ग्यास सिलिन्डर पड्किँदा १० जनाको मृत्यु

भारतको उत्तर प्रदेशको मऊ जिल्लास्थित एउटा घरमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोटन हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सोमबार विस्फोटनका कारण उक्त दुईतले घर भत्किएको छ । उद्धारकार्य जारी रहेको छ। घरको भग्नावशेषमा अरू मानिस पुरिएको हुन सक्ने अधिकारीहरूले बताएका छन् । ठूलो विस्फोटनको आवाज सुनिएको र त्यसपछि उक्त घरमा आगो लागेको आफूले देखेको छिमेकीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । एक वरिष्ठ अधिकारी अवनीश अवस्थीले समाचारसंस्था पीटीआईलाई बताए अनुसार मुख्यमन्त्रीले उक्त घटनामा परेका व्यक्तिका परिवारजनसँग समवेदना प्रकट गर्दै घाइतेहरूलाई सम्भव भएसम्म सबै राहत र चिकित्सकीय सहायता तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । बीबीसी