प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष, ओली पाँच वर्ष नै प्रधानमन्त्री

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएका छन् । नेकपा सचिवालयको बुधबार बसेको बैठकले प्रचण्डलाई कार्यकारी अधिकार सहितको अध्यक्ष बनाएको हो । 

केपी शर्मा ओलीले सरकारको पूर्ण जिम्मेवारी र प्रचण्डले पार्टीको पूर्ण जिम्मेवारी दिने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकको अध्यक्षता भने दुवैको संयुक्त अध्यक्षतामा हुने निर्णय भएको बताए । 

यसअघि केपी शर्मा ओली नै कार्यकारी अध्यक्ष भूमिका निर्वाह गरेका थिए । तर पनि बैठकको अध्यक्षता संयुक्त गर्ने गरिएको थियो । नेकपाभित्र दुबै नेताको वरीयता भने बराबर हुनेछ ।