चिम्पान्जी बसेको पेन्टिङ एक अर्ब १३ करोड रुपैयाँमा बिक्री

बेलायतमा एक पेन्टिङ एक अर्ब १३ करोड रुपैयाँभन्दा बढी रकममा बिक्री भएको छ । बेलायतको संसदमा चिम्पान्जी बसेको बनाइएको पेन्टिङ बोलकबोल खुला भएको १३ मिनेटमा नै बिक्री भएको हो । 

सोथेबी अक्सन हाउसका अनुसार ’विकसित संसद’ शिर्षक दिइएको उक्त पेन्टिङ १० जनाले बोली लगाएका थिए । जसमा १३ मिनेटमा नै उक्त पेन्टिङ बिक्री भएको थियो। सोथेबीको अक्सन हाउसले बिहीबार उक्त पेन्टिङको मूल्य २० देखि ३२ करोड मूल्य राखेको थियो । तर अनपेक्षित रूपमा उक्त पेन्टिङ एक अर्ब १३ करोड ५४ लाख रुपैयाँमा बिक्री भएको हो । 

तेलको पेन्टिङमा चिम्पान्जी बेलायतको संसद हाउस अफ कमन्सका हरियो कुर्सीमा बसेका देखाइएको छ । उक्त पेन्टिङको लम्बाई १३ फिट रहेको छ । उक्त पेन्टिङ तयार पार्ने कलाकारको नाम उल्लेख गरिएको छैन । ब्रिस्टलमा जन्मिएका ती कलाकार राजनीतिक र सामाजिक विषयसँग जोडिएका पेन्टिङ बनाउने रूपमा संसारभर परिचित छन् ।