देवघाटमा सत्बीज छरियो

चितवन, ९ मङ्सिर : पवित्र तीर्थस्थल देवघाट धाममा सत्बीज छर्नेको घुइँचो लागेको छ । रातभर सो क्षेत्रमा जाग्राम बसेर तीर्थालुले दीपप्रज्वलन गरी आज सत्बीज छरेका हुन् ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार राति दीपप्रज्वलन गरेर बस्नेको सङ्ख्या एक लाखभन्दा बढी रहेको थियो । समितिले टेण्ट र त्रिपाल लगाएको भए पनि ती स्थानमा नअटेपछि भक्तजनले खुल्ला आकासमुनि जाग्राम बसी दीपप्रज्वलन गरेका थिए । रातिदेखि बस्ने र बिहानै देवघाट पुग्नेको भीड लागेको छ । सडक र ढलानबाहेकका स्थानमा सत्बीज छर्न समितिले आग्रह गरेको छ ।

आज बालाचर्तुदशी पर्व, सत्बीज छरेर मनाइँदै छ । दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सत्बीज छर्ने चलन छ । सत्बीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चिरशान्तिको कामना गर्दै सत्बीज छर्ने चलन छ । सत्बीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै सत्बीज छर्ने चलन छ । बालाचतुर्दशीमा एक गेडा सत्बीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिडालु र हलेदोका टुक्रा सत्बीजका रुपमा छर्ने गरिन्छ ।(रासस)