जलविद्युत् कम्पनीको शेयरमा किन आकर्षण हरायो ?
काठमाडौँ, १४ मङ्सिर : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर ओरालो यात्रामा नै छ । विगतमा राम्रो प्रतिफल दिएका कम्पनीको सूचक नै नकारात्मक भइरहेको बेला शेयर बजारमा एकैपटक ठूलो मात्रामा साधारण शेयर आउन लागेका छन् ।
नेपाल धितोपत्र बोर्डको तथ्याङ्कलाई नै हेर्ने हो भने भने पनि विभिन्न १२ कम्पनीका करीब रु चार अर्ब ४० करोड ६५ लाख ५९ हजार ६०० बराबरको साधारण शेयर बिक्रीका लागि तयारी हालतमा छन् । त्यसमा सबैभन्दा बढी जलविद्युत् कम्पनी प्राथमिक शेयर बिक्रीको तयारीमा छन् ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल ३२ जलविद्युत् कम्पनीमध्ये बिहीबारको कारोबारका आधारमा हेर्ने हो भने १८ वटा जलविद्युत् कम्पनीको शेयर दोस्रो बजारमा आधारभूत मूल्यभन्दा निक्कै तल छ । त्यो भनेको रु १०० मा खरीद गरेको शेयर त्यो भन्दा निक्कै तल आइपुगेको अवस्था हो ।
विगतमा राम्रो लाभ दिने भनेर चिनिएको चिलिमे जलविद्युत् कम्पनीको शेयरसमेत घटेर प्रतिकित्ता रु ३५५ को हाराहारीमा आइपुगेको छ । आधारभूत मूल्यभन्दा माथि रहेका जलविद्युत् कम्पनीमा अपि पावर रु १०२, अरुण काबेली रु १२०, बुटवल पावर कम्पनी रु ३४४, नेपाल हाइड्रो रु १०४, ङ्यादी रु १०८, पाँचथर पावर रु १०४, राधी रु १३८, सानीमा माई रु १८० मा दोस्रो बजारमा कारोबार भइरहेको छ ।
निर्माणाधीन अवस्थामा नै रहेका माथिल्लो तामाकोशीको शेयर मूल्य दोस्रो बजारमा रु २२४ प्रतिकित्तामा कारोबार भइरहेको छ । यस्तै रसुवागढी रु १६३ र साञ्जेनको रु १५३ मा कारोबार भइरहेको छ । बजारमा लगातार जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ता डुबिरहेको बेला बजारमा आउन लागेको प्राथमिक शेयरले बजारलाई कुन लय र गतिमा लैजाला भन्ने चासो पनि उत्तिकै छ । शेयर बजारलाई नजिकबाट नियालिरहनु भएका विश्लेषक प्रकाश तिवारीको विचारमा कमजोर कम्पनीलाई साधारण शेयर जारी गर्नै दिनुहुन्न ।
नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, मर्चेन्ट बैंकर तथा प्रत्याभूतकर्ता कम्पनीले पनि अब सोच्ने बेला आएको तिवारीको भनाइ छ । जलविद्युत् प्रवद्र्धकले निर्माणको क्रममा नै आफूलाई फाइदा निकाल्ने र साधारण शेयरधनीलाई मर्कामा पार्ने प्रवृत्ति मौलाएका कारण पनि बजारमा जलविद्युत् कम्पनीको शेयरले गति लिन नसकेको तिवारीले टिप्पणी गर्नुभयो ।
वित्तीयरुपमा कमजोर अवस्थामा रहेका जलविद्युत् कम्पनीले शेयरधनीलाई आर्थिक वर्ष २०७५÷७६ को मुनाफासमेत राम्रो दिन सकेका छैनन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रकाशित विवरणसमेतमा उनीहरुको अवस्था कमजोर देखिन्छ । एकाधबाहेक अधिकांश कम्पनीले शेयरधनीलाई राम्रो प्रतिफल दिन सकेको छैन । यसको प्रभाव दोस्रो बजारसमेतमा परेको छ ।
गत आवको पहिलो त्रैमासमा जलविद्युत् कम्पनीले रु ६८ करोड २५ लाख २४ हजार १२२ नाफा कमाएका थिए । चालु आवको पहिलो त्रैमासमा केही प्रतिशत नाफा बढेको देखिए पनि समग्रमा लगानीकर्ता घाटामा परेका छन् । आव २०७५-७६ को पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा करीब १९ प्रतिशतले नाफा बढेर रु ८१ करोड ५६ लाख एक हजार ७४१ पुगे पनि मूल्यवृद्धि तथा अन्य कारणले त्यसको सकारात्मक प्रभाव परेको देखिँदैन ।
हालसम्म प्रकाशित विवरणअनुसार कूल २७ वटा जलविद्युत् कम्पनीको वित्तीय विवरण प्रकाशित भएको छ । त्यसमा सात वटा कम्पनीको हालत कमजोर नै रहेको छ । उदाहरणका लागि दिव्यश्वरी हाइड्रोपावर गत आवको पहिलो त्रैमासमा नै रु १३ लाख २७ हजार बराबरको नोक्सनी व्योहोरेको थियो । चालु आवको पहिलो त्रैमासमा सो कम्पनीको नोक्सान बढेर रु ३५ लाख ७२ हजार पुगेको छ ।
खानीखोला जलविद्युत् कम्पनीको गत आवको पहिलो त्रैमासमा रु तीन करोड ६५ लाख ४४ हजार ५२६ नोक्सानमा थियो । चालु आवको सोही अवधिमा कम्पनीको नोक्सान ८.५२ प्रतिशतले घटेपनि रु तीन करोड ३४ लाख ३० हजार ७३७ मा रहेको छ ।
माउन्टेन हाइड्रोको गत आवको पहिलो त्रैमासमा रु दुई करोड २६ लाख सात हजार ७४६ घाटा खाएकामा चालु आवको पहिलो त्रैमासमा घाटा बढेर रु चार करोड ५८ लाख ३० हजार ६६९ मा पुगेको छ । कुनै समय राम्रो प्रतिफल दिने कम्पनीको रुपमा परिचित बुटवल पावर कम्पनीको नाफा ४७ प्रतिशतले घटेको छ ।
आगामी असारदेखि सोही कम्पनीले व्यवस्थापन गर्ने हिमाल पावरले सञ्चालन गरिरहेको ६० मेगावाट क्षमताको खिम्तीको ५० प्रतिशत हिस्सा नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा आउने भएपछि झन् घाटा बढ्ने देखिन्छ । यस्तै अरुण काबेली पनि रु चार लाख ३९ हजार ३३३ बरारबरको नोक्सानीमा रहेको छ ।
मनसुनको समयमा नै केही जलविद्युत् कम्पनीको विद्युत् बिक्री कम छ । त्यसमा कालिका पावर, खानीखोला, आँखुखोला, युनियन हाइड्रो, राधी रहेका छन् ।
समग्र आर्थिक सूचक नकारात्मक रहिरहेको बेला जलविद्युत् कम्पनीले शेयरधनीलाई कुनै प्रतिफल दिन सक्ने अवस्था देखिँदैन । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाई भन्नुहुन्छ “सरकारले विद्युत् खरिद बिक्रीको दरलाई केही परिमार्जन गर्ने हो भने विद्यमान समस्याको ५० प्रतिशत समाधान निस्कन्छ । अन्यथा जलविद्युत् कम्पनीको अवस्था यस्तै कमजोर बन्दै जान्छ ।”
उहाँले विद्युत् खरीद बिक्रीमा देखिएको असमानतलाई सच्याउनुपर्ने तथा केही नीतिगत सुधार गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । जलविद्युत् कम्पनी समस्यामा पर्दा त्यसले बैंक तथा वित्तीय संस्थालाई समेत समस्यामा पार्ने र अन्ततः देशको अर्थतन्त्रसमेतलाई नकारात्मक दिशामा लैजाने भएकाले तत्काल कुनै न कुनै समाधानको उपाय खोजी हुनुपर्ने अध्यक्ष गुरागाइँको टिप्पणी छ ।–रमेश लम्साल (रासस)