यसरी बुनिएको थियो नारायणगोपालको त्यो पहिलो एकलगायनको खाका
हल खचाचल भरिभराउ थियो । भनिन्छ नि– ‘तिल राख्ने ठाउँ पनि छैन’, हो त्यस्तै । त्यस साँझ प्रज्ञाभवनको प्रेक्षालयमा तिलको गेडो राख्ने ठाउँ खोज्न पनि हम्मेहम्मे थियो । मैले त्यसअघि त्यति भीड मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ मात्र देखेको थिएँ । सिट खाली थिएन तर पनि दर्शकको ओइरो मूल गेटमा थुप्रिँदै थियो । प्रचण्ड मल्ल सेतो कमिज–सुरुवालमा चिटिक्क सजिएर बाहिर–भित्र ओहोर–दोहोर गरिरहेका थिए ।
प्रेक्षालयको माथिल्लो कक्षमा यादव खरेल र रामलाल श्रेष्ठ ध्वनि र प्रकाशको व्यवस्था मिलाउन तल्लीन देखिन्थे । त्यस दिन प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालय हेर्ने सबै विभागका कर्मचारीहरू सजग र व्यस्त थिए । त्यस दिनका उद्घोषक हरिहर शर्मा पर्दा पछाडि बसेर भर्खर इस्त्री गरेको सुटमा सजिएर वाद्यवादक र प्राविधिकहरूलाई निर्देशन दिइरहेका थिए । के हुँदैछ सबै दर्शकलाई थाहा थियो तर कसरी हुँदैछ भन्ने कुरा हामीजस्ता केही पत्रकारहरू मात्र थाहा थियो । हुन त पत्रकारलाई पनि आफ्नो सिटमा बस्नुबाहेक थप अधिकार थिएन । तर म प्रज्ञा–प्रतिष्ठानका मल्ल र शर्मासँग अलि नजिक भएकाले यतिसम्मको सुविधा मैले आफैँ लिन पाएको थिएँ । उनीहरूलाई सोधेको भए सायद यो पनि पाउँदिन थिएँ सायद ।
यो थियो २०४५ साल भदौको सायद १२ गते भएको स्वरसम्राट् नारायणगोपालको पहिलो एकल गायन ‘स्वर्णिम सन्ध्या’ को पूर्वदृश्य । संयोग कस्तो परेको थियो भने त्यसै दिन म आवद्ध साप्ताहिक–मञ्चले गोदावरीमा वनभोजको आयोजना गरेको थियो । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायत उनका १७ भैया समूह र हामी मञ्चका पदम ठकुराठी, जनार्दन आचार्य, हरिहर विरही, कमल जोशी, जीवन आचार्यलगायत सबै वनभोजको खानपिनमा व्यस्त थियौँ । त्यही बेला कमल जोशीले मेरो हातमा एउटा टिकट थमाइदिए र भने– ‘अब तपाईं बाटो लागि हाल्नूस् !’ दिउँसोको एक बजेको हुँदो हो । मैले टिकट लिएँ र पढेँ– ‘नारायणगोपालको एकलगायन ः स्वर्णिमसन्ध्या, स्थान प्रज्ञाभवन कमलादी, समय साँझ : ५ बजे ’ लेखिएको रहेछ । मेरो लागि त्यतिबेला योभन्दा महŒवपूर्ण अर्को कुनै अवसर हुन सक्तैनथ्यो । मसँग कुनै निजी सवारीसाधन थिएन । म हतारहतार जेजे पाकेको थियो, फटाफट त्यही खाएर बस चढेर प्रज्ञाभवन पुगेँ ।
मेरो त्यस बेला नारायणगोपालसँग निकटता थिएन । तर जतिबेला हाम्रो नभुल्ने परिचय भयो, त्यो बेला उनी गुप्तबासमा थिए । गुप्तबास उनी महाराजगञ्जको आफ्नै घर बस्थे । गुप्तबासमा नयाँनयाँ सङ्गीत खोज्थे, निकाल्थे । त्यो उनी र गोपाल योञ्जनबीचको घनिष्टता चोइटिएको समय थियो । त्यसैले पछिल्लो समय उनी आफूलाई मन परेका गीतकारहरूका गीतहरूमा आफैँ सङ्गीत भर्थे या नयाँ पुस्ताले भरेका र मनले खाएका सङ्गीतमा गाउँथे ।
भर्याङ्ग उक्लेर पहिलो तलाको ढोका खोल्नेबित्तिकै उनको बैठक कोठामा पुगिन्थ्यो । उनी त्यही बैठकमा बसेर प्रायसः पेमाला भाउजू कार्यालयबाट नफर्किएसम्म नयाँनयाँ धुन सिर्जना गर्थे । कति धुन त गीतबिना नै स्वतन्त्ररूपमा पनि गरेका छन् उनले । पछि उनी दिवङ्गत भएपछि भाउजूले नारायणगोपालले आफ्नो आवाजमा लय मात्र भरेको एउटा क्यासेट मलाई सुन्न दिएकी थिइन्, त्यो क्यासेट अझ पनि मसँग छ ।
त्यस बेला अहिलेजस्तो यातायातको सहजता थिएन । गोदावरी आवत–जावत गर्न पनि लामो समयसम्म बस कुर्नुपथ्र्यो । आजजस्तो माइक्रो र ट्याम्पोको त परिकल्पनै थिएन । त्यस दिन गोदावरीदेखि बसमा खाँदिएर प्रज्ञाभवन पुग्दा मलाई अहिले सम्झना भएसम्म यस्तै साढे तीन बजेको हुँदो हो । कार्यक्रम पाँच बजे थियो तर दर्शकको आगमन सुरु भइसकेको थियो । रङ्मञ्च निर्देशक प्रचण्ड मल्ल प्रवेश–द्वारमै भेटिए, एकछिन गफगाफ भयो । उनी व्यस्त थिए । उनलाई दर्शकदीर्घाको व्यवस्थापन गर्नु थियो सायद । उनी भित्र छिरिहाले । दर्शक भित्र पस्ने बेला अझै निकै बाँकी थियो, म बाहिरै बसेर चिनारुहरूसँग भलाकुसारी गर्न थालेँ ।
नारायणगोपाललाई मञ्चमा उतार्नु सहज थिएन । एकपटक मैले सभागृहमा उनलाई हुटिङ् गर्ने श्रोता–दर्शकसँग एक–एक गरेर ठाडै ‘एक–एक जना कुस्ती खेल्न आइज’ भनेको सुनेको छु र गीतै नगाई उनी मञ्च छोडेर गएको देखेको पनि छु । बुझ्ने भाषामा भन्दा यस्ता अप्ठ्यारा मानिसलाई मञ्चमा त्यो पनि एक्लै दुई घन्टा थामेर राख्नु आफैँमा चुनौती थियो । र यो चुनौती स्वीकार गरेर वसन्त चौधरीले उनलाई त्यस दिन मञ्चमा उतारेका थिए । यसको पनि रोचक कथा छ–
हुन त उनको एल्मब गीतियात्रा भाग– १ म्युजिक नेपालले निकालिसकेको थियो तर त्यसको चर्चा सीमित थियो । तर नारायणगोपाल त्यतिबेला झन्डै गायनबाट ओझेल परिसकेका थिए । त्यसैले उनलाई मञ्चमा ल्याउन महŒवपूर्ण भूमिका खेलेका थिए, नेपाल अर्बूद रोग निवारण संघका महासचिव चौधरीले । २०३६ सालकै कुरा हो नारायाणेपाल संस्कृति संघका महाप्रबन्धक थिए । चौधरी त्यस बेला लियो क्लबमा थिए र साथीहरूले नारायणगोपालको एउटा कार्यक्रम गरौँ भनेर सल्लाह गरे । अनि चौधरी यो प्रस्ताव लिएर संस्कृतिक संस्थानमा गएर नारायणगोपाललाई भेटे । नारायणगोपालले यो प्रस्ताव कुनै बहाना बनाएर टारिदिए । तर चौधरीलाई नारायणगोपालको आफ्नो पारा देखाएर अलि ठाडै गरेको कुराले मनमा चसक्क छोएको थियो । अनि उनले त्यही बेला मनमनै यो मान्छेलाई एकपटक त मञ्चमा ओराल्छु ओराल्छु भन्ने प्रण गरे ।
एक किसिमको इखजस्तो पनि लाग्यो उनलाई । त्यसपछि धेरै काल बिते । संयोगवश मित्र विश्वम्भर प्याकुर्यालको क्वार्टर कीर्तिपुरमा नारायणगोपालसँग दोस्रोपटक चौधरीको भेट भयो । विश्वम्भरले दुवैको परिचय गराइदिए । उनले त्यो घटना सम्झाउने कोसिस गरे तर नारायणगोपालले सम्झेकै रहेछन् । त्यस भेटमा पनि उनलाई चौधरीले एकल गायनका लागि प्रस्ताव राखेर भने– ‘अर्बुद रोग निवारण संघलाई पनि सहयोग हुन्छ तपाईंलाई पनि केही आर्थिक सहयोग हुन्छ ।’ यसपालि पनि नारायणगोपालले ‘मैले गाउने सिद्धियो’ भनेर तकाईदिए । तर त्यसपछिका दिनहरूमा उनीहरूबीचको निकटता झँगिदै गयो ।
उनी खिचापोखरीको चौधरी ग्रुपको कार्यालयमा आएर घन्टौँ बसेर चौधरीसँग भलाकुसारी गर्न थाले । त्यसपछिका दिनमा नारायणगोपालको स्वस्थ्यमा पनि विभिन्न प्रतिकूलताहरू आउन थाले । त्यतिबेला सामाजिक सेवा समन्वय परिषद्मा वसन्त चौधरी कोषाध्यक्ष र नारायणगोपालले मन पराउने गीतकार कालीप्रसाद रिजाल सदस्य–सचिव थिए । उनीहरूले परिषद्की अध्यक्ष रानी ऐश्वर्यलाई जाहेर गरेर नारायाणगोपाललाई उपचारका लागि ब्याङ्कक पठाउने व्यवस्था गरिदिए । उताबाट आएपछि नारायणगोपालमा अलि सकारात्मक विचारहरू स्फुरण हुनथाले ।
त्यस बेला नारायणगोपालप्रति यिनले बढी रक्सी खान थाले र गाउन सक्तैनन् भन्ने धारणा साङ्गीतिक क्षेत्रमा प्रवल भइसकेको थियो । उनीहरूले नारायणगोपाललाई यो धारणा चिर्नुपर्छ भने । यसपटक उनले यो प्रस्ताव सहर्ष स्वीकार गरे । त्यसपछि रियाज गर्न थाले । नीर शाहले नेपाल टेलिभिजनमा अध्यक्ष तथा महाप्रवन्धक थिए र नारायणगोपालप्रति श्रद्धा राख्थे । उनका गीतहरू नारायणगोपाल गाइसेको पनि थिए । अनि यो कुरा सुनेर शाहले नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिदिने वचन दिए । ९० हजार रुपियाँ रोयल्टी पनि दिने कुरा गरे । त्यस बेला रकम निकै मोटो रकम नै हुन्थ्यो ।
नेपाल टेलिभिजनले पनि नारायणगोपालको त्यही एउटा कार्यक्रम छायाङ्कन गर्ने अवसर पायो जो आज ऐतिहासिक हुनपुगेको छ । यसबाहेक नारायणगोपालले गाएको रेकर्ड भेट्टाउन दर्लभ छ ।
यसरी बुनिएको थियो– नारायणगोपालको पहिलो एकलगायन ‘स्वर्णिम–सन्ध्या’ को खाका । यही खाकामा त्यस दिन नारायणगोपाल पहिलोपटक आफ्ना पुराना सारा मान्यताहरूलाई भत्काएर लगातार २ घन्टाभन्दा बढी गाए । आज यो ‘स्वर्णिम–सन्ध्या’ नेपाली सङ्गीतकै एक ऐतिहासिक घटना हुनपुगेको छ ।