फुटको ज्ञान
सक्कली कि नक्कली ? सक्कली पार्टी त यो हो । नक्कली खोजेको भए उताको पार्टी हो । देख्दैनौ यहाँ एकसेएक सबै छन् । उता दुई चार जनालाई देख्दैमा पार्टी नै उतै भनेर भ्रममा नपरे हुन्छ ?

यतिखेर पंक्तिकार बडो दुःखी छ । कुनै बेला पार्टी किन फुटेन भनेर पार्टी फुट्ने कामना गरिरहन्थ्यो भने यतिबेला पार्टी किन फुट्यो भन्नेमा शोकाकूल छ । पंक्तिकारलाई पूर्ण विश्वास थियो – पार्टी कुनै पनि हालतमा फुट्दैन । भलै सय ठाउँमा चिरा परोस् वा सिद्धान्त र विधानमा कीरा परोस् । पार्टी भन्या पार्टी हो, हात्ती र हात्तीछाप चप्पल जस्तै भइरहेको पनि त्यही हो ।
तर पार्टी फुट्यो । साउनमा आँखा फुटेको गोरुले बरु संधै हरियो नदेख्ला तर पंक्तिकारले संधै पार्टी जुटेकै देख्छ । यसपटक तयसो भएन । सपनामा पनि नचिताइएको कुरा विपनामा भयो । यसैले पंक्तिकार शोकमग्न भयो । पंक्तिकारलाई शोकमग्न हुने अधिकार पनि त छ नि । पार्टीको सक्रिय सदस्य पो हो । सक्रिय सदस्यलाई त्यति अधिकार कसो नहुनु ! सक्रिय सदस्यले पार्टी फोड्न र जोड्न पो सक्तैन । तर शोकमग्न हुन त सक्छ नि । दुःखमा कामचलाउ टाइपको दुईचार थोपा आँसु चुहाउन कसो नसक्ला ।
पंक्तिकारलाई एकाएक सक्रिय सदस्यता प्राप्त भएको ज्ञानबोध भयो । अरु बेला सक्रिय हुन नपरे पनि यो शोकको बेला त सक्रिय हुनैपर्छ भन्ने लाग्यो । अर्थात् शोकलाई शक्तिमा बदलौं । अर्थात शोकलाई सरकारमा बदलौं ।
फुटलाई जुटमा र शोकलाई शक्ति बदल्न पंक्तिकार घरबाट निस्क्यो । कम्तीमा यतिबेला त आफैलाई पनि सक्रिय सदस्य हुँ भन्ने बोध गराउनै प¥यो ।
पंक्तिकार सर्वप्रथम फुटेको भनिएका नेताकहाँ पुग्यो । त्यस्तो के आइप¥यो फुट्न पर्नेगरी । फुट्ने कुरा गर्नु एउटा, फुटिहाल्नु अर्को कुरा । त्यहाँ बडो भीडभाड रहेछ । सबै टाँसिएर बसेका रहेछन् । मानौं कुनै हालतमा पनि फुटेको वा टुक्रेको होइन । फुट त त्यहाँ देखिंदैनथ्यो । बरु सप्पै एकापसमा लपक्कै जोडिएको देखें । पंक्तिकारलाई गलत ठाउँमा पो आएँ कि जस्तो लाग्यो ।
नेताजी भन्दै हुनुहुन्थ्यो – साथीहरु हामी फुटेका होइनौं है । हामी त फुटका घोर विरोधी हौं । हामीले त पार्टीलाई सही ठाउँमा पो ल्याएका हौं । अव यो गरीब मजदूर शिक्षक विद्यार्थी जागीरे सबै जनताको पार्टी हो । हाम्रँै पार्टी नै आधिकारिक हो यसमा शंका नगर्नोस् ।
फुटेको भनिएका नेता त जुट्ने नेता पो रहेछ । शायद फुट्ने नेता अर्कै पो होला । नेताजीले शंका नगर्नोस् भनेपछि कसरी शंका गर्नु ! पंक्तकारलाई संतोष प्राप्त भयो ।
त्यसपछि पंक्तिकार अर्को नेताकहाँ सक्रियतापूर्वक कुद्दै गयो ।
त्यहाँ पनि भीडभाड नै रहेछ । त्यहाँ त पक्कै कोही नहोला । भएकाहरु पनि हाई काढ्दै र झिंगा धपाउँदै उदास अनुहार बोकेर बसिरहेका होलान् भनेको त उल्टो पो देखें । सबैको अनुहार चहकिलो र संतोषप्रद मुद्रामा थिए । नेताजी बडो आरामी मुदामा बसिरहनुभएको थियो । के अचम्म हो यो ! अनुहारमा कुनै तनाव चिन्ता छैन । पार्टीका कार्यक्रमहरुमा संधै मञ्च ढाक्नेहरु नै नेताजीलाई घेरा हालेर बसिरहेका थिए । घेरा नहुँदो त नेताजी पनि उतै लाग्लान् जस्तो । चिनिएका एक से एक हनुमान प्रसादहरु नेताजीको सेवासुश्रुषा गर्दै थिए । कोही कान फुक्दै थिए । तिनलाई देखेर पंक्तिकारलाई एकछिन त के भ्रम भयो भने पार्टी त यहाँ पो रहेछ । त्यसो भए उता के होला त ?
– नेताजी हाम्रो पार्टी यो हो कि उताको हो ?, पंक्तिकारले अन्यौल मेट्न जिज्ञासा रख्यो ।
– सक्कली कि नक्कली ? सक्कली पार्टी त यो हो । नक्कली खोजेको भए उताको पार्टी हो । देख्दैनौ यहाँ एकसेएक सबै छन् । उता दुई चार जनालाई देख्दैमा पार्टी नै उतै भनेर भ्रममा नपरे हुन्छ ?, नेताजीले भन्नुभयो ।
– नेताजी केही साथीहरु त उतै लागेछन् ।
दुई चार जना उता लागेर हुन्छ ! आधिकारिक पार्टी त यही हो नि । अब निर्वाचन आयोगले चुनाव चिन्ह दिएपछि त झन कुरै सिद्धिन्छ । नेताजीको नजिक बसेका ठूलै चम्चाले तर्क राख्यो ।
नेताजी फलानो फलानो केन्द्रिय नेताहरु उतै छन् । तिनलाई रोक्न केही त गर्नै प¥यो, नत्र पार्टी खतम हुन्छ, पंक्तिकारले चिन्तायुक्त स्वरमा आग्रह ग¥यो ।
– खै को गा”छ उता ? महामन्त्री भाइराजा गाछ उता ?, नेताजीले सोध्नुभयो ।
– छैन ।
– कोष हेर्ने स्यालबाबु गाछ ?
– छैन ।
– सल्लाह दिने भालुप्रसाद गाछ ?
– छैन ।
– भाञ्जी सुन्दरीमैयाँ, छोरीज्वाइँ मामाससुरो जेठान, भाउजु कोही गा छ ?
छैन ।
ती सबै त नेताजीकै ’roundि घेरेरै बसेका छन् ।
अनि कसरी पार्टी फुट्छ ! सबै त यहीं छन् । तिमीहरु ढुक्क होऊ, पार्टी फुटेको छैन, कदापि फुट्दैन । म सबैलाई मिलाएर लान्छु । यसमा कुनै चिन्तै नलेऊ, नेताजीले पार्टीमा सबैलाई देखेपछि ढुक्क भएर भने, पार्टी कसरी फुट्छ ? कोही गएको भए पो पार्टी फुट्नु ! पराइहरु पो गए आफन्तहरु त सबै छन् आँखा अगाडि ।
पार्टी त परिवारभित्रै रहेछ । पंक्तिकारलाई बल्ल दिब्यज्ञान प्राप्त भयो ।