किरण सिंह बोगटीले जिते म्याराथनमा स्वर्ण

नेपालमा भइरहेको १३औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्समा किरण सिंह बोगटी ४२ किलोमिटर २ घण्टा २१ मिनेट १७ सेकेन्डमा दौडपुरा गरि स्वर्ण पदक जितेका छन् । तस्वीर : रोशन सापकोटा/रासस


काठमाडौँ, २१ मङ्सिर : तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जित्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड समय खर्चंदै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो ।

सोही स्पर्धामा भारतका रसपाल सिंहले रजत पदक जित्नुभयो । उहाँले २ घण्टा २१ मिनेट ५७ सेकेन्ड समय लगाउँदै रजत जित्नुभएको हो । भारतकै श्रे सिंहले कास्यपदक हात पार्नुभयो । उहाँले २ घण्टा २२ मिनेट ०७ सेकेन्डसहित कास्य जित्नुभएको हो ।

सोही स्पर्धाको म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ । उहाँले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाउनुभएको थियो । अहिलेसम्म त्यो कीर्तिमान भङ्ग हुन सकेको छैन ।

सोही स्पर्धाको महिलातर्फको श्रीलङ्काकी हिरुनी केसराले स्वर्ण पदक जित्नुभयो । उहाँले २ घण्टा ४१ मिनेट २४ सेकेन्ड समय खर्चंदै स्वर्ण जित्नुभएको हो । त्यस्तै नेपालकी पुष्पा भण्डारीले रजतपदक हात पार्नुभयो । उहाँले २ घण्टा ५० मिनेट ११ सेकेन्ड समयमा पूरा गर्नुभयो । भारतकी ज्योति गावाटीले २ घण्टा ५२ मिनेट ११ सेकेन्डको समयसहित कास्य पदक हात पार्नुभयो ।

एथ्लेटिक्सको आठ सय मिटर दौडको पुरुषमा नेपालका सोमबहादुर कुमालले कास्यपदक हात पार्नुभयो । उहाँले १ मिनेट ५१.४४ सेकेन्डको समय खर्चनुभयो । १ मिनेट ५०.५२ सेकेन्डको समयसहित श्रीलङ्काका इन्दुनिलले स्वर्ण जित्दा भारतका मोहमदले १ मिनेट ५१.२५ सेकेन्डको समयसहित रजत पदक हात पार्नुभयो । जारी सागमा नेपालका यो ४२औँ स्वर्ण पदक होे ।(रासस)