प्रतीकात्मक दुई सन्दर्भ

कुनै पनि कारण

साँझपखको बेला एउटा ठूलो मान्छे चौरमा पल्टेर बसिरहेको थियो । ऊ सम्भवतः भोकले छटपटाइरहेको थियो । यसै वखतमा उसले देख्यो – एउटा सानो मान्छे अनुहारभरिको पसिना पुछ्दै त्यहीँ चौरमा टुक्रुक्क बस्न आइपुग्यो र सुस्ताउन थाल्यो । त्यो शायद दिनभरिको मेहनतले थाकेर आएको हुनुपर्छ ।

केही बेरपछि त्यो सानो मान्छेले पटुका फुकाएर त्यसबाट खानेकुरा झिक्दै मुठ्ीबाट फाँको फाँको गरी खान थाल्यो । सानो मान्छेको अनुहारमा यसबखत एउटा परम तृप्ति र निश्चिन्तता थियो ।

यो देखेर त्यो ठूलो मान्छे अनाहकमा रिसले र डाहले मुर्मुरियो । हुनसक्छ उसले आफूभित्रको भोक सम्झेको होस्।

ए सुन् , तैँ होइन मेरो घाम र हावा सित्तैमा हडप्ने ?

हैन हजूर, मेरो घर त एकतल्लाको सानो छ । हजूरको ठूलो घरले त झन मेरो पो घाम र हावा छेकेर खाइदिएको छ ।
नियम विपरीत चलेर मर्यादा भङ्ग गर्ने तैँ होइन ?

हैन हजूर नियम अनुसार त चल्दै आएको हुँ । हजूर नै होइन र गएको राती रक्सी टन्न पिएर सडकमा जथाभावी गर्ने ? , मैले त झन हजूरलाई ज्यादा नपिउनुस् भनेर भनेको .. मबाट कहाँ भयो र मर्यादा भङ्ग …?

भो बर्ता नकरा, ठूलो मान्छेको अगाडि एक्लै खान लाज लाग्दैन ? पाहुनाको सत्कार गर्नु पर्दैन ?

हजूर यो चोरेर ल्याएको हैन र यस्तो अति साधारण खानेकुरा हजूर जस्ताले खान सुहाउँदैन ।

तँ कति मात्तिएको …तँ जस्ताले हामीसँग मुख लागेर बोल्ने हो ? असभ्य, तेरो मर्यादा यही हो ? तेरो यहाँ बाँच्ने अधिकार छैन। …सानो मान्छेले प्रतिवाद गर्न खोज्यो । तर यति भन्दाभन्दै ठूलो मान्छेले सानो मान्छेलाई क्वाप्लाक्कै निल्यो ।
त्यसपछि समय झमक्क कालो भयो – रात झैं ।

दृश्य परिवर्तन

चोकमा घर भएका दुईचारजना केटाकेटीहरु खेलिहेका थिए । बीचबीचमा ती आपसमा एकअर्कोलाई छक्याउने र खेलमा रोचकता थप्न आइन्दा यसो गर्न पाइन्छ या उसो गर्न पाइन्न भन्दै नियम बनाउँदै र संशोधन पनि गरिरहेका थिए ।

यसैबेला छिमेकको केटो आयो र ’emको खेल हेर्न थाल्यो । केही बेर हेरेपछि उसले भन्यो – म पनि खेलूँ है ?
संधै देखिरहने भेटिरहने र चिनेजानेकै भएकाले उनीहरुले नाइँ भन्न सकेनन् । ऊ खेलमा सामेल भयो ।

एकछिन पछि छिमेककै अर्को केटो पनि घुम्दैफिर्दै आइपुग्यो । केही बेर खेल हेरेपछि उसले पनि खेल्न रुचि देखायो । उनीहरुले नाइँ भन्ने कुरै भएन । ऊ पनि खेलमा सामेल भयो ।

यसैगरी पल्लो छेउमा बस्ने अरु दुईचार केटाहरु पनि खेलमा थपिन आए । तिनलाई लिएर उनीहरुबीच खेल्न दिने कि नदिने भन्ने ’boutमा कोहीले दिने कोहीले नदिने भन्नेमा निर्णय गर्न नसकेपछि अन्यौलकै बीचमा ती खेलमा सरिक भइहाले।

अब खेल पहिला जस्तो रहेन ।

पछि आएका केटाहरु खेलमा माहिर भएर हो वा पहिलादेखि खेलिरहेकाहरु थाकेर हो खेलमा परिवर्तन आयो ।
आफ्नै घरआँगनमा खेलिरहेका ती केटाहरु अब खेल्न छोडेर अरुको खेल हेर्ने दर्शकमा रुपान्तरित भए ।