ओलीलाई ‘काउण्टर अट्याक’: नेपाल रुष्ट, के गर्छन प्रचण्ड ?


रमेश पराजुली

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था केहि दिन यताबाट खस्किँदै गएको देखिन्छ । उनको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गर्न छाडेको चिकित्सकले उल्लेख गरेका छन् । मिर्गौलाले सहजसँग काम गर्न छाडेपछि ओली नियमित स्वास्थ्य परीक्षण गराईरहेका छन् । 

तर, स्वास्थ्य अवस्था सामान्य नरहेका प्रधामन्त्री ओली झन् सक्रिय भएर काममा लागेका छन् । प्रधानमन्त्री ओलीको आइतबार पनि उपचार भयो । त्यसपछि सिधै सरकारी निवास बालुवाटार पुगेर मन्त्रीपरिषदको बैठक बसे । मन्त्रीपरिषद्को बैठकबाट सातवटै प्रदेश प्रमुखहरुलाई पदमुक्त गराइदिए । 

त्यसलगत्तै सोमबार बिहान नेकपाको सचिवालय बैठक बस्यो । बैठककबाट आगामी मंसिर  १४ गते हुने उपनिर्वाचनको टुङ्गो लगाईयो । उम्मेदवारको टुङ्गो लगाएपछि सचिवालयकै बैठकबाट नयाँ प्रदेशप्रमुखको नाम सिफारिस गरियो । 

सोमबार सिफारिस भएका नयाँ प्रदेश प्रमुखहरुले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । मंगलबार विहान राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखहरुलाई शपथ गराईन् । 

सरकारले सोमबार कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रदेश १, बाँकेका तिलक परियारलाई प्रदेश २, झापाका विष्णु प्रसाईंलाई प्रदेश ३, म्याग्दीमा जन्मिएर चितवनलाई राजनीतिक थलो बनाएका अमिक शेरचनलाई गण्डकी, सिरहाका धर्मनाथ यादवलाई प्रदेश ५, बैतडीका गोविन्द कलौनीलाई कर्णाली प्रदेश र काठमाडौंकी शर्मिलाकुमारी पन्तलाई सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख सिफारिसको बिषयलाई लिएर नेकपाभित्र हलचल पैदा भएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकलौटी रुपमा प्रदेश प्रमुख सिफारिस गरेको आरोप लगाए । अहिले प्रदेश प्रमुखको बिषयलाई लिएर नेता नेपाल रुष्ट छन् । 

तर, पार्टीभित्र केहि सयम यताबाट अध्यक्षद्धय ओली र प्रचण्डबीच पनि दरार सिर्जना भएको नेकपा स्रोतको दावी छ । विभिन्न कार्यक्रमहरुमा ओली र प्रचण्डले आफूहरुबीचको सम्बन्धमा कुनै खटपट नआएको बताउँदै आएको थिए । नेकपा स्रोतका अनुसार ओली र प्रचण्डले भित्री रुपमा आफू निकट नेताहरुसँग सहकार्य गर्दै गुट सिर्जना गरिरहेको    पाइन्छ ।  

प्रचण्डले नेता झनाथ खनालसँग नजिक भएको नेकपा स्रोतको दावी छ । प्रचण्डले पार्टी एकताको बिषयमा भएका सम्झौतालाई ओलीले लत्याउन खोजेजस्तो देखिएपछि असमझदारी बढेर गएको स्रोतको दावी छ । आलोपालो सरकार चलाउने बिषयमा ओली प्रचण्डबीच सहमति भएको दावी गरिँदै आएको छ । जुन सहमति अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

नेता नेपाल किन भए रुष्ट ? 

प्रदेश प्रमुखहरुको सिफारिस ओली र प्रचण्डले आफूखुसी गरेको भन्दै नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल यतिबेला रुष्ट देखिएका छन् । एकपक्षीय ढंगले प्रदेश प्रमुख सिफारिस गरेको भन्दै नेता नेपाल रुष्ट भएका हुन् । सोमबार बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख नियुक्तिका लागि सरकारलाई नाम सिफारिस गर्ने निर्णय लिएको थियो ।  

नेता नेपालले आफ्ना तर्फबाट प्रदेश प्रमुखमा विश्वकान्त मैनाली, रघु पन्त, अमृत बोहोरा, श्रीमाया थकाली र बेदुराम भूषाल लगायतको नाम प्रस्ताव गरेका थिए । तर, ती कुनै पनि नाम प्रदेश प्रमुखमा सिफारिस नगरेपछि ओली र प्रचण्डसँग नेता नेपाल रुष्ट भएको बुझिएको छ ।

यसो भन्छन् प्रचण्ड

नेकपाका अर्का अध्यक्ष प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री हुने बताउँदै आएका छन् । ओलीको स्वास्थ्य बिग्रँदै गएपछि अध्यक्ष प्रचण्डले पार्टी एकताको बेलामा गरेका सम्झौता सम्झिएकै कारणले आफू प्रधानमन्त्री हुने बताएको हुनसक्छ । 

मंगलबार नेपालगञ्ज पुगेका प्रचण्डले आफु फेरि प्रधानमन्त्री हुने बताएका थिए । नेपाल असतुष्टि प्रकरणमा पनि प्रचण्डले उनले असतुष्टि पोख्नु जायज भएको बताउँछन् ।

कांग्रेसको असतुष्टि

आइतबार बसेको मन्त्रिपरिषदको सिफारिस तत्कालिन कांग्रेस सरकारले नियुक्त गरेका सातै जना प्रदेश प्रमुखलाई हटाउने निर्णयपछि कांग्रेसले असतुष्टि जनाएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले यस्तै गतिविधि गरिरहेमा कांग्रेस आन्दोलनमा जाने बताएका छन् । सोमबार सिन्धुपाल्चोक पुगेका देउवाले सरकारले अधिनायकवादको आचरण देखाएको आरोप लगाए । 

प्रदेश प्रमुख हटाएर सरकारले गलत काम गरेको बताउँदै जनताको पक्षमा कांग्रेसले आवाज उठाइरहको भएकाले आगामी दिनमा पनि सरकारले यस्तो कदम नसच्याए कांग्रेस त्यसको प्रतिरोधमा उत्रने उनले चेतावनी दिए । -सरल पत्रिका