नेपाल साग फुटबलको फाइनलमा

नेपाल १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।

पहिलो हाफमा नेपालले केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १-० कै अन्तरमा खेल जित्यो ।

खेलको अन्तिममा भने बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । नेपाली खेलाडीलाई फउल गरेपछि दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएका हुन् ।

नेपालका प्रशिक्षक बालगोपाल मर्हजनले अब भुटानलाई फेरि एक पटक हराएर स्वर्ण जित्ने विश्वास व्यक्त गरे । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो ।