे पाप मुक्त हुने सपना देख्नुभएछ । बाबाले १२ वर्षसम्म दक्षिण गोदावरीमा स्नान गरेपछि गङ्गा प्रशन्न भएर उत्तर गोदावरीमा आउने बचन दिनुभएछ । बाबाले सो बचन पाएको भोलिपल्ट सो कुटी ’round टन्न पानीले भरिएछ । बाबाको त्रिशूल, कमण्डलु र विगत एक छेउमा पाखा लागि उहाँ अलप भएपछि उत्तर गोदावरीको महत्व झल्किएको हो ।”

सो बाबाको मुक्तिपछि १२ वर्षसम्म गरेको पाप मेला भरेपछि समाप्त हुने विश्वास हिन्दूधर्मावलम्बीमा रहेको छ । गोदावरी अघि बढाइएका यी योजना पूर्णरुपमा समाप्त भएपछि झन् बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने गोदावरीवासीले अपेक्षा गरेको छन् । यस वर्ष दशैँको नौरथा लागेसँगै सो मन्दिरको दर्शन गर्न आउने भक्तजनको भीड लागेको छ । विशेषगरी गोदावरीको नौधारामा रहेकी देवीको दर्शन गर्न आउने भक्तजनले गोदावरी कुण्डमा पनि स्नान गर्ने गरेका छन् । सो सिद्धेश्वर मन्दिरमा नेपाली पर्वअनुसार सङ्क्रान्ति, औँशी, पूर्णिमा र एकादशीमा मानिसको ठूलो भीड लाग्ने गर्छ । उत्तर गोदावरीको रुपमा परिचित सो कुण्ड वा मन्दिर लगनखेलबाट १० किलोमिटर पर अवस्थित छ । हाल सो कुण्डको पानी यसै वडाको १ गोदामचौर, २ विशङ्खुनारायण र ३ टौखेल वडाका करीब ३० हजार उपभोक्ताले उपभोग गरिरहेको वडा नं ३ ले जानकारी दिएको छ । वृहस्पति सिंह राशिमा प्रवेश गरेका बेला प्रत्येक १२ वर्षमा भाद्र महीनाभर गोदावरीमा सिंहास्त मेला लाग्ने गर्छ ।- रासस