उपनिर्वाचनका लागि उम्मेदवार छनोट

कावासोती, १९ कात्तिक : नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका–५ मा हुने अध्यक्ष पदको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले उम्मेदवारको टुङ्गो लगाएको छ ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले उम्मेदवारको टुङ्गो लगाएको हो । नेकपाले वडाध्यक्षका लागि खिमबहादुर थापा खरुमगरलाई निर्वाचनमा उठाउने सर्वसम्मत निर्णय गरेको छ । जिल्ला कमिटीको बैठकले सर्वसम्मतरूपमा खरुमगरलाई वडाध्यक्ष पदमा उठाउने निर्णय गरेको नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाले बताउनुभयो । खरुमगर बौदीकाली–५ नेकपाको वडा कमिटी सदस्यका रुपमा रहनुभएको छ । तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष दलबहादुर खरूमगरको हृदयघातका कारण निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनलागेको हो ।

बाजुरा त्रिवेणी नगरपालिका–१ मा वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसले सर्वसम्मत उम्मेदवार छनोट गरेका छन् । उपनिर्वाचनका लागि सर्वसम्मत उम्मेदवार छनोट गरिएको दुवै पार्टीका नेताले जनाएका छन् । नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित खम्म नेपालीको २०७५ असार १३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन हुनलागेको हो।

उपनिर्वाचनका लागि नेकपाले मनोज बुढालाई उम्मेदवार बनाएको छ भने नेपाली काङ्ग्रेसले खगेन्द्र चदारालाई उम्मेदवार बनाएको छ । पार्टीकै सर्वसम्मतिबाट पुरानै प्रतिस्पर्धी भएकाले बुढालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको नेकपाका सचिव भरत बुढाले बताउनुभयो । तत्कालीन नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका बुढा ३५ मतले पराजित हुनुभएको थियो । (रासस)