हात्तीको आक्रमणबाट दुईको मृत्यु


चितवन, ३० कात्तिक : माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको हो ।

मृत्यु हुनेमा माडी नगरपालिका वडा नं १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका छन् । दुवै जना लु३१प २९११ नंको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा घटना भएको हो । हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिनुभयो । घटना आज बिहान ७ः३० बजेको समयमा भएको हो । (रासस)