भिमफेदी क्षेत्रमा ‘उफ्रिने कुखुरो’ को तलासी

-बद्रि ओझा

काठमाडौं । पाहा उभयचर प्राणी हो यसको वैज्ञानिक नाम हो, एम्फिबियन । यो जमिन र पानी दुवै स्थानमा बस्नसक्छ । यसरी दुवै स्थानमा बस्नसक्ने प्राणीलाई उभयचर भनिन्छ । 

नेपालमा ४७ प्रजातिका उभयचर प्राणी पाइन्छन् । तीमध्येको एक हो, पाहा । यो झट्ट हेर्दा सामान्य भ्यागुतो जस्तै देखिन्छ । वैज्ञानिकहरुका अनुसार यो प्राणी ६ महिना जमिनको सतहमा बस्छ र ६ महिना जमिनमुनि बस्छ । वैज्ञानिक भाषामा यस किसिमको बसाइलाई हाइवरनेसन भनिन्छ । यो गर्मी महिनामा बाहिर र जाडोमा भित्र बस्छ, सर्प जस्तै गरी । चिसो रगत हुने प्राणीको बसाइ यस किसिमको हुन्छ । नेपालको मनास्लु हिमाली क्षेत्रमा पाहा’bout अध्ययन भएको पाइन्छ । त्यहाँ सन् २०१६ मा विराज श्रेष्ठले अध्ययन गरेका थिए । 

सामान्यतया पाहा मध्य तथा तल्लो हिमाली क्षेत्रमा पाइन्छ । यो समान्यतया भिरालो सिमसार तथा खोलाका ढुंगाको च्यापमा बस्छ । यसका विभिन्न गुणहरु छन् । पहाडतिर पहिले पहिले दबाइका रुपमा प्रयोग गरिन्थ्यो । पाहा मारेर सुकाएर राख्ने र उपर्तली, आउँ लगायतका समस्या आइपरे यसको सेवन  गरिन्थ्यो । त्यस्तै दुखाइ कम गर्न तथा काटेको घाउका लागि पनि यो अचुक औषधी मानिन्थो । हाडजोर्नीका दुखाइमा, दम, बाथ, रगतमासी आदिका लागि पनि पाहाको मासु खाने प्रचलन छँदैछ । पाहालाई मकवानपुर भिमफेदीतिर जडीबुटी व्यापारीले प्रतिगोटा  एक हजारसम्ममा खरीद गर्ने गरेको पाइएको छ ।



तर चिकित्साशास्त्रले भने यसलाई प्रमाणित औषधीका रुपमा लिएको छैन । 

अहिले अझ यसको प्रयोग बढेको छ । शहरियाले मासुका रुपमा प्रयोग गर्न थालेपछि अझ यसको माग बढेको हो । यसलाई भारतको सिक्किमतिर उफ्रिने कुखुरो अथवा जम्पिड चिकन पनि भनिन्छ । यसको मासु लुइँचेकै जस्तो स्वादिलो हुने तथा शरीरको भित्री वनावट चराको जस्तो हुने भएकाले पाहालाई जम्पिङ चिकन भनिएको सिक्किमेहरुको मत छ । 

कालिजजस्तै पाहाको मासु पकाउँदा बढ्छ । भिमफेदीका बुढापाकाहरु यसलाई चारखुट्टे पंक्षीका रुपमा व्याख्या गर्छन् । टाढासम्म पनि उफ्रने र उफ्रिँदा जालिदार खुट्टा फिजाउने स्थानीहरु बताउँछन् । उफ्रिँदा गति तथा दिशा परिवर्तन गर्ने भएकाले यसलाई चरिपाहा पनि भनिन्छ । लेकतिर पाइने पहेँलो चिप्ले किरा र जडीबुटी खाने हुँदा पाहालाई जडीबुटी र औषधीय गुणले भरिपुर मानिन्छ ।

पहिलेदेखि नै नेपालका पहाडी क्षेत्रमा गँगटो र पाहा खाने प्रचलन थियो । शहरका होटलहरुमा गँगटो महँगोमा बिक्री हुन थालेपछि पाहा पनि महँगियो । बिराजको अध्ययन अनुसार मकालु क्षेत्रमा पाहाको मूल्य ५० देखि २ सय ५० सम्म पर्छ तर शहरमा भने यसको मूल्य प्रतिगोटा ५ हजार रुपैयाँसम्म पर्ने बताइन्छ । यो त्यति धेरै नपाइने हुनाले एक केजी २ केजी भन्ने मापन हुँदैन । एक दुईवटा खरीद गरिन्छ । 

पाहा अध्ययनका लागि डा. महावीर पुनले चासो व्यक्त गरेका छन् । संयुक्त राज्य अमेरिकाबाट सूचना प्रविधिमा विद्यावारिधि गरेका डा पुन हाल नेपाल आविष्कार केन्द्र सञ्चालन गर्दै आएका छन् । म्याग्दीको दुर्गम क्षेत्रका बासिन्दा पुनले गाउँमा टेलिफोन सुविधालगायतका सिर्जनशील काम गरेबापत उनलाई म्यागासेसे पुरस्कारबाट समेत सम्मानित गरिएको थियो । फिलिपिन्स सरकारले प्रदान गर्ने यस पुरस्कारलाई एसियाको नोबेल पुस्कार उपनामले चिनिन्छ ।

डा. पुनको अनुरोधपछि प्रदेश नम्बर ३ सरकारले पाहा संरक्षण तथा यसको व्यवसायिक खेतिको संभाव्यता अध्ययन सुरु गरेको छ । प्रदेशका कृषि मन्त्रीकै अगुवाइमा भिमफेदी क्षेत्रको सिमसार तथा खोल्सामा पाहा खोज गरियो । त्यहाँ पाइने पाहालाई मनपाहा भनिन्छ । फलस्वप भिमफेदी गाउँपालिकाको वडा नम्बर ४ मा १९ वटा पाहा भेटिए । ती पाहालाई अध्ययनका लागि चितवनको कठारमा राखिएको छ । चिसो मौसममा तराइमा पनि टिक्न सक्ने अनुमानका आधारमा ती पाहा त्यहाँ राखिएको हो । अध्ययनको नेतृत्व प्राडा माधव श्रेष्ठले गरेका छन् । उनी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त माछाविज्ञ हुन् । रामपुर कृषि क्याम्पसबाट निवृत्त डा श्रेष्ठ हाल नीजि क्षेत्रमै माछाको अध्ययनमा संलग्न छन् । 

डा श्रेष्ठले पहिलो पटक पाहाको अध्ययन गर्ने अवसर पाएका हुन् । उनले सिमेन्टको एउटा सानो पोखरी निर्माण गरी त्यसमा आधा पानी र आधा बालुवा हाली त्यसमा मनपाहा राखेका छन् । पाहा एक पटकमा १५ देखि २० मिटर टाढासम्म उफ्रने भएकाले पोखरीको माथिल्लो भागमा डोरीको जालिले बारिएको छ । बेसरी उफ्रिने भएकाले पाहालाई जमिनको पोखरीमा राख्नु संभव हुँदैन । फलामको जाली हाल्दा पाहा उफ्रिएर चोट लाग्नसक्छ । 

जाडो बढ्दैजाँदा जमिनमुनि पस्ने सुविधाका लागि उक्त पाखेरीको आधा भागमा ३/४ फिट बालुवा हालिएको छ । यतिबेला पाहा आवश्यकता अनुसार बालुवा र पानी दुवैमा बस्दै आएका छन् । ती पाहा भाले हुन् वा पोथी हुन्भन्ने अझै पत्ता लागेको छैन । यसको अध्ययन त्यति धेरै नभएकाले भालेपोथीका गुण’bout जानकारी छैन । तर डा. माधवका अनुसार भाले अलि सानो र पोथी ठूलो हुने प्रारम्भिक अनुमान छ । 

अध्ययन सफल भए प्रदेश नं. ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मकवानपुरको भिमफेदी, कैलाशलगायतका पालिकाका उपयुक्त स्थान छनोट गरेर पाहाको व्यावसायिक पालन गर्ने भएको छ ।  यसको व्यवसायिक उत्पादन हुनसके नेपालबाट पाहाको निर्यात गर्ने गतिलो ढोका खुल्ने सम्भावना छ । सरलापत्रिका
[email protected]