बामदेव बन्लान् त नेकपाको उपाध्यक्ष !


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भावी नेतृत्वमा वरिष्ठ नेता बामदेव गौतमको उदय भएको छ । विधान नै संशोधन गरेर गौतमलाई पार्टीको उपाध्यक्ष हुने मार्ग प्रशस्त भएको छ । 

कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्दै पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेपछि गौतमलाई नेतृत्वमा उदाउने बाटो बनेको बताईएको छ । गौतमलाई उपाध्यक्ष बन्ने बाटो खोल्न नै विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो । यतिन्जेल नेकपाको विधानमा उपाध्यक्ष पदको व्यवस्था थिएन ।

पार्टीभित्रको शक्ति संघर्ष चर्किएका बेला नेकपाका शीर्ष नेताहरुले गौतमलाई उपाध्यक्ष बन्ने प्रस्ताव गरेका थिए । उनले सो प्रस्ताव मानेपछि नै विधान संशोधन गर्ने तयारी गरिएको थियो । 

गौतम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालसँग नजिक रहेको देखिन्थ्यो । यी दुइ नेताले आफ्ना विरुध्द मोर्चाबन्दी गरेको सुँइको पाएपछि प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने प्रस्ताव गरेका थिए । अब भविष्यमा उपाध्यक्ष बनेपछि गौतम ओलीको नजिक रहनेछन् कि दाहालका लागि चुनौति बन्नेछन् त्यो भने पछि थाहा हुँदै जानेछ ।

सचिवालय बैठकले आगामी मंसिर २७ मा सचिवालय बैठक बस्ने र  मंसिर २९ र ३० मा स्थायी कमिटीको बैठक बस्ने निर्णय पनि गरेको बताईएको छ ।