वातावरण पत्रकार समुहको भवन शिलान्यास


काठमाडौं, मंसिर २० : अर्थमन्त्री युवराज खतिवडाले नेपाल वातावरण पत्रकार समूहले निर्माण गर्न लागेको भवनको शिलान्यास गरेका छन्। 

समुहको कार्यालय भनिमण्डलमा आयोजित एक विशेष कार्यक्रममा अर्थमन्त्री खतिवडाले भवनको शिलान्यास गरेका हुन्। आगामी १० महिनाभित्र सो भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य सहित नयाँ भवनको शिलान्यास भएको हो। 
  
भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले भौतिक निर्माण मात्र नभई वातावरण संरक्षण र नीति निर्माणको क्षेत्रमा नेवापससँग सहकार्य गर्न सरकार तयार रहेको बताए । अर्थमन्त्री खतिवडाले मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन सहकार्यको रुपमा वुझिनुपर्ने पनि बताए । 

उनले गरिबी निवारण र वातावरण संरक्षण एकअर्कासँग जोडिएको भन्दै भन्,  ‘वन विनास, दुर्लभ वन्यजन्तुको तस्करी र खनिजको दोहन गरिबीसँग जोडिएको छ, त्यसैले राज्यले त्यसको व्यवस्थापन गर्नुपर्छ ।’

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले कार्य समितिलाई शुभकामना दिँदै समूहले विभिन्न काल खण्ड पार गर्दे वातावरणको क्षेत्रमा छुट्टै पहिचान बनाएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै समुहका अध्यक्ष कसमस विश्वकर्माले समूहको लागि भवन शिलान्यस गर्नु ऐतिहासिक दिन भएको बताए । सरकारसँग नजिकमा रहेर वातावरण र विकासको मुद्दाहरू उठाउने र जनचेतना जगाउने काममा वर्षौदेखि लागिरहेको उनको भनाई थियो। 

समूहसँग अहिले उपलब्ध स्रोतले भवन निर्माण गर्न नसकिने र सबैको सहभागिता र सहयोग आवश्यक रहेकोमा उनको जोड थियो। उनले सबैलाई आफ्नो क्षेत्रबाट भवन निर्माणका लागि सहयोग गर्न आव्हान पनि गरेका छन्। आफ्नो दुई वर्ष कार्यकालको एक वर्ष सकिएको भन्दै अबको एक वर्षको आफ्नो कार्यकालमा भवन निर्माणको काम सम्पन्न गर्ने प्रण गरिएको पनि उनले जानकारी दिए ।   

भवन निर्माणका लागि नेपाल वातावरण पत्रकार समुहले  ओम बुद्ध इन्जिनियरिङ प्राइभेट लिमिटेड र पिसी विल्डर्स एण्ड सप्लायर्स प्राइभेट लिमिटेडको संयुक्त उपक्रम (जेभी) सँग सम्झौता गरेको छ । एक करोड पचास लाख लगानीमा उक्त भवन निर्माण हुन लागेको हो। 

भवन निर्माणको सम्झौता पत्रमा समुहका अध्यक्ष कसमस विश्वकर्मा र नेवापसका भवन निर्माण समितीका संयोजक  चन्द्रशेखर कार्कीले हस्ताक्षर गरेका छन् भने पिसी विल्डर्स एण्ड सप्लायर्स  प्राइभेट लिमिटेडका निर्देशक दीपकराज नेपाल र ओम बुद्ध इन्जिनियरिङ प्राइभेट लिमिटेडका निर्देशक सुनिल घिमिरले हस्ताक्षर गरेका छन्।