तेह्रौँ साग : फुटबलमा नेपाल र श्रीलङ्का बराबरी

बल नियन्त्रण गर्दै खेलाडी तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत दशरथ रंगशालामा नेपाल र श्रीलङ्काबीच बुधबार भएको पुरुष फुटबल खेलमा बल नियन्त्रण गर्ने प्रयास गर्दै रातो जसीका नेपाली खेलाडी । तस्वीर : प्रदीपराज वन्त/रासस

काठमाडौँ, १८ मङ्सिर : राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । अन्तिम समयमा संयमित भएर खेल्न नसक्दा नेपालले श्रीलङ्कासँग १–१ गोलको बराबरी खेल्नुपरेको हो । 

   त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपालका लागि खेलको ३६औँ मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेका थिए । अन्तिममा खेलको इन्जुरी समयमा श्रीलङ्काले गोल फर्कायो । थप गरिएको चार मिनेटको इन्जुरी समयमा श्रीलङ्काका लागि जज सुपानले गोल गरेका थिए । नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । यसअघि नेपालले भूटानलाई ४–० गोलले पराजित गरेको थियो । नेपालले अब शनिबार माल्दिभ्ससँग तथा आइतबार बङ्गलादेशसँग खेल्नेछ । रासस