जुरुक्क उठेर बोल्लान जस्ता सोमेश्वरगढीका ढुंगा

काठमाडौं । नेपाल–भारत सीमाको सोमेश्वरगढी जंगलका भीमकाय ढुंगाहरु जुरुक्क उठेर हिँड्छन् कि झैं भएका छन् । सीपले खारिएका कलाकारले छिनुले ठुँगेर ती मौन ढुंगामा कला रोपण गरेपछि जीवन्त बेनका छन् । अनकन्टार झैं लाग्ने सोमेश्वरगढीको जंगल यतिबेला चलायमान भएको छ दर्शकहरुको आवतजावतले । जंगलमा लेउले छोपिएर बसेका ती ढुंगामा अनेक कला कोरिएपछि अब सिंगो क्षेत्र खुला संग्रहालयमा परिणत भएको दर्शकहरुको भनाई छ ।

नेपालका ख्यातिप्राप्त कलाकारले जंगलका ढुंगामा रचेको कलाकारिताले यतिबेला हजारौं मानिसको ध्यान खिचेको छ । खुला संग्रहालयका रुपमा खुलेको प्रस्तर कलाले दर्शकको मन त खिचेको छ नै नेपाल भारत सीमाको सोमेश्वरगढीको मुहारमा नौलो चमक पनि थपिदिएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र माडी नगरपालिकाको सहकार्यमा भएको खुला संग्रहालयका लागि १८ दिनसम्म कला कार्यशाला गरिएको थियो । सिल्पी कलाकारले प्रस्तर (ढुंगा) मा कला कुँदेर तयार पारेको विभिन्न आकृतिले यतिबेला दर्शकको मन हरिरहेको देखिन्छ भने कलाकारहरु पनि आकर्षणको केन्द्र बनेका छन् ।
कात्तिक २३ गतेदेखि सुरू भएर लागातार १८ दिनसम्म चलेको सो कार्यशालामा २९ जना मूर्तिकारहरुले ४६ वटा कलाकृति सिर्जना गरेको कार्यशालामा सहभागी मूर्तिकार राजु पिठाकोटेले सुनाए । राजुका अनुसार नेपाल भारतको सिमानामा रहेको सोमेश्वरगढीसँगै गरिएको यस किसिमको कार्यशालाले सीमा रक्षामा समेत ठूलो महत्व राख्नेछ ।


कलाकार राजु हिउँमा कलाकृति रचना गर्ने विश्वकै परिचित कलाकारमध्येमा पर्छन् । उनको समूहले फ्रान्स लगायतका मुलुकमा आफ्नो कला प्रस्तुत गरेर नेपालको नाक ठड्याईसकेको छ ।
सोमेश्वरगढीमा भने कलाकृतिहरु कुनै मूर्त र कुनै अमूर्त तथा अर्ध अमूर्त शैलीका छन् । मूर्तिकारहरुले सोमेश्वरगढी क्षेत्रकै जंगलमा बास बसेर १८ दिनसम्म त्यहाँका भीमकाय ढुंगाहरूलाई जिवन्त बनाएका छन् ।

कार्यशालामा नेपालका ख्यातिप्राप्त मूर्ति कलाकारहरु राजु पिठाकोटे, लक्ष्मण भुजेल, उत्तम डंगोल, हरिराम अधिकारी, गंगाधर सारु, राजन काफ्ले, हिम्मत नेम्वाङ, रामचन्द्र पण्डित, इन्दिरा रुेष्ठ, सुनिता राणा, देवेन्द्र पाण्डे, दिनेश्वर महतो, सुमन राई, भीम श्रेष्ठल थिए ।

(तस्बिर सौजन्य: राजु पिठाकोटे ।) -सरल पत्रिका