‘फुटबलको आँखा हुँदैन’ कसले जित्ने हो स्वर्ण पदक ?

काठमाडौं । तेह्रौं सागको महत्वपूर्ण आकर्षण आज हुने फुटबल फाईनल हो । पुरुष फुटबलको फाईनलमा आयोजक राष्ट्र नेपाल र भूटान प्रतिष्पर्धा गर्दैछन् । 

दक्षिण एशियाका दुइ हिमाली देशवीच हुने प्रतिष्पर्धामा कसले कसलाई दोस्रो बनाउने हो अहिले नै यसै हुन्छ भनेर अनुमान गर्न सकिँदैन । तर विशेषगरी नेपाली दर्शक र सँगसँगै पुरै दक्षिण एशियाका फुटबलप्रेमीका आँखा दशरथ रंगशालातिर सोझिएका छन् । सबैको मनमा उफ्रिरहेको एकमात्र जिज्ञासा हो– सागको फुटबलमा कसले उछिट्याउने हो स्वर्ण पदक !

तेह्रौं साग फुटबल फाईनलसँगै समापन हुँदैछ । पूर्वानुमान गरेजस्तै उत्साहप्रद सफलता पाएको नेपाल अन्तिम र आकर्षक खेलमा पनि आफ्नै दवदवा बनाउन चाहन्छ । पुरुष फुटबलमा पनि पहिलो बनेर आफ्ना घरेलु दर्शकलाई खुशी बाँड्ने र दक्षिण एशियामा आफू सशक्त बन्दै गरेको सन्देश दिन नेपाली टिम सम्पूर्ण तयारीमा बसेको देखिन्छ । 

भनिन्छ- फुटबलको आँखा हुँदैन,कसले कतिबेला फुत्तै पोष्टभित्र झ्वाम्म बल छिराईदिने हो, यसै भन्न सकिँदैन । 

अढाई दशक अघि नेपालले सागमा स्वर्ण पदक जितेको थियो सन् १९९३ मा । नेपाललाई सागमा फुटबलतर्फ स्वर्ण पदक दिलाउनमा योगदान थियो– बाल गोपाल महर्जनको । त्यसपछिका दशकमा नेपालले एक पटक मात्र स्वर्ण पदक जितेको छ थियो सागमा । आफैं मैदानमा खेलेर स्वर्ण पदक जिताउने बालगोपाल यतिबेला प्रशिक्षकको भूमिकाबाट त्यस्तै जित हासिल गर्न तन्मय छन् । र त्यो दिन आजै हो अपरान्ह । फुटबल फाईनल अपरान्ह ३ बजे सुरु हुनेछ ।

सागको इतिहासमा पहिलो पटक फाइनल पुगेको भुटान र चार पटक फाइनल खेलिसकेको नेपालबीच प्रतिस्पर्धात्मक हुनेछ । यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक आयोजक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने पहिलो टोली बनेको हो । पहिलो खेलमा भुटानलाई नेपालले शुन्यका विरुध्द ४ गोलले पराजित गरेको थियो ।

सागको फुटबललाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बार्षिक क्यालेन्डरमा समावेश नगरेको गुनासो गर्दै भारत पुरुष फुटबलमा सहभागी भएन ।
पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । अन्तिम खेलमा नेपाल बंगलादेशलाई १–० ले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । – सरल पत्रिका….